• पशुपति चौधरी

कोभिडको वैश्विक महामारी घोषणा भएसँगै यस महामारीलाई रोकथाम गर्ने संसारभरि नै विभिन्न किसिमका क्वारेन्टिनको व्यवस्था गरिएको छ । क्वारेन्टिनको इतिहास हेर्ने हो भने यो बाइबलीय समयदेखि नै चलिआएको छ । धेरै किताब एवम् अनुसन्धानहरू मध्ये प्राचीन नियमको ग्रन्थ ‘लेभिटिकस’मा कसरी कुष्ठरोग भएका बिरामीहरूलाई समाजबाट पृथक रूपमा राखिन्थ्यो भने विस्तृत वर्णन गरिएको पाइन्छ ।

इतिहास हेर्ने हो भने जब बुबोनिक प्लेगको महामारी सन् १३७० तिर फैलियो, धेरै युरोपियन सहरहरूले आफ्नै किसिमको क्वारेन्टिनको व्यवस्था गरेको पाइन्छ । १७ औं शदिमा जब प्लेग लन्डनमा फैलियो त्यतिबेला पनि संक्रमित व्यक्तिहरूलाई समाजबाट पृथक ठाउँमा क्वारेन्टिनको व्यवस्था गरिएको पाइन्छ । महामारीको हकमा यस्ता धेरै उदाहरणहरू पाइन्छन् । तसर्थ क्वारेन्टिन वा विभिन्न किसिमका सेल्फ आइसोलेसन, शारीरिक तथा सामाजिक दूरी कुनै नयाँ कुरा होइन । यो विगतमा विभिन्न महामारीहरूमा जस्तैः बिफर, पहेलो ज्वरो, फ्लू महामारी र इबोला भाइरसलाई रोकथाममा पनि अपनाइएको देखिन्छ । 

कोभिड–१९ को समयमा क्वारेन्टिन

वैश्विक महामारी कोभिड–१९ सुुरु भए लगतै संसारभरिको सबै देशहरूले आ–आफ्नै किसिमका क्वारेन्टिनको व्यवस्था गरेका छन् । जस्तैः घरमै बस्ने आदेश, धेरै भीडभाड नगर्ने, सामाजिक कामहरूमा बन्देज वा नियन्त्रण, कफ्र्यूसँगै स्थानीय एवम् राष्ट्रिय बन्दाबन्दी, विद्यालय एवम व्यापार, व्यवसाय बन्द, नगन्य व्यक्तिसँगको भेटघाट एवम् सामाजिक जमघट चीनले बुहान वरिपरि कोरोना फैलिन नदिन २० मिलियन जनतालाई क्वारेन्टिनमा राखेको इतिहास छ । मान्छे सामाजिक प्राणी हो र उसले समाजमै घुलमिल गरेर बस्न खोज्दछ तर माथिको उपायहरू जुन कोभिड–१९ माहामारीलाई रोकथाम गर्न लागू गरिएको छ, मानवको स्वाभाविक संस्कार एवम स्वाभावको प्रतिकूल भएको हँदा क्वारेन्टिन, बन्दाबन्दी मान्छेहरूका लागि घातक बन्दै गएको छ ।

जसले गर्दा मानसिक समस्याहरू प्नि देखिन थालेको छ । विकासशील एवम् तेस्रो मुलुकहरू जहाँ साधन र स्रोतको कमी, स्वास्थ्य सामग्रीहरूको उपलब्धतामा कमी अस्पतालमा बेडहरूको कमी, अक्सिजनको पर्याप्त मात्रामा उपलब्धता नहुनु इत्यादि कारणले क्वारेन्टिन वा बन्दाबन्दी महामारी रोकथामका लागि एउटा महत्त्वपूर्ण कडी हुनसक्छ । नेपाल जस्तो देशमा आधारभूत मानविक संस्कार एवम् व्यवहार जस्तै नियमित मास्कको प्रयोग, नियमित हातको सरसफाइ, सेनिटाइजरको प्रयोग, शारीरिक र सामाजिक दूरीको पालन गर्ने, नगन्य व्यक्तिगत एवम् सामाजिक भेटघाट, सामाजिक जमघट (बिहेबारी, भोज) मा बन्देज वा नियन्त्रण, क्वारेन्टिनको व्यवस्था, कफ्र्यूसँगै स्थानीय एवम् राष्ट्रिय बन्दाबन्दी, खोपको उपलब्धताको माध्यमबाट कोरोना महामारी माथि विजय पाउन सकिन्छ ।

तसर्थ क्वारेन्टिन मान्छेको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप एवम् बन्देज लगाए पनि यो विगत झै हाम्रै लागि हामीलाई नै सुरक्षित बजाउने एउटा सशक्त माध्यम हो । यसलाई बुझेर पनि आम नागरिकले यतिबेला देशको अवस्था र कोरोना महामारीको अवस्थालाई ख्याल गरेर घरमै सुरक्षित तरिकाले बस्ने हो भने धेरै कोरोना भाइरसको चेनलाई नियन्त्रण गर्न सकिन्छ । जबसम्म नागरिकहरू सचेत र सामाजिकीकरणतर्फ अघि बढ्ने अवस्था रहँदैन तबसम्म कोरोना नियन्त्रण गर्नका लागि निकै असहज हुन्छ । आजको अवस्थामा अस्पतालहरूमा बेड नपाउने अवस्था छ, अक्सिजनको हाहाकार हुने अवस्था उस्तै छ, अहिले जेजति उपलब्धता छन्, अझै कोरोना रोगी बढेको अवस्थामा त्यो उपलब्धता क्षीण बन्दै जाने अवस्था आउँछ । त्यसले थप गम्भीरता सिर्जना गर्छ । त्यसका लागि हामी आफै सचेत हुनु जरुरी छ । कोरोना कसको शरीरमा कसरी काम गर्छ र असर गर्छ भन्ने विषय पनि अनुसन्धानको विषय बनिरहेको छ । पहिलो कोरोना महामारीका बेला विशेषगरी वृद्धवृद्धाहरूलाई असर गरेको अवस्था थियो अर्थात् दीर्घ रोगी भएकाहरूमा बढी प्रभाव परेको थियो । तर, आज अवस्था फरक छ ।

अहिले युवा पुस्तामा सबैभन्दा बढी असर गरेको छ । कसैको शरीरमा सामान्य रूपमा कोरोनाको असर देखिरहेको छ भने कसैको शरीरमा प्रवेश गरेको केही समयमै हताहत हुने अवस्था पनि सिर्जना भएको अवस्था छ । यस्तो परिस्थिति रहेकैले पनि क्वारेन्टिन, सामाजिक तथा भौतिक दूरी, सेनिटाइजरलगायतमा बढीभन्दा बढी ध्यान दिनुपर्ने अवस्था छ । भरसक आफूलाई कोरोना संक्रमण हुनबाट जोगाउनु आजको पहिलो आवश्यकता भइसकेको छ । नेपालमा कुन स्तरको अर्थात् कुन भेरिएन्टको कोरोना छ भन्ने विषयमा पत्ता लगाउने त्यस्ता मेसिनहरूको उपलब्धता नहुँदा र भएका पनि एन्टिजेनलगायत महँगो मूल्य तिर्नु पर्ने अवस्था भएको हुँदा भेरिएन्ट पत्ता लगाउन सकेको अवस्था छैन ।

नेपालमा भारतीय भेरिएन्ट, बेलायती भेरिएन्ट, अफ्रिकन भेरिएन्टमध्ये कुन चाहिँ बढी सक्रिय छ भन्ने पनि हामीले पत्ता लगाउन सकेको अवस्था छैन । हाम्रो छिमेकी देश भारत भएकाले पनि त्यहाँको भेरिएन्ट हुनसक्ने अनुमान पक्कै गर्न सकिन्छ । आज भारतको अवस्था के छ ? भन्ने तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । त्यसलै आजको दिनमा सामाजिक दूरी, भौतिक दूरी, सेनिटाइजर र बन्दाबन्दीको पालना नै महामारी रोक्ने उत्तम विकल्प हुन सक्ला । त्यसतर्फ सबैको ध्यान जान सकेमा हामीले चाँडै नै कोरोनालाई परास्त गर्न सक्छौं । नत्र अवस्था थप भयावह हुन सक्ने खतरा पनि उस्तै छ । 

(लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका विभागीय प्रमुख हुन्)