ताप्लेजुङ । ताप्लेजुङको  सदरमुकाम फुङ्लिङ बजार कोरोना भाइरसको ‘केन्द्र’ बनेको छ । बुधबार मात्रै १ सय जनाको पीसीआर रिपोर्ट आउँदा ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै फुङ्लिङमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् । जनस्वास्थ्य अधिकृत खरेलका अनुसार फुङ्लिङबाहिर १७ जना मात्र सङ्क्रमित छन् ।

मङ्गलबार आठराई त्रिवेणी गाउँपालिकाका ४८ जनाको रिपोर्ट आउँदा ५ जनामा र मेरिङ्देन गाउँपालिकाका ५५ जनाको रिपोर्ट आउँदा १२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पीसीआर विधिबाट परीक्षण गरिएका १ सय ९९ जना र एण्टिजेन विधिबाट परीक्षण गरिएका २४ जना गरी हाल जिल्लाभर जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २३ छ ।

यस्तै फुङ्लिङ नगरपालिकाका ३५ जना र मैवाखोला गाउँपालिकाबाट सङ्कलन गरी पठाएको नमुनाको रिपोर्ट आउन बाँकी छ । दोस्रो लहर सुरु भएयता जिल्लामा ७ सय १० जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको खरेलले बताइन् । तीमध्ये ८ जनाले कोरोना जितिसकेका छन् । 

यसअघि तोक्मेक्षेत्रको एउटै टोलका ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । ‘यही रफ्तारमा बढ्ने हो भने स्थिति नियन्त्रणबाहिर जान सक्छ ।

त्यसैले सर्वसाधारण आफै सचेत हुन र मनोबल उच्च राख्न आवश्यक छ’ –स्थानीय बुद्धिमान लिम्बूले भने । नगरका वडा नं.९, १०, ११ र १ बाहेक बाँकी ७ वटै वडामा कोरोना सङ्क्रमणका बिरामी पाइएको छ ।

सबैभन्दा बढी सङ्क्रमित वडा नं. ४ मा छन् । उमेरका हिसाबले ८ वर्षका बालकदेखि ८५ वर्षीया वृद्धासम्ममा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालमा १० बेडको आइसोलेसन केन्द्र तयार गरिएको छ । थप १० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको जनस्वास्थ्य अधिकृत खरेलले बताइन् । 

छिमेकी पहाडी जिल्लाहरू इलाम, पाँचथर, तेह्रथुमको तुलनामा ताप्लेजुङको फुङ्लिङमा उच्च सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ । वैशाख ९ गतेयता ५ जनाको सङ्क्रमणका कारण मृत्यु नै भइसकेको छ भने एकजना सम्भावित व्यक्तिको पनि ज्यान गएको छ ।

सर्वसाधारणको लापरबाही र सरोकारवालाको तयारी नपुगेर नै सङ्क्रमण व्यापक बनेको जिल्ला अस्पतालका प्रमुख सोनिङ लामा बताउँछन् । कोरोनाको दोस्रो लहर आउँदैछ भन्ने पूर्वानुमान हुँदाहुँदै पनि सावधानी नअपनाउँदा भुसको आगो झैं सङ्क्रमण फैलिएको उनले बताए ।

सङ्क्रमण उच्च हुनुमा स्थानीयकै लापरबाही प्रमुख रहेको पाथीभरा क्याम्पसका सह–प्राध्यापक सजन पौडेल बताउँछन् । कोरोनाको लक्षण देखिएपछि पनि हिँडडुल गर्ने, मास्क नलगाउने, परीक्षण नगराउने जस्ता कार्यले सङ्क्रमण फैलनमा बल पुगेको उनको भनाइ छ । ५० प्रतिशतलाई लक्षणसहितको सङ्क्रमण देखिएको बताइएको छ ।

अधिकांशलाई ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीको लक्षण छ । जिल्लामा सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि यही वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञालाई अझै कडाइ गर्ने र कसैले उल्लङ्घन गरे कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।