ज्यान गुमाएकी सुत्केरी आमा जसले समयमा रगत पाइनन्, एम्बुलेन्स पाइनन्, अक्सिजन पाइनन्, नदीमा पुल नहुँदा समयमा अस्पताल पाइनन्, र उनको जन्मिएको छोरोले आमाको अनुहार हेर्न पाएन ।

मंगलबार परेको मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन) आफ्ना आमालाई खुसी भएको हेर्न आतुर स्थानीय छिमेकीहरु एउटी आमाको दाहसंस्कारमा खटिए । 

सोमबार बच्चा जन्माएर सदाका लागि बिदा भएकी सिर्जना कुलुङको एउटा कारुणिक स्वर्गारोहणले स्थानीय विह्वल बने । 

अत्यधिक रक्तश्रावका कारण सिर्जनाले देह त्याग गरिन् । रगत अभावले मात्र होइन, एम्बुलेन्स नहुँदा, अक्सिजन नहुँदा, नदीमा पुल नहुँदा एउटी आमाले मृत्यु रोज्नु पर्यो । 

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–३ की सुत्केरी आमाको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा मृत्यु भएको छ । 

प्रसुतिपश्चात् सुत्केरी रहेकी २६ वर्षीया सिर्जना कुलुङको उच्च रक्तश्राव भएपछि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा ज्यान गएको हो । 

गाउँपालिकाको वडा नं. ३ स्थित ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य बच्चा जन्मिएको भए पनि बच्चाको जन्मसँगै उच्च रक्तचाप र उच्च रक्तश्रावसमेत भएको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितको भनाइ छ ।

बिरामीलाई रगतको आवश्यकता भएको तर केन्द्रमा उक्त सेवा नभएकाले सुत्केरीको स्वास्थ्य अवस्था झन जटिल बनेपछि तत्कालै रेफर गरिएको डा. पण्डितले बताइन् । 

उनका अनुसार प्रसुति गराउने समयमा उनको रक्तचापसँगै सबै अवस्था सामन्य थियो तर एक्कासी स्वास्थ्यमा समस्या आएको हो । 

सुत्केरी व्यथा लागेपछि घर नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएपछि स्वास्थ्यकर्मीहरुको सहयोगमा उनले सहजै बच्चा जन्माइन् । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँपालिकाको एम्बुलेन्सले बुम्लिङटारको अरुण नदी किनारसम्म ल्याएको मृतकको श्रीमान बलिराम कुलुङ बताए । 

अरुण नदीमा पुल नहुँदा स्वास्थ्यकर्मी र अक्सिजनसहितको एम्बुलेन्स त्यहींबाट फर्किएको थियो । खाँदबारी नगरपालिका–११ हेलुवावेसीसम्म पुनः स्टेचरमा ल्याएर सार्वजनिक गाडीमार्फत् सिर्जनालाई जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको उनका श्रीमानले बताए । 

निर्माणाधीन मानेभञ्ज्याङ– हेलुवाबेंशीको खराब सडक, स्वाथ्यकर्मी र अक्सिजनसहितको एम्बुलेन्स नहुँदा श्रीमतीको ज्यान गएको उनको भनाइ छ । खाँदबारी–१० चन्दनपुर नजिकै पु¥याएपछि उनको मृत्यु भएको हो ।  

सदरमुकाम खाँदबारीदेखि एक दिनको यात्रा दूरीमा रहेको सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु पुग्न दुई वटा गाडी परिवर्तन गर्नु पर्ने हुन्छ । अरुण नदीमा पुल नहुनु र सडकको स्तरवृद्धि नहुनुले बिरामीहरुले सास्ती खेप्नु परेको छ । यो भन्दा अगाडि गत वर्षको भाद्रमा सिलिचोङ गाउँपालिका वडा नं. २ बाला पेलुम्बाका एक गर्भवती महिलाको समयमा उपचार नहुँदा र सवारी साधन नपाउँदा ज्यान गएको थियो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सोतर्फ कुनै पहल नभएको स्थानीयले गुनासो गरेका छन् । 

जनप्रतिनिधि तथा कर्मचारीहरुले चासो दिएको भए हवाई जहाजमार्फत् उपचारमा लैजान सकेको भए उपचार सम्भव हुने स्थानीयहरुको आंकलन छ । 

सिर्जनाको यो भन्दा अगाडि एक सन्तान छन् । ५ वर्ष पुगेको उनको एक छोरा र पुनः छोरा नै जन्माउने क्रममा उच्च रक्तश्रावले ज्यान गुमाएकी सिर्जनाका दोस्रो सन्तानले ‘आमाको मुख’ तस्वीरमा मात्र हेर्न पाउनेछन् । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।