धरान/ कोरोना सङ्क्रमितको मृत्युपछि पनि कोरोना भाइरस जीवित हुन्छ कि हुँदैन भन्ने आमजिज्ञासाहरू सतहमा आउने गरेका छन् । यस्ता जिज्ञासाका कारण कहिलेकाहीँ समाजमा विवाद उत्पन्न हुने गरेको छ ।

झिगु समाजले सञ्चालनमा ल्याएको धरान–१४ स्थित खत्रीधारा शवदाहस्थल वैशाख २५ गते यस्तै समस्याबाट गुज्रिएको थियो । धरान–१५ निराजन बस्तीवासी सडकमा उत्रिएर शव जलाउन नहुने अडान लिए । अन्ततः शव जलाइएन । किनकि धरान–१५ निराजन बस्तीका अधिकांशले खत्रीधाराको पानी पिउँदै आएका छन् ।

त्यहाँ शव जलाउँदा सतहमा कोरोना हुने भएकाले पानी लिन जाँदा वा आउँदा कोरोना सर्ने उनीहरूको तर्क थियो । स्थानीय धनकुमार देवान भन्छन्, ‘हामी त्यहीँको पानी पिउँछौं, बस्तीबीचमा शवदाहस्थल छ, कोरोना सङ्क्रमितलाई चाहिँ एकान्त ठाउँमा स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

निराजन बस्ती कल्याण समाजअन्तर्गत सञ्चालित खत्री बमधारा खानेपानी संरक्षण उपभोक्ता समितिले त्यो क्षेत्रमा पानी वितरण गर्दै आएको छ । त्यहाँका बासिन्दाले २०४० सालदेखि खत्रीधाराको पानी पिउँदै आइरहेका छन् । समितिका पूर्वअध्यक्षसमेत रहिसकेका धरान–१५ का वडाध्यक्ष नरेश इवारमका अनुसार निराजन बस्ती र सडकभन्दा मुनीको बस्ती गरी कुल ४ सय घरधुरीले पानी पिउँदै आइरहेका छन् । खत्रीधारा उनीहरूको ‘लाइफलाइन’ हो ।

त्यहीँ रहेको शवदाहस्थलमा कोरोना सङ्क्रमितबाट मृत्यु भएकालाई जलाउन सकिने गरी धरान उपमहानगरपालिकाले शवदाहस्थलका पदाधिकारीसँग वैशाखको दोस्रो साता मौखिक सहमति गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा बताउँछन् ।

सहमतिअनुसार हिन्दू धर्मसंस्कारअनुसार गरिने सद्गद् चाहिँ झिगु समाजले सञ्चालनमा ल्याएको शवदाहस्थलमा गरिने भनिएको थियो । हिन्दू धर्मसंस्कारमा मृत्यु भएकाको शव जलाउनुपूर्व आफन्तजनले शव छुने, हेर्ने र माया गर्ने प्रचलन व्याप्त छ । जुन हालको महामारीको हकमा भने त्यस्ता गतिविधि प्रत्युत्पादक हुने अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले सन् २०२० सेप्टेम्बर ४ देखि लागू गरेको कोभिड १९ बाट मृत्यु भएकाको हकमा गरिएको अन्तरिम व्यवस्थामा कोभिडबाट मृत्यु भएकालाई दक्ष जनशक्ति, दक्ष स्वास्थ्यकर्मीले मात्रै शव व्यवस्थापन गर्न सक्ने उल्लेख गरेको छ ।

जहाँ शव व्यवस्थापन गर्नेले पूर्णरूपमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), फेससिल्ड, चस्मा, बुटलगायत लगाएर मात्रै व्यवस्थापन गर्न सक्ने भनिएको छ । शवको हकमा पनि उच्चतम् प्रविधिको शव ब्याग प्रयोग गर्नुपर्नेलगायतका प्रावधानहरू राखिएका छन् ।

धरानमा मात्रै कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता ८ जनाले ज्यान गुमाइसकेका छन् । आजको दिनमा धरानमा ४ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार वैशाख यतामात्रै ८ जनाले ज्यान गुमाएका हुन् । सक्रिय सङ्क्रमित आजको दिनमा ४ सय नाघेको अवस्था छ । दिनानु दिन बढिरहेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ अस्पतालमा १२ जनाको हाराहारीमा बिरामी उपचाररत छन् भने अन्य होम आइसोलेसनमा छन् । नेपालमा आइतबारसम्म ३ हजार ७ सय २० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ । सक्रिय सङ्क्रमित ८८ हजार १ सय ६० छन् भने ३ लाख ९४ हजार ६ सय ६७ जना सङ्क्रमित भइसकेका छन् ।

के शवबाट कोरोना सर्छ ?
अध्ययनलाई मान्ने हो भने कोरोना भाइरसबाट मृत्यु भइसकेकाको शवबाट ९० प्रतिशत कोरोना सर्ने सम्भावना हुँदैन । किनकि मृत शरीरमा कोरोना सक्रिय हुन पाउने अवस्था रहँदैन । नयाँ भाइरस उत्पादन गर्नका लागि शरीरमा कोष सक्रिय हुनुपर्छ । कोषमार्फत् बायोकेमिकल ऊर्जा उत्पादन गर्न एडेनोसिन ट्राइफोस्फेट (एटिपी) हो ।

भाइरस उत्पादन गर्न एटिपी मुख्य स्रोत हो । मृत शरीरले एटिपी उत्पादन नगरेपछि स्वतः कोरोना भाइरस सक्रिय हुन पाउँदैन । किनकि मृत्यु भइसकेकाले खोक्ने, हाच्छ्युँ गर्नेलगायत गर्न सक्ने अवस्था नहुने भएकाले पनि कोरोना नसर्ने महाशाखा प्रमुख उमेश मेहता बताउँछन् । ‘९० प्रतिशत शवबाट कोरोना सर्दैन’ –उनी भन्छन् ।

तर, हाम्रो धर्मसंस्कृतिका कारणले गर्दा चाहिँ मृत्यु भइसकेकाको शव व्यवस्थापनमा डब्ल्यूएचओ र नेपाल सरकारको ‘मार्गनिर्देशक सिद्धान्त’ लाई लत्याउने हो भने अवश्य नै कोरोना सर्ने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूक्ष्म रोगका एडिसनल प्रोफेसर डा। नारायण भट्टराई भन्छन्, ‘डेड बडीलाई डिस्पोज गर्ने हाम्रो तरिका तथा संस्कार फरक–फरक छ । मृतकसँग परिवारका सदस्यहरू टाँसिने, मन पराएको मान्छेलाई छुने, अन्तिमचोटी हेर्ने यस्ता कारणले चाहिँ सर्न सक्ने जोखिम बढी रहन्छ ।’

कोरोना बढी सतहमा हुने भएकाले शवलाई व्यवस्थापन गर्दा उच्चतम् तरिका अपनाउनु पर्ने हुन्छ तर, यस्ता तरिका नअपनाउने हुँदा कोरोना सर्ने भय तीव्र रहने उनको भनाइ छ ।

अमेरिकास्थित युएस नेसनल इन्स्टिच्यूट अफ हेल्थले सन् २०२० फेब्रुअरीमा कोरोनाले मृत्यु भएकाको शवमा कोरोना भए नभएको भनेर अध्ययन गर्दा कोरोना भाइरस रहेको पत्ता लगाएको थियो । तर, शवलाई उचित तरिकाले व्यवस्थापन गर्ने हो भने कोरोना नसर्ने उसले पनि बताएको छ ।

भारतको द हिन्दू पत्रिकाको अनलाइनले विभिन्न अध्ययनलाई समावेश गरेअनुसार पनि कोरोनाबाट मृत्यु भएकाको शवबाट नसर्ने दाबी गरेको छ । तर, उसले पनि शव व्यवस्थापन पक्ष महŒवपूर्ण हो भनेको छ ।