भण्टाबारी। कोभिड–१९ को दोस्रो लहर तीव्र गतिमा फैलिइरँहदा जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर निषेधाज्ञासँगै सीमामा भण्टाबारीबाहेक अन्य नाकाबाट आवत–जावतमा रोक लगाएको छ ।

स्थानीय प्रशासनले कोरोना रोकथाम र नियन्त्रणका लागि सीमामा कडाइका साथै वैशाख १७ गतेदेखि २४ गतेसम्मका लागि निषेधाज्ञा लागू गरे पनि यहाँका सर्वसाधारणको हेल्चेक्र्याइँसँगै जनप्रतिनिधि र सरोकारवाला निकायको उदासीनता यथावत् रहेको पाइन्छ ।

जसका कारण जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ भने उनीहरूको व्यवस्थापनका लागि स्थानीय प्रशासनले क्वारेण्टाइन र आइसोलेसन सेण्टर तयार गरेको अवस्था छैन । 

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था बुझेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरको कोशी अस्पताल नै पठाउनुबाहेक अन्य विकल्प तयार गरिएको छैन । स्थानीय तह र स्थानीय प्रशासनले न क्वारेण्टाइनको व्यवस्था गरेका छन्, न त आइसोलेसन नै निर्माण गरेका छन् ।

कोभिड–१९ को पहिलो लहरका बेला अघिल्लो वर्ष बनाइएका क्वारेण्टाइन र आइसोलेसन सेण्टर साधनस्रोत अभावमा  दयनीय छन् । कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरूसँग समन्वय गरेर स्थानीय प्रशासनले नयाँ संरचना निर्माण वा अघिल्लो वर्ष बनाइएका पुरानै संरचना व्यवस्थित गरिनुपर्ने हो । तर, सुनसरीमा त्यस्ता संरचना सञ्चालनमा आएको छैन ।

यसबारे स्थानीय प्रशासनसँग जिज्ञासा राख्दा क्वारेण्टाइन र आइसोलेसन तयारी अवस्थामा रहेको दाबी गरिए पनि स्थलगत रिपोर्टिङका क्रममा त्यस्तो पाइएन । 

ज्यान जोखिममा राख्दै जनसुरक्षा 

छिमेकी मुलुक भारतमा दिनहुुँ लाखौं मानिस कोभिड–१९ सङ्क्रमित भइरहेको अवस्थामा कोरोना सङ्क्रमित व्यक्ति भित्रिनबाट रोक्ने हेतुले सुनसरीका विभिन्न सीमानाकाका ७१ स्थानमा ६ सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालित छन् ।

सीमा क्षेत्रमा रहेका १० वटा बोर्डर आउट पोष्ट (बिओपी) का साथै थप १३ स्थानमा बेस क्याम्प स्थापना गरी सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा खेत तथा दसगजा स्थित खुल्ला स्थानमा फरवार्ड बेस निर्माण गरी सशस्त्र प्रहरी सीमामा हुनसक्ने आवत–जावत रोक्न अहोरात्र खटिएका हुन् ।

‘जनसुरक्षाको जिम्मेवारी पूरा गर्न निकै गाह्रो छ’ ड्युटीमा खटिएका एकजना सुरक्षाकर्मीले भने, ‘एकातिर सङ्क्रमण नियन्त्रणको चुनौती छ भने अर्कोतिर आफै सुरक्षित रहने चुनौती । न त समयमा खान पाइन्छ, न त सुत्न नै । मच्छरको टोकाइले डेङ्गु लाग्लाजस्तो छ ।’ सिकिस्त भएर थला नपर्दासम्म रोग लागेको छैन भन्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।

आफ्ना कयौं दुःख–कष्ट लुकाएर ज्यान जोखिममा राखी संवेदनशील मानिएको क्षेत्रमा ड्युटी गर्दै आएको ती सुरक्षाकर्मीको कथन छ । 

नेपाल–भारतबीचको खुल्ला सीमा नाकाका कारण विश्वव्यापी कोभिड –१९ महामारी नियन्त्रण र रोकथाममा अनेकौं चुनौती रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका एसपी माधवप्रसाद पौडेल बताउँछन् ।

‘महामारीका समयमा हामीले सीमामा उच्च सतर्कता अपनाउँदै जनसुरक्षा, सङ्क्रमण रोकथाम र नियन्त्रणसँगै अवैध चोरीपैठारी नियन्त्रणमा अहोरात्र खटेका छौं’–उनी भन्छन् ।

कोरोना महामारीका बेला भोक, प्यासलगायत भैपरी आउने कष्टलाई बिर्सेर जनसमुदायको सुरक्षामा सुरक्षाकर्मी खटेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन् ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गर्नुपर्ने र गर्नसक्ने दायित्व निर्वाह गरिरहेको दाबी गर्दै उनले कोरोना पराजित गर्न सबैको साथ र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए । 

सुरक्षाकर्मीलाई स्थानीय तहको साथ 

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले स्थानीय तहको साथ पाएको छ । खुल्ला सीमा नाकाका कारण भारतबाट सङ्क्रमित व्यक्ति भित्रन नदिन अस्थायी फरवार्ड बेस क्याम्पमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई बस्न त्रिपाल, स्वच्छ खानेपानीको अभाव, शौचालयसहितका आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि कोशी गाउँपालिकाले जनसुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवश्यक साधनस्रोत र स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।

कोशी गाउँपालिका क्षेत्रमा भण्टाबारी, श्रीपुर, लाही र लौकही गरी चारवटा बिओपी रहेका छन् । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको उपस्थितिमा आइतबार उक्त बिओपीहरूका इन्स्पेक्टरहरूसँग बसेको बैठकले सशस्त्र प्रहरीको मागअनुसार कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिने कोशी गाउँपालिकाले जनाएको छ ।

‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सबैभन्दा बढी जोखिम मोलेर सेवा दिइरहेका छन्’ कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले भने, ‘जनताको सुरक्षामा अहोरात्र खटिएका सुरक्षाकर्मी आफै असुरक्षित रहेका पाइन्छन्, त्यसैले हामीले संवेदनशील मानिएको क्षेत्रमा ड्युटीमा खटिएका सुरक्षाकर्मीको मागबमोजिम आवश्यकताअनुरूप सहयोग गर्ने निर्णय गरेका छौं ।’ सुरक्षाकर्मीसँग मिलेर जनसुरक्षामा सजग र सतर्क हुनु आफ्नो दायित्व रहेको उनको भनाइ छ ।