•  शेरधन राई 

मनमोहन अधिकारी निष्कलङ्कित, स्वच्छ, पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा परिचित हुनु भयो । उहाँ जनजनको मनमा, मुलुकका कुना काप्चामा, बालबालिका, युवा, वृद्धवृद्धाहरुका बीचमा प्रेरणादायी व्यक्तित्वका रुपमा रहनु भएको छ । 

कम्युनिष्टहरुले किसान, मजदुरहरु, सबै वर्ग, तह र तप्काको हितमा काम गर्छन् । मनमोहन अधिकारीले यो कुरा स्थापित गर्नु भयो । दुनियाँलाई बुझाउनु भयो । कम्युनिष्टहरुले समाज र विकासका सपना पूरा गर्न सक्दछन् । त्यसको विजारोपण र नेतृत्व गर्न सक्दछन् भन्ने अनुभूति उहाँले स्थापित गर्नु भयो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नाराका साथ गाउँगाउँमा कुनाकुनामा राष्ट्रिय विकासका लहर सिर्जना गर्ने काम गर्नुभयो । त्यही कार्यक्रमका कारणले हिमाल, पहाड र तराईका सबै ठाउँमा आज सडक, पुल, खानेपानी, सिंचाइ पुगेको छ । तमाम विकास निर्माणका आधारहरु तिनै कार्यक्रमले तय गरेको थियो । हामी त्यही जगमा आज पनि उभिइरेका छौं । सामाजिक सुरक्षा भत्ताका कुरा आई नै सकेको छ । १ सय रुपैयाँबाट मनमोहन अधिकारीले सुरु गर्नु भएको भत्ता आज नेपाल कम्युनिष्ट पार्टी एमालेकै नेतृत्वको सरकारले ३ हजार पुर्याएको छ । नेकपा एमालेले बाचा गरिसकेको छ– आफ्नो  घोषणापत्रमा उल्लेख गरेबमोजिम पाँच वर्षभित्रमा वा कार्यकालभित्रमा सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने छ । आगामी २ वर्षमा केपी शर्मा ओलीको नेतृत्वले सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार पुर्याउने पक्का छ । 

हामी हरतरहले मनमोहन अधिकारीको  सपनालाई पूरा गर्ने छौं । मनमोहन अधिकारी दूरदर्शी व्यक्ति मात्र होइन, एउटा कुशल राजनीतिज्ञ मात्र होइन, कम्युनिष्ट आन्दोलनका शिखर पुरुष मात्र होइन, उहाँले एउटा त्यस्तो व्यक्तित्वका रुपमा आफूलाई जनताहरुका बीचमा उभ्याउनु भयो, राष्ट्रको बीचमा उभ्याउनु भयो – उहाँले कहीँ कतै सम्झौता गर्नु भएन । कहीं कतै चुक्नु भएन । कहीँ कतै कलङ्कित हुने काम गर्नु भएन । 

Manmohan_smriti-4

उहाँको  यस प्रकारको लोकप्रियता, लोकप्रिय नीति र कार्यक्रम प्रस्तुत हुँदै जाँदा वास्तवमा विपक्षीहरु हतास हुन थाले । छट्पटिन थाले, नेकपा एमालेको लोकप्रियताबाट, सरकारको लोकप्रियताबाट उनीहरुमा छट्पटाहट सुरु भयो । सबैलाई थाहा छ, अध्ययन गर्न, बुझ्न सक्नु हुन्छ । त्यतिबेला अविश्वासको प्रस्ताव सरकारले गलत गरेर राखिएको थिएन । सरकार अयोग्य भएर  होइन । अकर्मण्य भएर होइन । सरकार लोकप्रिय भएका कारणले, सरकारले देशमा राष्ट्रिय विकासको लहर सुरु गरेका कारणले, जताततै कम्युनिष्टहरु हाइहाइ भइरहेका कारणले, जताततै नेकपा एमाले लोकप्रिय भइरहेको हुनाले त्यतिबेला संसद्मा अविश्वासको प्रस्ताव राखिएको थियो । उहाँले अस्पतालको एउटा शैयाबाट अविश्वासको प्रस्तावको सामना गर्नु परेको थियो ।

नेकपा एमाले सरकारबाट बाहिरियो तर जनताको बीचमा हाइहाइ भयो । हामी फेरि ०५६ सालको निर्वाचनमा मनमोहन अधिकारीको नेतृत्वमा चुनावमा भाग लिइरहेका थियौं । त्यतिबेला नेकपा एमालेले नारा तय गरेको  थियो । ‘आगामी सरकार एमालेको, अल्पमतको होइन बहुमतको ।’ जनताले अल्पमतको सरकार मनपराइरहेको बेला, त्यो अल्पमतको सरकार विपक्षीका कारणे ढल्न पुगेको  थियो । त्यसैले अब ‘अल्पमतको होइन बहुमत’को  सरकार नेकपा एमालेको नेतृत्वमा बन्नु पर्छ । जनताको मनोविज्ञान, अभिमत देशैभरी बनिरहेको थियो । मनमोहनको नेतृत्वमा चुनावी अभियान देशैभरी चलिरहेको थियो । त्यस निर्वाचनमा यस क्षेत्रबाटै उम्मेदवारका रुपमा आदरणीय दिदी कुन्ता शर्मा हुनुहुन्थ्यो । चुनावी अभियानमा म स्वयम् भोजपुर जिल्लाको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेर चुनावी अभियानमा थिएँ । 

तर आजैका दिन मनमोहन अधिकारी हामीबीच रहनु भएन । चुनावी अभियानकै बेला उहाँको देहावसान भयो । वैशाख ६ गते चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा अचानक उहाँ बिरामी हुनुभयो । अस्पतालमा भर्ना गर्नु पर्यो । १३ गते उहाँको देहावसान हुन पुग्यो । यसरी मनमोहन अधिकारी हाम्रो स्मृतिमा, नेपाली जनताको स्मृतिमा सदैव रहिरहने एउटा महान् व्यक्तित्व हुनुहुन्छ । उहाँको आदर्श, उहाँको योगदान, उहाँको प्रेरणाबाट नै आज नेकपा एमाले यो उचाईमा आइपुगेको छ । 

त्यतिबेला हामीले दुर्भाग्य भन्नु पर्छ । त्यति बलियो पार्टी, एकीकृत पार्टी विभाजन नभएको भए विभाजनकारीहरुले नोक्सान नपुर्याएको भए, ०५६ सालमै जनताहरुको आकांक्षा त्यतिबेलै पूरा हुने थियो । अर्थात् ‘अल्पमतको होइन बहुमत’को सरकार ०५६ सालको निर्वाचनमा बन्ने आधार निर्माण भएको थियो । तर विभाजनका कारणले बहुमत हासिल हुन सकेन । 

Manmohan_smriti-3

हामी अगाडि बढ्दै गयौं । नेपालको कम्युनिष्ट आन्दोलनमा अनेकौं उत्तारचढावहरु देखा पर्दै गए । ०५२ सालबाट एउटा बेग्लै धार कम्युनिष्ट आन्दोलनमा देखा पर्यो । यसरी विभाजन, टुटफुट, एकता र एकीकरणको प्रक्रियाबाट कम्युनिष्ट आन्दोलन अघि बढ्दै जाने क्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले नै विचार, सिद्धान्त, नीति, कार्यक्रमका हिसाबले नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार र प्रवाहका रुपमा अगाडि बढ्दै गयो । 

नेकपा एमालेले लिएको विचार, सिद्धान्त खास गरेर जनताको बहुदलीय जनवादले अंगिकार गरेका विशेषताहरु त्यसका मूल मान्यता र पक्षहरुका आधारमा नेपालको कम्युनिष्ट आन्दोलन लोकप्रिय बन्दै गयो । बलियो हुँदै गयो । त्यसको नेतृत्व नेकपा एमालेले गर्दै गयो । अन्तिममा, आखिरमा घुमिफेरि रुम्जाटार भनेजस्तै जुन बाटोमा हिंडे पनि जुन गल्लीमा हिंडे पनि, जुन घोडेटोमा अल्मलिए पनि अन्ततः नेकपा एमालेले तय गरेको मूल बाटोमा सबै कम्युनिष्टहरु, सबै बामपन्थीहरु आउन बाध्य भए । शान्तिपूर्ण राजनीतिको मार्गमा, शान्तिपूर्ण राजनीतिक कार्यदिशाको बाटोमा सबै आउनै पर्यो । 

यसरी हामीले ०६२–६३ को जनान्दोलन हुँदै सबै आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै संविधान सभामार्फत् संविधान जारी गरेर मुलुकलाई संघीय प्रणालीमा लग्यौं । आज समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेर नेकपा एमालेको अगुवाईमै मुलुक निर्माणको काममा लागिरहेका छौं । त्यसको नेतृत्व नेकपा एमालेले नै गरिरहेको छ । 

हामीले यसबीचमा एउटा बलियो र सशक्त कम्युनिष्ट आन्दोलन निर्माण गर्ने कामका साथमा नयाँ नेपाल निर्माण गर्ने अभिभारा कम्युनिष्टहरुले बोक्नु पर्दछ, यसको नेतृत्व एकीकृत र बलियो कम्युनिष्ट पार्टीले गर्नुपर्दछ, त्यो निष्कर्षका निकाल्यौं । हामीले गएको निर्वाचनमा दुई कम्युनिष्ट पार्टीहरुका बीचमा गठबन्धन कायम गरेर चुनाव लडेका थियौं । यो देश र जनताको  हितका लागि थियो । संविधानको कार्यान्वयनका लागि थियो । संघीयताको कार्यान्वयनका लागि थियो । र, जनताले चाहेको विकास र समृद्धि पस्कनका लागि थियो । राष्ट्रिय हितका लागि थियो । राष्ट्रिय स्वाधीनताका लागि थियो । यस उद्देश्यका निम्ति केपी शर्मा ओलीले पहल गर्नु भएको थियो । आह्वान गर्नु भएको थियो, नेतृत्व गर्नु भएको थियो । त्यस प्रकार चुनावमा गठबन्धन कायम भएको थियो । तर, हामीले सोचेजस्तो परिणाम हासिल गर्न सकेनौं । केपी शर्मा ओली वा हाम्रो चाहना गठबन्धन कायम गरेर दुई तिहाईको बहुमत हासिल गर्ने थियो । दुई तिहाई मत हासिल गरेर मुलुकको नेतृत्व गर्ने हाम्रो चाहना थियो तर केही कारणहरुले त्यतिबेला दुई तिहाई प्राप्त हुन सकेन । 

Manmohan_smriti-2

मैले यहाँ उल्लेख गर्नै पर्छ । त्यतिबेला गठबन्धनको एउटा धारको नेतृत्व गरिरहनु भएका पुष्पकमल दाहाल प्रचण्ड जसले गठबन्धन कायम गर्दैगर्दा दुई पार्टीका बीचमा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने सहमति बनेको थियो । त्यो सहमति २४ घण्टा भित्रै तोड्ने काम भयो । अथवा, प्रचण्ड त्यसबाट पछाडि हट्नु भयो । त्यसकारण अलगअलग चुनाव चिह्नबाट हामीले मैदानमा जानुपर्यो । जनतामा अलमल भयो । मतदान गर्ने बेलामा धेरै ठूलो समस्या पैदा भयो । जसका कारण धेरै ठूलो मत खेर गयो । दुई तिहाई मत पुग्न सकेन । तर हामी दुई तिहाईको नजिकमा पुग्यौं । 

हामीले बहुमत हासिल गर्यौं । त्यसपछि सरकार बन्दै गर्दा समेत पुष्पकमल दाहाल प्रचण्डले अलिकति बेइमानी गर्नु भयो । दुई पार्टी गठबन्धन भएको सरकार, दुई पक्षबाटै मन्त्रीहरु समावेश भएको सरकार, कम्तिमा १५ जना समावेश भएको सरकार बनाउनुपथ्र्यो । तर हामी सबैलाई थाहा छ । त्यस प्रकारको मन्त्री मण्डल बन्न सकेन । केपी शर्मा ओलीले दुई जना सदस्यहरु लालबाबु पण्डित र थममाया थापालाई लिएर मन्त्री मण्डल बनाउनु पर्यो । गठबन्धनमा सामेल माओवादी केन्द्रको कुनै पनि मन्त्रीहरु त्यहाँ सामेल हुनु भएन । राम्रो सन्देश गएन । जतिबेला प्रचण्डले आलोपालोको कुरा गर्नुभयो आधाआधा समयको कुरा गर्नु भयो, केपी शर्मा ओलीले ‘लौ हुन्छ’ भन्नु भयो । तब मात्र उहाँले मन्त्री मण्डलमा आफ्ना सदस्यहरुलाई पठाउनु भयो । यसरी केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । सरकार चल्दै गर्दा सरकारले लोकप्रिय ढङ्गले काम गर्दैगर्दा जताततै केपी शर्मा ओलीको नेतृत्वको सरकार र केपी ओलीको हाइहाइ हुँदै गर्दा अन्ततः पार्टीभित्र समस्याहरु देखापर्न थाले । ती समस्याहरु राजनीतिक रुपका थिएनन् । सैद्धान्तिक, वैचारिक प्रकृतिका थिएनन् । कुनै नीतिगत कुराहरु थिएन । देश र जनतासँग सम्बन्धित कुराहरु थिएनन् । नितान्त पद प्रतिष्ठासँग सम्बन्धित थिए । व्यक्तिगत महत्वाकांक्षासँग सम्बन्धित थिए । अनि, कुर्सी र टेबलका आकारहरुका कुरासँग सम्बन्धित थिए । यस प्रकार समस्याहरु पैदा हुँदै जाने क्रममा अन्ततः एउटा कार्यदल बनेर त्यस कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई सचिवालयले अनुमोदन गर्दै स्थायी समितिले कार्यान्वयन गर्ने सर्वसम्मतिबाट पार्टी अगाडि  बढ्न खोज्यो । त्यही स्थायी कमिटीको निर्णयको उल्लङ्घन गर्दै, विधि, विधान र पद्धतिको मुखले वकालत गर्ने तर व्यवहार र कामले त्यसको खिल्ली उडाउने काम भयो । अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनमा, एकीकृत बलियो कम्युनिष्ट पार्टीमा गम्भीर संकट पैदा भयो । संकट मात्र पैदा भएन, अन्ततः एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा रहन सकेन । सर्वोच्च अदालतको फैसला पश्चात् हामी नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको तहमा पुग्न गएका छौं । तर पनि आन्दोलन, पार्टी, एकता र एकीकरणको, मूलधारको, मूल भागको पार्टी आन्दोलन र त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमालेले गरिरहेको छ । 

र, आज हामीले भन्नुपर्छ मनमोहन अधिकारीले जुन प्रकारको एकता र एकीकरणको अगुवाइ गर्नु भयो, एकताबाट बलियो कम्युनिष्ट पार्टीबाट मात्रै परिवर्तन सम्भव छ, त्यसबाट मात्र शक्ति आर्जन गर्न सकिन्छ, परिवर्तन सम्भव तुल्याउन सकिन्छ, आज त्यही मान्यताको नेतृत्व नेकपा एमालेले गरिरहेको छ । 

आज मनमोहन अधिकारीको असल उत्तराधिकारीका रुपमा केपी शर्मा ओली हुनुहुन्छ । त्यतिबेला ओली मनमोहनको गृहमन्त्री हुनुहुन्थ्यो । सफल गृहमन्त्रीको पहिचान बनाउनु भएका केपी शर्मा ओली आज उहाँको असल उत्तराधिकारीका रुपमा पार्टीको नेतृत्व गरिरहनु भएको छ । यस आन्दोलनको नेतृत्व गरिरहनु भएको छ । फेरि पनि एकीकृत बलियो पार्टी नेकपा एमाले नै हो । नेकपा एमालेले नै सही विचारहरु बोकेको छ । सही नीति, सही उद्देश्यहरुका साथमा नेकपा एमाले उभिन सकेको हुनाले नै आज तत्कालीन नेकपा माओवादी केन्द्रका हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक समर्थकहरु नेपाल कम्युनिष्ट पार्टीको झण्डामुनि केपी शर्मा ओलीको नेतृत्वमा आबद्ध हुनु भएको छ । उहाँहरु नेकपा एमालेमा रहनु भएको छ । हामीसँगसँगै आजको चुनौतीको सामना गर्नका निम्ति, आज पैदा भएको संकटलाई सामना गर्नका निम्ति र नेपालको  कम्युनिष्ट आन्दोलनमा देखा परेका गलत प्रवृत्ति र पात्रहरुलाई किनार लगाउँदै अगाडि बढ्ने अठोट र संकल्पका साथमा आज हामी सँगसँगै अगाडि बढिरहेका छौं । यस प्रकार मनमोहन अधिकारीको स्मृति दिवसमा हामीले यी कुरालाई पनि स्मरण गर्नु पर्छ । 

Manmohan_smriti-1

कम्युनिष्ट आन्दोलनमा अत्यन्तै डरलाग्दा प्रवृत्तिहरु देखापरेका छन् । आफ्नै पार्टीको  सरकार छ । आफ्नै पार्टीको सरकार ढाल्नका निम्ति, अपदस्त गर्नका निम्ति गैर–कम्युनिष्टहरुको घरघरमा धाएर गैर– कम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउनका निम्ति सक्रिय हुने, नाङ्गो रुपमा अगाडि बढ्ने यस्ता पात्र र प्रवृत्तिहरु आन्दोलनमा देखिए । नेपालको संसदीय आन्दोलनको इतिहासमा यस्ता प्रवृत्ति र पात्रहरु कहिल्यै देखा परेका थिएनन् । सायद संसारमा पनि यस्ता प्रवृत्ति र पात्रहरु कमै देखिएका होलान् वा देखिएका छैनन् । यहाँहरुले कर्णालीमा देख्नु भयो । नेकपा एमालेको संसदीय दलको बैठकमा बसेर, सर्वसम्मतिले निर्णय गरेर, दलको निर्णयबमोजिम अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेर प्रदेश सभाको बैठकमा गएका ५ जना प्रदेश सभा सदस्यले पार्टीको निर्णयको विरुद्धमा फ्लोरक्रस गरे । एउटा यस्तो कलंकित पात्रका रुपमा, प्रवृत्तिका रुपमा आफूलाई उभ्याए । आज  नेकपा एमालेभित्र त्यस्ता पात्र र प्रवृत्तिहरु पनि देखा परेका छन् । उनीहरु गर्व गरिरहेका छन् कि हामीले फ्लोरक्रस गर्यौं । एमालेलाई हामीले खत्तम गर्यौं । एमालेलाई हामीले कमजोर बनायौं । यस प्रकार उनीहरु आफूलाई धेरै राम्रो काम गर्यौं भन्ने ठान्छन् । 

यतिबेला प्रतिनिधि सभामा नेकपा एमालेभित्रकै नेताहरु फ्लोरक्रस गर्नका निम्ति, विरोधीहरुको नेतृत्वमा सरकार बनाउनका निम्ति, छिटोभन्दा छिटो केपी ओलीलाई ढाल्नु पर्यो, यो सरकारलाई गिराउनु पर्यो भन्ने कुत्सित मनसायले रातदिन नेकपा एमालेकै नेताहरु धाइरहेका छन् । दौडिरहेका छन् । त्यसको नेतृत्व माधव नेपालले गरिहनु भएको छ । यस्ता पात्र र प्रवृत्तिहरुलाई हामीले चिन्नु पर्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई धुजाधुजा बनाउने, टुक्राटुक्रा बनाउने, नेपाली जनताको सपना, चाहनालाई तुषारापात गर्ने र नेपालको कम्युनिष्ट पार्टीलाई धुलोमा मिलाउने उद्देश्यका साथमा आज नेकपा एमालेकै नाम बोकेर, नेकपा एमालेको चुनाव चिह्न सूर्य बोकेर, नेकपा एमालेको झण्डा बोकेर, त्यसको दुरुपयोग गरेर देशैभरी समानान्तर गतिविधिको नाममा केही गलत पात्र र प्रवृत्तिहरु क्रियाशील भइरहेका छन् । गतिविधि गरिरहेका छन् । यस गतिविधिलाई हामीले नजिकबाट चिन्नु पर्छ र बुझ्नु पर्छ । सबैलाई यस पात्र र प्रवृत्तिहरुबाट जोगिनका निम्ति हामीले आह्वान पनि गर्नुपर्छ । 

यस प्रकारको स्थिति आज कम्युनिष्ट आन्दोलनमा देखापरेको छ । स्वर्गीय मनमोहन अधिकारीको चाहानामा, उद्देश्यमा यी कुरा थिएनन् । उहाँका संकल्पमा यी कुरा थिएनन् । तर आज उहाँका पवित्र संकल्पमा कुठाराघात गर्दै उहाँका सपनालाई चक्नाचुर पार्दै आज नेपालको कम्युनिष्ट आन्दोलनमा यी यस्ता पात्र र प्रवृत्ति दौडिरहेका छन् । हामीले चिन्न सक्नुपर्छ । हामीले बुझ्न सक्नु पर्छ र आगामी दिनमा हामीले किनारा मात्र लगाउने होइन पूरै धुलो चटाउने, पराजित गर्ने हिसाबले अघि बढ्नुपर्दछ । आजको दिनले हामी सबैलाई यही प्रेरणा दिन सकोस् । मनमोहन अधिकारीका अधुरा सपनाहरुलाई पूरा गर्ने एउटा प्रेरणा तपाईं हामीमा सबैमा पैदा हुन सकोस् । 

Manmohan_smriti-4

हामी बलियो कम्युनिष्ट पार्टी निर्माण गर्न चाहान्छौं । सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्न चाहान्छौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा हामी नयाँ नेपाल बनाउन चाहान्छौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चाहान्छौं । त्यो आकांक्षा पूरा गर्ने क्रम शुरु भइसकेको छ । दुई दिन अघिमात्र यहाँहरुले देख्नु भयो, सुन्नु भयो । ०७२ सालको महाभूकम्पले ढलेको धरहरा ठडिएको छ । त्यो खडा भएको छ । ढलेको धरहरा बनाउने संकल्प केपी ओलीले गर्नु भएको थियो । ‘मेरो धरहरा म आफैं बनाउँछु’ भनेर आह्वान गर्नु भएको थियो । शिलान्यास उहाँले नै गर्नु भएको थियो । ठडिएको धरहराको उद्घाटन उहाँले नै गर्नुभएको छ । समृद्धि सम्भव छ, विकास सम्भव छ, हाम्रै नेतृत्वमा सम्भव छ । हाम्रै पालामा सम्भव छ । हाम्रै हातबाट सम्भव छ । एउटा धरहराले त्यो कुरा प्रमाणित गरेको छ । 

आज धरहरामात्र बनेको छैन । ध्वस्त भएको रानीपोखरी बनेको छ । ध्वस्त भएको  दरबार हाइस्कुल बनेको छ । ढलेका सम्पदाहरु बनेका छन् । स्थानीय तह, प्रदेश तहमा थुप्रै नयाँ संरचनाहरु निर्माण भएका छन् । जनताहरुको आँखै अगाडि समृद्धिको यात्रा फराकिलो बन्दै गइरहेको छ । यो यात्रामा अवरोध गर्ने जुनसुकै पात्र र प्रवृत्ति देखा परे पनि समृद्धिको यो फराकिलो यात्रा अझै फराकिलो बन्दै जाने छ । र, फराकिलो यात्रामा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु सहभागी बन्नु हुनेछ । हामीले नयाँ नेपाल बनाउनु छ । छिट्टै नै स्थानीय चुनाव हुँदैछ । उपनिर्वाचन पनि हुँदैछन् । १८– २० महिनामा अरु निर्वाचन हुँदैछन् । निर्वाचनको तयारीमा पनि हामी केन्द्रित हुनुपर्छ । र, त्यस निर्वाचनका माध्यमबाट फुटवादीहरुलाई, विभाजनकारीहरुलाई, अराजकतावादीहरुलाई, अस्थिरतावादीहरुलाई हामीले धुलो चटाउनु छ । र, फेरि एकपटक स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकास, समृद्धिका हिमायतीहरुलाई जिताउनु छ । फेरि पनि बलियो र स्थिर सरकार निर्माण गरेर मुलुक निर्माणको यो महान् अभियानलाई निरन्तरता दिनु छ । त्यस अभियानमा सशक्त रुपमा, संगठित रुपमा लाग्नका निम्ति, क्रियाशील हुनका निम्ति म हार्दिक आह्वान र अपिल गर्दछु ।

(मनमोहन स्मृति दिवसका अवसरमा धरान आयोजित कार्यक्रममा व्यक्त मुख्यमन्त्रीको मन्तव्य) 

प्रस्तुतिः नवराज विष्ट