विराटनगर। विराटनगर महानगरपालिको दक्षिण क्षेत्रमा रहेको भन्सार जाँच पास (आइपी) जोड्ने भित्री सडक निर्माणमा ठेक्दारले चरम लापरबाहि गरेको भेटिएको छ । 

विराटनगर – १८ ‘खोक्सादेखि दमार्गी’ हुदै आइसीपी जोडने भित्री पिच सडक निर्माणमा ठेक्दार कम्पनी आर. एस. निर्माण सेवा विराटनगरले लापरबाहि गरेको भेटिएको हो ।

सडकको बेस बसाएपछि ‘प्राइमर’ लगाउनुभन्दा अगाडी ब्रुमर वा कम्प्रेसरले दुलो उठाएर सफा गरिनुपर्दछ । त्यसपछि कालोपत्रे गरिनुपर्ने इन्जिनियरहरूले बताएका छन् । तर, विराटनगर १२ घर भएका ठेक्दार शिव शंकर कामतले ब्रुमरको प्रयोग नगरि नाङ्लो प्रयोग गरि प्राइमर लगाएका छन् ।


यसरी ब्रुमरको प्रयोग नगरि धुलोमै प्राइमर लगाउँदा गुणस्तरीय सडक निर्माण नहुने भन्दै स्थायिनले विरोध जनाएका छन् ।

‘हामीले ब्रुमर ल्याएर सडकको धुलो उठाएर राम्रमी प्राइमर गरिदिनु भनेर ठेक्कादरलाई आग्राह गर्दा पनि कुनै सुनवाइन भएको छैन,’ स्थानिय देवराज पंजीयारले भने, ‘सडकको बेस बसाएपछि प्राइमर गरिनु भन्दा अगाडी ठेक्दारका कामदारहरूले नाङ्लो प्रयोग गरेका छन् ।

जसले गर्दा राम्रोसँग धुलो पनि उडेको छैन । अहिले त्यही माथि प्राइमल, अलकत्र लगाएर छोडिदिएका छन् ।’ यसरी सडकको धुलो राम्रोसँग नउडाइ प्राइमर लगाउँदा कालोपत्रे उप्किने र गुणस्तरहिन सडक बन्नेमा स्थानिय चिन्तित भएका छन् ।

उनीहरूले अहिले भइरहेको सडक  निमार्णमा जनप्रतिनिधी र प्राविधिकहरुको टोलीले अनुगमन गरि गुणस्तरीय सडक बनाइदिन यहाँका स्थानियले माग राखेका छन् । ‘हाम्रो एक मात्र माग हो, सडक गुणस्तरीय र टिकाउ बनोस,’ स्थानिय पंजीयारले भने, ‘घर अगाडीको सडक राम्रो र दरो बनोभने मात्र हामीले तिरेको पैसाँ पनि सदुपयोग हुने गर्दछ ।’

संघिय सरकार अन्तर्गत रहेका शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरको १८ लाख ७२ हजार ४ सय ६९ रुपैयाँ बजेटमा उक्त सडक निर्माणको ठेक्का आर.एस. निर्माण सेवाले पाएको हो ।

४ सय ५० मिटर लम्बाइ कालोपत्रे पिच सडक निर्माणको लागि गत चैत १२ गते सम्झौता भइ अहिले काम भइरहेको छ । आउँदो असार १५ गतेभित्र सडक निर्माण पूरा गरिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ । ११ फिट चौडाइ रहेको सडकको ३० एमएम मोटाइ कालोपत्रे गरिनुपर्ने संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका इन्जिनियर तथा सूचना अधिकारी राजु शर्माले बताए ।

‘ब्रुमरको प्रयोग प्राइमर लगाउनुपर्ने हो,’ इन्जियिनर शर्माले भने, ‘राम्रोसँग धुलो नउडाइ यदि प्राइमगर गरेको भेटिए पुन: निर्माण गर्न निर्देशन दिनेछौं ।’

प्राइमर गरिनुभन्दा अगाडी सडकको कम्प्याक्सन (डीयनसिटी) चेक पनि गरिने भएकोले गुणस्तरीय सडक निर्माण गर्न ठेक्दारलाई निर्देशन दिने उनले बताए । आयोजना प्रमुख गंगा प्रसाद यादवले पनि गुणस्तरहिन सडक निर्माण गरेको भेटिएर ठेक्दारलाई कारवाहीको दायरमा ल्याउने बताए ।

‘सडक निर्माण सम्पन्न भएपछि हामीले सडकको ल्याब परिक्षण गर्दै आएको छौं,’ आयोजना प्रमुख यादवले भने, ‘गुणस्तरीय सडक निर्माण भएको पुष्टिभएपछि भुक्तानी दिने गरेका छौं ।’ यदि गुणस्तरहिन सडक निर्माण भएको पुष्टि भएको खण्डमा ठेक्दारले पाउने रकम रोक्का गरिने उनले बताए । 

यता आर.एस. निर्माण सेवाका संचालक तथा ठेक्कदार शिवशंकर कामतले सानो परियाजना भएकोले कारणले ब्रुमरको प्रयोग नगरेको बताए । ‘ब्रुमरको साटो हामीले नाङ्लो र झाडुले राम्रोसँग धुलो उठाएर प्राइमर लगाएका छौं,’ ठेक्दार कामतले दाबी गर्दै भने, ‘यहाँको सडक गुणस्तरीय बनाउनेछौं ।’