विश्वका कुनै पनि देशमा कर्मयोगी, नेता, राष्ट्रिय विभूति, संस्कृति–उन्नायक, साहित्यकार, धर्तीका तारा हुन् । जनताका प्रतिनिधि हुन् र युगका निर्माता हुन् । देश, समाज र युगप्रति तिनको कम्ति दायित्व हुँदैन । त्यसैले समाज र राष्ट्रका लागि नक्षत्र तथा समाजका प्राण भएर बाँचिरहन्छन् सधैँ–सधैँ ।

देवी–देवताहरूले बसोबास गरेको विजयपुर र विजयपुर पछिको नेपालको पूर्वी क्षेत्रमा अवस्थित बहुजातीय, बहुधार्मिक, बहुसांकृतिक, शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार पहाड र तराईको सङ्गम फाँट धरान उपमहानगरपालिकास्थित धरानका विभिन्न वडाहरूमा तिनै कर्मयोगी, राष्ट्रिय विभूति, संस्कृति–उन्नायक, नेता, साहित्यकारहरूका सालिकको नालीबेली यहाँ प्रस्तुत गरिएको छ । 

१. साहित्यकार एवम् राष्ट्रिय विभूतिः मोतीराम भट्ट 

नेपाली साहित्यमा माध्यमिककाललाई अघि बढाउने चहकिला साहित्यकार, युवाकवि । भानुभक्त आचार्यको जीवन चरित्र लेख्ने पहिलो साहित्यकार । 

जन्मः १९२३ भाद्र २५ गते कुशे आंैसीः काठमाडौं, भोसिकोटोल

निधनः १९५३ भाद्र कुशे औंसी

चित्र अङ्कित हुलाक टिकट प्रकाशन – २०१९ साल

राष्ट्रिय विभूति घोषित– २०२४ पौष १ गते 

धरानमा सालिक शिलान्यास–भाषासेवी महानन्द सापकोटा

२०३१ फाल्गुन १२ गते शिक्षादिवस 

सालिक अनावरणः नेपालमा सर्वप्रथम स्व.श्री ५ वीरेन्द्रबाट धरान नगरपालिका परिसरको मोती स्मृति भवनमा– २०३३ फाल्गुन १० गते 

२. आदिकवि, राष्ट्रिय विभूति– भानुभक्त आचार्यः 

नेपाली साहित्यको पहिलो जग्मगाउँदा तारा, संस्कृतका प्रकाण्ड विद्वान, भाषिक एकताका प्रतीक ।  

जन्मः १८७१ साल आषाढ २९ गते तनहुँ रम्घा

निधनः १९२५ आश्विन ६ गते, तनहुँ, सतिघाट 

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०१९ साल

राष्ट्रिय विभूति घोषित– २०२४ पौष १ गते 

सालिक शिलान्यासः भाषासेवी महानन्द सापकोटा, साविक धरान–६ 

२०३१ फाल्गुन १२ गते शिक्षा दिवस

सालिक अनावरणः   प्र.म.कीर्तिनिधि विष्ट २०३४ चैत्र ३ गते 

पूर्वाञ्चल क्षेत्रका तत्कालीन १६ वटा बस व्यवसायीहरूको आर्थिक सहयोगमा निर्माण । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भानुचोक नामले प्रख्यात

३.महाकवि लक्ष्मीप्रसाद देवकोटाः 

नेपाली साहित्यका पहिलो जग्मगाउँदा ध्रुवतारा, लोकप्रिय मुना–मदन खण्ड–काव्यका रचनाकार । 

जन्मः १९६६ साल कात्तिक २७ गते, लक्ष्मीपूजाको दिन, काठमाडौं–धोवीधारा

निधनः २०१६ भाद्र २९ गते सोमबार 

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०२२ साल कात्तिक ८ गते र २०६६ साल पौष १६ गते जन्म शताब्दीको अवसरमा ।

सालिक अनावरणः स्थानीय साहित्यप्रेमीहरूको आर्थिक सहयोगमा साविक वडा नं. १ र ४ को सङ्गमस्थलमा पूर्वका व्यास पं.छविलाल पोख्रेलबाट वि.सं. २०५४ कात्तिक १५ गते लक्ष्मीपूजाका दिन । लक्ष्मीचोक नामाकरण

४. लौह पुरुष– गणेशमान सिंहः 

नेपाल आमाका सपुत, प्रजातन्त्रका भीष्मपितामह, २०४६ जनआन्दोलनका सर्वोच्च कमाण्डर, देशमा प्रजातन्त्रको पुनस्र्थापना । 

जन्मः १९७२ साल कात्तिक २४ गते यटखा टोल, काठमाडौं

निधनः २०५४ आश्विन २ गते 

सालिक शिलान्यासः २०५७ फागुन ७ गते, धरान–१६ जनपथमा नगरप्रमुख मनोजकुमार मेन्याङ्वोबाट । 

सालिक अनावरणःगणेशमान सिंह फाउण्डेशन चाक्सीबारी काठमाडौंको सौजन्यमा स्थानीय प्रजातन्त्रप्रेमीहरूको आर्थिक सहयोगमा वन तथा भू–संरक्षण मन्त्री गोपालमान श्रेष्ठबाट २०५८ मङ्सिर ३ गते सालिक अनावरण । गणेशमान चोक नामकरण । 

५. किरात विभूति प्रथम सहिद– ते अङ्सी सिरिजङ्गाः 

किरात (लिम्बू) जातिका महात्मा । किरात लिपि, भाषा, धर्म र संस्कृतिका ठूला उन्नायक । 

जन्मः १७६१ मङ्सिर, ताप्लेजुङ, सिनाम, तेल्लोक गाविस

निधनः  वि.सं. १७९८ मा किरात (लिम्बू) लिपि, भाषा पुनराविष्करण र धर्मग्रन्थको प्रचार–प्रसार गर्दै सिक्किम पुग्दा असन्तुष्ट अनुदार मतका बौद्ध धर्मावलम्बी एउटा गुम्बाका लामाहरूबाट खोलाको किनारको रुखमा बाँधेर विषालु काँडले हानेर हत्या  

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०४९ पौष १६ गते 

सालिक शिलान्यासः २०५८ कात्तिक १ गते, धरान नगरपालिकाका नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको उपस्थितिमा नेपाल जनजाति महासङ्घका महासचिव बालकृष्ण माबोहाङबाट शिलान्यास

सालिक अनावरणः किरात याक्थुङ चुम्लुङ धरानको सक्रियतामा वडा नं. ८ धरान प्रवेशद्वार तीनकुनेमा समाज कल्याण मन्त्री गोरेबहादुर खपाङ््गीबाट– २०५९ पुस ४ गते अनावरण । नेपालको इतिहासमै धरानमा पहिलो पटक सालिक स्थापना । 

६. प्रथम कम्युनिष्ट प्र.म. मनमोहन अधिकारीः

नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री । 

जन्मः १९७८ असार १५ गते लाजिम्पाट, काठमाडौं 

निधनः २०५६ वैशाख १३ गते, काठमाडौं ।

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०५७ भदौ २२ गते

सालिक शिलान्यासः २०५८ चैत ३ गते एमालेका तत्कालीन उपनेता के.पी.शर्मा ओलीबाट धरान–१५, श्यामचोक

सालिक अनावरणः २०५९ पुस २९ गते, एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल 

७. कवि शिरोमणि लेखनाथ पौड्यालः 

नेपाली साहित्यजगत्मा दोस्रो आदरणीय नाम, काव्य साहित्यका प्रसिद्ध तारामध्ये एक । 

जन्मः १९४१ पौष १४ गते अर्घौ, अर्चले, पोखरा

निधनः २०२२ फागुन ७ गते शिवरात्री । 

२००८ सालमा राजा त्रिभुवनबाट कविशिरोमणिको उपाधि प्राप्त

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०२३ पौष १४ गते 

सालिक अनावरणः धरान–१६ मा १२३ औं  जन्मजयन्तीको अवसरमा स्थानीय कवि गजेन्द्रप्रसाद आचार्यको पहलमा २०६३ पौष १४ गते भाषाशास्त्री बालकृष्ण पोखरेलबाट अनावरण । लेखनाथ चोक नामाकरण । 

८.कर्मयोगी कृष्णबहादुर शाही (उस्ताद):

श्री सरस्वती बाल अनाथ आश्रम धरानका संस्थापक (२०४८) धरानका सौरभ ।

जन्मः १९८९ भाद्र २८ गते, डिल्लीबजार, काठमाडौं ।  

धरान आगमनः २००९ 

निधनः २०६६ आषाढ १९ गते धरान ।

सालिक अनावरणः २०७० वैशाख २८ गते सरस्वती बाल आश्रम धरानको सभाकक्षमा बहुआयामिक प्रतिभाका धनी, शिक्षासेवी एवम् समाजसेवी चन्द्रशेखर श्रेष्ठबाट अर्धकदको सालिक अनावरण ।

९. शिक्षासेवी पं.छविलाल पोख्रेलः 

सामाजिक क्रान्तिका अग्रदूत, पूर्वका व्यास, प्रसिद्ध समाज सुधारक एवम् पिण्डेश्वर विद्यापीठ धरानका (२००८–२०३०) संस्थापक प्राचार्य, धरानका सौरभ ।

जन्मः १९६२ मङ्सिर ५ धनकुटा, कचिडे–३, धरान आगमन वि.सं.१९९९

निधनः २०५६ फागुन १ गते, धरान

सालिक अनावरण: २०७० मङ्सिर २७ गते पिण्डेश्वर विद्यापीठ धरान–१४ विजयपुरको परिसरमा ने.सं.वि.का कुलसचिव प्रा.डा.जगतप्रसाद उपाध्यायबाट अनावरण । 

१०.जनक नन्दिनी सीताः 

जन्मः पौराणिककालमा नेपाली माटोबाट प्रस्फुटित उज्वल रत्न, जनक नन्दिनी सीताको जन्म प्राचीन मिथिलाको पावन नगरी जनकपुरमा वैशाख शुक्ल नवमी तिथिमा भएको थियो । 

हिन्दु धर्मावलम्बीहरूबाट आदर्श नारीका रूपमा मानिएको मिथिला नरेश राजर्षि जनककी छोरी, अयोध्याका राजा दशरथकी बुहारी, भगवान श्री रामकी पत्नी । 

राष्ट्रिय विभूति घोषितः २०२४ पौष १ गते

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०२५ वैशाख २५ गते (वैशाख शुक्ल नवमी)

सालिक अनावरणः स्थानीय बुद्धिजीवी एवम् समाजसेवी दिलिपकुमार श्रेष्ठको सक्रियतामा वडा नं. १३ जिरोप्वाइण्ट पश्चिम सोलार साइरन जडान गरी जनक नन्दिनी सीताको त्रिमूर्ति सालिक धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाबाट २०७१ भदौ १२ गते अनावरण । जानकी चोक नामाकरण । 

११. नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाः 

राष्ट्रिय विभूति, इतिहास पुरुष, आदर्श व्यक्ति । लिच्छवीकालीन राजा राघवदेवसँग स्वीकृति लिई उपत्यकाका तीनै सहरका सकल जनताको ऋण तिरिदिएर दासमोचन गरी आफ्नै मातृभूमिको मौलिक एक नयाँ संवत् नेपाल संवत्का प्रवर्तक । (नेपालको इतिहासमा प्राचीनकालको अन्त्य भई मध्यकालको आरम्भ)

राष्ट्रिय विभूति घोषितः २०५६ मङ्सिर २ गते 

चित्र अङ्कित हुलाक टिकट प्रकाशन– २०६० कात्तिक ९ गते

धरानमा सालिक अनावरणः झीगु समाज धरानको संयोजनमा वडा नं.३ स्थित विभिन्न १८ सङ्घ संस्थाहरूको सक्रियतामा ज्येष्ठ नागरिकपार्क परिसरमा नेपाल संवत् ११३५ नववर्षको उपलक्ष्यमा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीबाट २०७१ कात्तिक ७ गते शुक्रबार कात्तिक शुक्ल प्रतिप्रदाका दिन अनावरण । शङ्खधर मार्ग नामकरण ।

१२.शिक्षासेवी संस्थापक कालीप्रसाद श्रेष्ठः 

वि.सं.२०१३ मा स्व.पिता रत्नप्रसाद श्रेष्ठ र स्व.माता पद्मकुमारी श्रेष्ठको स्मृतिमा धरान महेन्द्र कलेज निर्माणका लागि एक बिगाहा पाँच कठ्ठा जग्गा प्रदान । 

जन्मः १९७० मङ्सिर २८ गते 

निधनः २०२९ चैत २२ गते

सालिक अनावरणः सालिक निर्माणकर्ता कृष्णप्रसाद श्रेष्ठ एवम् परिवार धरान–२ को सक्रियतामा महेन्द्र बहुमुखी क्याम्पस धरान–१० को प्राङ्गणमा शिक्षासेवी, बुद्धिजीवी तथा पूर्व प्रधानपञ्च सूर्यप्रसाद उपाध्यायबाट २०७५ मङ्सिर २८ गते सालिक अनावरण । 

१३.नगरप्रमुख तारा सुब्बाः 

गणतन्त्र नेपाल धरान उपमहानगरपालिकाका प्रथम जननिर्वाचित मेयर (नगर प्रमुख) 

जन्मः २०२३ माघ १८ गते खाम्लालुङ गा.वि.स.वडा नं. ८, तेह्रथुम जिल्ला

निधनः २०७५ साउन १ गते, काठमाडौं । 

लोकतन्त्रको स्थापनापछि २०७४ असार १४ गते सम्पन्न भएको पहिलो स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित । २०७४ साउन २ गते पदबहाली गरी कार्यभार सम्हालेको एक वर्षमै कार्यरत अवस्थामा नै ५२ वर्षको उमेरमा अकल्पनीय निधन

सालिक स्थापना:  धरान वडा नं.१९ स्थित हरियाली वन क्षेत्रमा अन्त्येष्टि गरिएको परिसर स्थलमा स्मृतिका लागि २०७६ साउनमा सालिक स्थापना । 

१४. प्रजातन्त्रका महान् सेनानी बी.पी.कोइराला: 

नेपाली राजनीतिका शिखर पुरुष, २०१६ साल जेठमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री । २०१७ साल पुस १ गते अन्य सहयोगी साथीहरूसहित आठवर्ष जेल । 

जन्मः १९७१ भदौ २४ गते वनारस, भारत 

निधनः २०३९ साउन ६ गते काठमाडौं । 

वि.सं.२००२ सालमा नेपाली राजनीतिमा प्रवेश गरी २००३ सालमा भारतमै रही नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना गरी नेपालमा प्रजातन्त्रको लागि सङ्गठनको श्रीगणेश ।

जहानियाँ राणा शासनविरुद्ध २००३ सालमा विराटनगर क्षेत्रमा अवस्थित जुटमिलमा भएको मजदुर आन्दोलनमा अन्य नेता कार्यकर्ताहरूसमेत पक्राउ । राणा शासकद्वारा धरान फुस्रेमा एकदिन राखेर पैदलै धनकुटा, भोजपुर हुँदै काठमाडौं चलान । ६ महिना जेल जीवन । २९ दिन सम्म आमरण अनसन । 

धरानमा सालिक अनावरणः परिवर्तनशील समाज नेपाल धरानको आयोजनामा फुस्रेमा एक रात राखेको स्थान हाल धरान वडा नं.२० सर्दु जलाधार क्षेत्रमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालबाट २०७७ फागुन ७ गते बी.पी.को पूर्ण कदको सुनौलो रङको सालिक अनावरण । बी.पी.पार्क नामकरण । 

(लेखक कर्माचार्यः धरानका ऐतिहासिक सामग्रीका खोजमूलक लेखक हुन् ।)