बिर्तामोड/नेपालमा उत्पादित मरिच, सुपारी जस्ता नगदेवाली बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली किसान निरास भएका छन् । सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको भनिएपनि आयात खुल्ला गरेपछि उत्पादनले बजार नपाउने चिन्तामा उनीहरु छन् । 

सरकारले परिमाणात्मक बन्देज खुल्ला गरेको बताएको छ । तर, कति परिणाममा आयात गर्न दिने भन्ने बारे मन्त्रालयले सार्वजनिक गरेको छैन । ब्यापारीको दवावमा आयातमा चलखेल गर्नका लागि परिणाम गोप्य राखेर बन्देज खुल्ला गरिएको हुनसक्ने आसंका गरिएको छ । आयात खुल्ला गरेसँगै नेपाली उत्पादनको मुल्य अस्वभविक रुपमा घट्न थालेको ब्यापारीको भनाई छ ।  

बिदेशबाट आयात गर्दा नेपाली उत्पादनले बजार नपाउने कृषकको गुनासो छ । सुपारी ब्यवसायी संघ झापाका अध्यक्ष हेमलाल गुरागाईँले आयात प्रतिबन्ध फुकुवा भएसँगै मुल्यमा गिरावट आएको बताए । आयात प्रतिबन्ध हुँदा प्रतिकिलो ५ सय रुपैंयाँमा कारोबार भएको सुख्खा सुपारी दुई, तीनदिनको अवधिमा ४ सय रुपैंयाँमा झरेको उनी बताउँछन् । ‘बिदेशबाट आयात हुन थालेपछि नेपाली सुपारीको मुल्य प्रतिकेजी तीन सय रुपैंयाँसम्म हुने हाम्रो अनुमान छ, गुरागाईँले भने–‘मध्य र पश्चिम नेपालका उद्योगहरुले हाम्रो सुपारी खरिद गर्दै आएका छन्, पहिले खरीद गरेको सुपारी पनि अब घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यता आउने अवस्था छ ।’

कतिपय ब्यापारीले काँचो सुपारी ४० देखि ५० रुपैंयाँसम्म खरिद गरेर प्रशोधन गरेका छन् । बिदेशबाट आयात हुन थालेपछि ति सबै सुपारी ब्यापारी घाटामा जाने चिन्तामा रहेको उनीहरुको भनाई छ । अझ धेरै मुल्य पाउँन सुपारी बिक्री गरिनसकेका किसान भने मुल्य घट्ने भयका कारण चिन्तित बनेका छन् । ब्यापारीले खरिद गरेको मुल्यभन्दा पनि सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आएको गुरागाईँले बताए । ‘मैले तीनहजार क्विन्टल काँचो सुपारी खरिद गरेको थिए, यतिबेला उद्योगहरुले लागत पनि नउठ्ने मुल्य राखेर सुपारी माग्न थालेका छन्–गुरागाईँले भने–‘प्रशोधन गरेर तयारी अवस्थामा राखेको सुपारीको आधा मुल्यमा बिक्री गर्न कि नगर्नु म दोधारमा छु ।’ 

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको फागुन २५ गतेको निर्णयले २०७६ चैत १६ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सुपारी, मरिच, छोकडा र केराउ आयात खुल्ला भएको छ । यसले स्वदेशी मरिचले नै बजार पाउँन नसकिरहेको अवस्थामा प्रतिबन्ध खुल्ला गरेपछि किसान मारमा पर्ने देखिन्छ । 

पुर्वी नेपालका किसानले उत्पादन गरेको मरिच तीनबर्षअघिसम्म प्रतिकिलो १ हजार १०० रुपैयाँ बिक्री हुने गरेको थियो । गतबर्ष मरिच बजारमा आएसँगै सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसानले ५०० रुपैंयाँ प्रतिकेजी मरिच बिक्री गर्नु परेको थियो । झापाको बुद्धशान्ति गाउँपालिका–१ का नेत्र संग्रौलाले प्रत्येक बर्ष ५ क्विन्टल मरिच उत्पादन गर्दै आएका छन् । बिगत केही बर्षदेखि मरिच खेती गर्दै आएका संग्रौला उत्पादन राम्रो भएपनि नीतिगत अदुरदर्शीताका कारण उत्पादनले बजार पाउँन नसकेको गुनासो गर्छन् । 

झापाका स्थानीय बजार साथै मध्य नेपालका केही किराना ब्यापारीले मरिच खरिद गर्ने गरेको उनी बताउँछन् । सुपारीको बोटको फेदमा मरिच खेती गर्दै आएका संग्रौला यतिबेला उत्पादन गरेको मरिच कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । एक झ्याङमा ३ किलोसम्म मरिच उत्पादन हुने गरेको संग्रौलाले बताए ।

सुपारी र मरिच खेती गर्दै आएका मेचीनगर नगरपालिकाका निलकण्ठ तिवारीले चार बिगाहा क्षेत्रफलमा दुईतले खेती गरेका छन् । सुपारी र मरिच खेती गर्दै आएका तिवारीले सरकारसँग कृषि उत्पादनको तथ्यांक नै नभएको बताए । ‘हामीसँग कति मरिच छ र कसरी बजारसम्म पु¥याउने भन्ने तथ्यांकसमेत सरकारसँग छैन’ संग्रौलाले भने, ‘हामीले गरेको उत्पादनको बजारीकरणमा सहयोग गर्नु त कहाँ हो कहाँ ल्टै हामीलाई सरकारले निरुत्साहित गर्ने काम गरेको छ ।’ आयात खुल्ला गर्ने तर, ब्यवस्थित ढंगले निकासी गर्ने वाताबरण नबनाउँदा नेपाली उत्पादन सबैभनदा मारमा परेको उनको गुनासो छ । ‘मेचीनगर भारतीय सिमावर्ती क्षेत्र भएको हुनाले यहाँ उत्पादित नेपाली मरिच भारतीय ब्यापारीले लैजाने गरेका थिए, तिवारीले भने–‘अहिले भारतीय ब्यापारी पनि आउन छोडेका छन्, बिक्री पनि छैन ।’

झापा सुपारी र मरिच उत्पादनको उद्गम थलो हो । नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने सरकारी तथ्यांक छ । मरिच उत्पादनको तथ्यांक अहिलेसम्म सरकारसँग छैन । झापामा मात्र बार्षिक ९ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।