महिला उद्यमी भनेको महिला वा महिलाहरूको समूह हो, जसले व्यवसाय सुरुवात, व्यवस्थापन र व्यापार चलाउँछन् । एक महिला उद्यमी जो एक आत्मविश्वासवान, रचनात्मक र नवीन महिला हो, जसले व्यक्तिगत स्वतन्त्रताको चाहनाको साथसाथै अरूलाई रोजगारीको अवसर सिर्जना गर्दछ । त्यसैले महिला उद्यमीहरू तिनीहरुलाई मान्न सकिन्छ, जसले व्यवसाय उद्यमको बारेमा सोच्दछन्, यसलाई आरम्भ गर्छन्, उत्पादनको कारकहरूलाई व्यवस्थित र मिलाउँछन्, उद्यम सञ्चालन गर्छन्, जोखिम लिन्छन् र आर्थिक अनिश्चिततालाई ह्याण्डल गर्दछन् । 

आधुनिक समयमा, महिला उद्यमीहरूले व्यापार, व्यापार वा उद्योगमा धेरै महत्वपूर्ण भूमिका खेलिरहेका छन् । व्यवसायमा उनीहरूको प्रवेश भर्खरको उत्पत्ति हो । राजनीति, प्रशासन, चिकित्सा र इञ्जिनियरिङ, प्राविधिक, सामाजिक र शैक्षिक सेवाहरू जस्ता अन्य क्षेत्रहरूमा महिलाले आफ्नो महत्वपूर्ण भूमिका प्रदर्शन गरिसकेका छन् । उन्नत देशहरूमा यो सत्य हो र अब भर्खरका वर्षहरूमा, तिनीहरू हाम्रो देशमा यी क्षेत्रहरूमा प्रवेश गरिरहेका छन् ।

पछिल्लो समय महिलाहरू भान्छाभन्दा बाहिर वा माथि उठेर व्यापार व्यवसायमा आबद्ध भइरहेका छन् । केही व्यवसायहरूमा, महिला उद्यमीहरूले धेरै राम्रो गरिरहेका छन् र उनीहरूले आफ्ना पुरुष समकक्षीहरूलाई पनि पार गरिसकेका छन् । महिला कानून, विज्ञान, मेडिकल, एयरोनटिक्स र अन्तरिक्ष अन्वेषण, प्रहरी तथा सैन्य सेवाहरूमा मात्र सफल देखिएको पाउन सकिन्छ । तर, पछिल्लो समय महिलाहरू व्यापार तथा उद्योगमा पनि आफ्नो सामथ्र्य देखाइरहेका छन् । उनीहरूले प्रमाणित गरेका छन्, कि उनीहरू दक्षता, कडा परिश्रम वा बुद्धिमत्तामा पुरुषहरू भन्दा कम छैनन् ।

महिला उद्यमीहरूकै कारण लगभग सबै देशहरूको अर्थव्यवस्थामा अत्यधिक वृद्धि भइरहेको छ । व्यवसाय तथा उद्यममा महिलाहरू अघि आउनुको मुख्य कारण ज्ञान, चेतनामा वृद्धि, इच्छाशक्ति तथा सरकारले ल्याएका केही सकारात्मक व्यवस्थालाई लिन सकिन्छ । आफ्नो जीवन र क्यारियरमा स्वतन्त्र निर्णय लिनको लागि प्रेरणादायक कारक हो महिला उद्यमी । महिला उद्यमी यस्तो व्यक्ति हो, जसले आफ्नो व्यक्तिगत चाहनाहरू पूरा गर्न चुनौतीपूर्ण भूमिकालाई स्वीकार्छ र आर्थिक रूपमा स्वतन्त्र हुन जान्छ । ठूलो सकारात्मक परिवर्तन गर्न उद्यमी महिलाहरूको अभिन्न गुण तीव्र इच्छा हो, जो परिवार र सामाजिक जीवन दुवैमा योगदान गर्न सक्षम छ । सञ्चारमाध्यमहरू र यसमा आउने महिला उद्यमीका विषयले महिलाहरू उनीहरूका आफ्नै गुणहरू, अधिकार र कामका बारेमा सचेत हुन्छन् । 

अहिलेका महिलाहरू सामान्य व्यापार व्यवसायमा मात्र सीमित छैनन् । आईटी र प्रविधिको क्षेत्रमा समेत महिलाहरू सक्षम बन्दै गइरहेका छन् । परिवारमा आम्दानी बढाउन महिलाहरू विभिन्न प्रकारका व्यवसायमा संलग्न हुनुपर्दछ र भइरहेका छन् पनि । त्यसैले यसले परिवारको साथै देशको आर्थिक विकासमा पनि मद्दत गर्दछ । धेरैजसो नेपालमा साना तथा घरेलु उद्योगमा महिलाहरू संलग्न छन् । हाम्रो देशमा महिलाहरू बढी मात्रामा ढाका उद्योग, मसला, बुटिक, नुडल्स कारखाना, हातबाट निर्मित सामाग्री, मसाज थेरापिष्ट, हाउस क्लिनर, सिलाइ तथा कटाइ, कृषि आदि पेशामा संलग्न छन् । यीबाहेक महिलाहरू अनलाइन व्यवसायमा समेत संलग्न भएको देखिन्छ ।

नेपालको सन्दर्भ

वि.सं. २०६८ को जनगणनाको आधारमा हेर्ने हो भने नेपालमा पुरुष ४८.५६५ र महिला ५१.४४५ रहेका छन् । यसमा साङ्ख्यीकीय केन्द्रीय ब्यूरोका अनुसार दर्ता भएको साना तथा लघु उद्योगको सङ्ख्या ८ लाख ३१ हजार ७ सय ३३ रहेको छ । त्यसमा महिलाहरूले सञ्चालन गरेका २ लाख ४७ हजार ८ सय ८० मात्र छ । जुन २९.८ प्रतिशत मात्र हो । यसमध्ये पनि महिलाहरू बढी कृषि उद्यमीमा ५४, वन क्षेत्रमा १८, आर्टिसन उद्यमी १३, सेवा आधारितमा ६, पर्यटन क्षेत्रमा २ र अन्यमा ७ प्रतिशत महिलाहरूको सहभागिता रहेको छ ।

हाल नेपाल सरकारले आफै तथा विभिन्न सङ्घ–संस्थासँगको सहकार्यमा महिलाहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमहरू प्रदान गरिरहेको छ । सरकारले महिलाहरूको नाममा फर्म दर्ता गर्दा निःशुल्क दर्ता तथा विशेष छुटको व्यवस्था गरिरहेको छ । महिलाहरूका लागि विभिन्न सहकारी, लघुवित्त तथा बैङ्कहरूले सहुलियत ब्याजदरमा ऋण पनि दिँदैआएको छ । गाउँ–गाउँमा आमा समूह, बचत समूहजस्ता संस्था स्थापना गरेर बचत गर्ने र त्यही बचत गरेको रकम सङ्कलन गरेर घरेलु उद्यमीमा लगानी लगाउने आदि रणनीति बनाएर पनि सहकारीहरूले महिलाहरूलाई अघि बढाइरहेका छन् ।  

स्थानीय सरकारले पनि महिलाहरूलाई उद्यमशीलतामा लाग्न धेरै योजनाहरू बनाइरहेका छन् । जसमा महिलाहरूलाई साना पसलहरू खोल्न, सिलाइ बुनाइमा अग्रसर बनाउन, कृषि क्षेत्रमा लाग्न तथा उद्यमी बन्न धेरै रणनीति अपनाएको पाइन्छ । कुनै उद्यमीले व्यवसायबाट कमाएको अर्थलाई उचित व्यवस्था गर्नको निम्ति बचत गर्ने प्रणाली स्थापित गरेको छ । उद्यमशीलतामा विकास गर्न विभिन्न किसिमका कृषि सामग्री, बिउहरू निःशुल्क प्रदान गर्दै आएको छ । साथै विभिन ठाउँमा रहेका विभिन्न संस्थाले निःशुल्क सुँगुरका पाठा, हाँसका चल्ला, कुखुराका चल्ला आदि प्रदान गर्दै आएको छ । महिलाहरूको सीप र क्षमतालाई विकास गर्न स्थानीय सरकारले धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

समस्याहरू र चुनौती

महिलाहरू विभिन्न उद्यममा लाग्दा अथवा लाग्दै गर्दा विभिन्न समस्याहरू भोग्दछन् । यद्यपि व्यवसाय भनेको नाफा कमाउनका निम्ति नै गरिन्छ । तर, महिलाहरू उद्यम गर्छु भन्दै गर्दा परिवारको साथ उत्तिकै अनिवार्य छ । अहिलेको अवस्थामा परिवारले सहजै रूपमा साथ दिइरहेको छ त ? परिवारले साथ नदिँदा महिलाहरूको निर्णय प्रक्रियामा बाधा पुग्न सक्छ । जसले गर्दा उनीहरूले बनाएका योजनाअनुसारका काममा धेरै नै अवरोध आइपर्दछ । कुनै पनि काम गर्दा यदि परिवारको साथ भएन भने केही काममा पनि सफलता पाउन मुस्किल पर्दछ । परिवारको साथसँगै आर्थिक पक्ष पनि उत्तिकै आवश्यक हुन्छ महिलाहरूले उद्यम गर्न । त्यसैगरी सरकारले के कस्ता रणनीति बनाएका छन् भन्ने विषयमा पनि धेरै महिलाहरू अनभिज्ञ छन् । जसले गर्दा व्यवसायमा सरकारी निकायबाट धैरै नै समस्याहरूसँग टक्कर खानुपर्दछ र व्यवसायलाई त्याग्नुपर्ने स्थिति पनि सिर्जना हुन सक्दछ । 

बजार रणनीतिको बारेमा पर्याप्त मात्रामा ज्ञान नहुँदा पनि महिला उद्यमीहरूलाई विभिन्न समस्याहरूसँग जुध्न बाध्य बनाउँछ । कुनै महिलाहरूको कौशल सोच र सृजनात्मक योजनाहरू विभिन्न अप्ठ्यारा परिस्थितिले अघि बढ्न पाउँदैन । महिलाको नाममा घरजग्गा नहुँदा धितो राख्न समस्यासमेत भइरहेको छ । बजारमा ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसक्नुले पनि साथै आफ्नो कौशल सीपको विकास गर्न नसक्नुले पनि महिलाहरूलाई उद्यमी हुनबाट पछि धकेलिरहेको अनुमान लगाउन सकिन्छ । 

न्यूनीकरणका उपायहरू

माथि उल्लेखित समस्याहरू र चुनौतीहरूलाई न्यूनीकरण गर्न महिलाहरूले विभिन्न उपायहरू अपनाउनु पर्दछ । उनीहरूसँग व्यवसायमा लाग्ने इच्छा शक्ति छ भने उसले विशेषगरी पारिवारिक साथै सामाजिक सम्बन्ध राम्रो बनाउनु पर्दछ । जब सम्बन्ध राम्रो बन्छ, तब मात्र आफूले गर्ने काममा पारिवारिक साथ र हौसला मिल्दछ । नेपाल सरकारले साथै विभिन्न सङ्घ–संस्थाले विभिन्न किसिमका सीपमूलक तालिमहरू निःशुल्क प्रदान गर्दै आएको छ । यस किसिमका तालिमहरूमा सहभागी भएर आफ्ना जिज्ञासाहरू राख्ने, सरकारी व्यवस्थाहरू बुझ्ने हो भने पनि ज्ञान प्राप्त गर्न सकिन्छ । कुनै काम गर्दा अप्ठ्यारो हुन्छ, आफूलाई असहज हुन्छ, थकान हुन्छ, त्यतिबेला पनि आफ्नो कामप्रति आफैले प्रोत्साहन गर्नुका साथै हौसला बढाउनु पर्छ ।

अहिलेको समयमा कुनै पनि व्यवसाय गर्न प्राविधिक ज्ञान आवश्यक पर्दछ किनभने अहिलेको समयमा उद्योग सञ्चालन गर्दा अथवा व्यवस्थापन गर्दा धेरै कागजात बनाउनु पर्ने हुन्छ । विभिन्न उपकरणहरू प्रयोग गर्नुपर्ने हुन्छ । विभिन्न सहकारी संस्था, स्थानीय सरकार साथै बैङ्कले सुलभ ब्याजदरमा विशेषगरी महिलाहरूलाई मध्यनजर गर्दै सुलभ ब्याज दरमा ऋण प्रदान गर्दै महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ । साथै महिला उद्यमशीलतामा विकास गर्न बनाइएका योजना सम्पूर्ण जनसमुदाय माझ पु¥याउनु पर्दछ । कहिलेकाहीँ विभिन्न किसिमका आक्षेपहरू लाग्ने गर्दछ । नकारात्मक कुराहरू उत्पन्न हुन्छन् र त्यस्ता नकारात्मक कुराहरूलाई पनि सकारात्मक किसिमले सोच्ने र त्यही किसिमको अभिव्यक्तिको विकास गर्नु पर्दछ । 

जुनसुकै व्यवसाय अँगाल्दा पनि महिलाहरूले विशेषगरी आफू के गर्दैछु भन्ने बारेमा सचेत हुनुपर्दछ । नैतिक ज्ञान, आचरण, स्वभाव सम्पूर्ण कुराहरूको चेतना हुनुका साथै बजारीकरण गर्दा कस्ता किसिमका रणनीति अपनाउँदैछु भनेर पनि चेतना हुनु आवश्यक हुन्छ । व्यवसाय थालनी गर्दा सुरुमा उचित योजना बनाउनुपर्छ र योजनालाई सार्थकता दिनुपर्छ । 

देशभरका महिलाहरूले आफ्नै पहलमा धेरै व्यावसायिक उद्यमहरू सुरु गरेका छन् । यो समय महिलाहरूको उद्यमशीलतामा उनीहरूका लागि लचिलो कार्यस्थलहरू प्रदान गर्न ठूला कदमहरू चाल्ने समय हो । महिलाहरूले सञ्चालन गर्ने व्यवसायमा पुरुषले पनि साझेदारी गर्न सक्नुपर्छ । उद्यमशीलतामा महिलाको सहभागितालाई प्रोत्साहन गर्नु पर्दछ किनकि यसले बढी अवसरहरू मात्र होइन, समावेशी वृद्धिलाई सुनिश्चित गर्दछ । यसले उच्च दिगो आर्थिक वृद्धि, रोजगारी हासिल गर्न र जीवनस्तर वृद्धि गर्न मद्दत गर्नेछ ।