केही साता पहिला काठमाडौंलगायत प्रमुख सहरमा बैतडी घटनाको निष्पक्ष छानबिन र महिला हिंसाको विरोध गर्दै युवाहरू बोलिरहेका थिए । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा युवाहरूले सरकार र व्यवस्थाविरुद्ध सधैँजसो आक्रोस पोखिरहेको देखिन्छ । महिला, दलित र अल्पसङ्ख्यकमाथि हुने हिंसा एवम् भ्रष्टाचारको अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै हजारांै युवा समय–समयमा सडकमा उत्रिरहेकै छन् ।

हरेक पटक युवाहरू स्वतःस्फूर्त सडकमा उत्रिँदा मूलधारको नेपाली राजनीति र समाज दुई धारमा विभाजित हुन्छ । पहिलो सत्तापक्ष, जो आरोप लगाउँछ । यी युवाहरू कसैबाट परिचालित छन् । यिनीहरू गणतन्त्रविरोधी हुन् र यिनले देशको स्थायित्व खल्बल्याउने तत्वलाई साइबरसेनादेखि आफूले भए, पुगेसम्मको स्रोत र शक्तिको प्रयोग गर्न पनि पछि पर्दैन । दोस्रो प्रतिपक्षलगायत सत्ताको खबरदारी गरिरहनेहरू, जो यस्ता आन्दोलनको समर्थन गर्दै वक्तव्य निकालिरहेका हुन्छन् । यस्ता आन्दोलनको अपनत्व ग्रहण गर्छन् । यिनीहरू आफू सत्ता र शक्तिमा रहँदै गर्दा पनि युवाहरू सडकमै आन्दोलन गर्दै थिए भन्ने भुसुक्कै भुल्छन् ।

नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला तर, हरेक आन्दोलनपछि युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिए । खोला तर्न युवाहरूको उपयोग सबैले गरे तर, तिनीहरू के चाहन्छन् ? के सोच्छन् ? र उनीहरूका मुख्य मुद्दा के–के होलान् भनेर सायद कसैले ध्यान दिएनन् ।                       

 यसरी युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु नै हो । केन्द्रीय तथ्याङ्क विभागको २०२० का लागि नेपालको अनुमानित जनसङ्ख्यामध्ये १५ देखि ४० वर्ष उमेर समूहका युवाहरू कुल जनसङ्ख्याको ४५ प्रतिशत छन् । मूलधारको राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेतृत्व खोज्नचाहिँ दिउँसै टुकी बाल्नुपर्ने अवस्था छ । ५०–५२ वर्षका काका उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्क्रंदै गरेको युवापुस्ताले आफ्नो नेता मान्न सकिरहेका छैनन् । त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन् ।

पछिल्लो १० वर्ष नेपालमा हाम्रो कुरा बुझ्ने, हामीलाई कुरा बुझाउने र मूलधारको नेतृत्व एवम् युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ । यही खडेरीका बीचमा नेपालमा एउटा पुस्ता ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्कियो । अहिले सामाजिक सञ्जाल, माइतीघर मण्डला अनि बालुवाटारतिर रचनात्मक रूपमा राजनीतिक व्यवस्था र सत्ताको विरोधमा उत्रिने युवा त्यही पछिल्लो पुस्ता हो । मोफसलको युवापुस्ताले पनि यही लय पछ्याउँदै गरेको देखिन्छ ।

मूलधारको नेपाली राजनीतिमा यो पुस्ताको प्रतिनिधित्व खासै छैन । यिनीहरू के चाहन्छन्, यो पुस्ताको महत्वकाङ्क्षा के हो ? यिनीहरू कस्तो भविष्यको कल्पना गर्दै छन् ? भन्ने कुराको हेक्का न नीति निर्माताले राखेका छन्, न त आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवा गर्न राजनीतिमा लागेका हौँ भन्नेहरूले नै हेक्का राखेका छन् । अरूद्वारा परिचालित, कुरै नबुझी आन्दोलनमा लागेको, समय कटाउन र सामाजिक सञ्जालमा तस्बिर भर्न मात्रै यसरी सडकमा उत्रेको आरोप युवाहरूमा लाग्ने गरेको छ । यसो हुनुको मुख्य समस्या नेपालमा परिपक्व युवा नेतृत्वको अभाव हुनु हो । नेपाली राजनीतिमा सक्रिय युवापुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुट उपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’ हरूकै स्तुति गान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । 

अहिले युवाहरू यस्तो सोच्दै छन्, हाम्रा मुद्दा यी–यी हुन्, हामीले यस्तो भविष्यको परिकल्पना गरेका छौँ भनेर युवाहरूले मूलधारको नेतृत्वलाई सुनाउने अवसर बिरलै पाउँछन् । कहलिएको युवा नेतृत्व पनि बहुसङ्ख्यक नेपाली युवाहरूको पहुँचबाट टाढै छ । युवा पुस्तासँग भोलिको परिकल्पना साकार पार्ने अवसर कम छ । तिनलाई सुनिदिने र उनीहरूका कुरा गम्भीर रूपमा लिइदिने राजनीतिक नेतृत्व बिरलै छ ।

युवा नेतृत्व परिपक्व नहुनुको दोष कसलाई दिने ? धेरैजसो यसको दोष युवा र विद्यार्थी राजनीतिमा लागेका युवा नेताहरूले नै पाउने गरेका छन् । अहिले युवा नेतृत्व सङ्कटमा पर्नुका पछाडि लामो समय युवा नेतृत्व उत्पादन गर्न विद्यार्थी सङ्गठनलगायत अन्य भातृ सङ्गठनहरू चलाएका ४५–५० वर्ष उमेर समूहका चल्तीका यी युवा नेतृत्व पक्कै भागीदार छन् । २०६२÷०६३ सालमा युवा हुँदा उदाएको यो पुस्ता अहिले उमेरले ५० टेक्न लाग्दै गर्दा आफूलाई युवाहरूको प्रतिनिधि भन्दै उभ्याउन अलिकति पनि लाज मान्दैनन् । ०६२÷०६३ पछि नेपालमा युवा नेतृत्वको पुस्तान्तरण भएन ।

स्थापित युवा नेतृत्वले आफूपछि आउने पुस्तालाई मार्गनिर्देशन गर्न चुक्यो र त्यो सिलसिला आजसम्म पनि जारी छ । तत्कालमा युवा नेतृत्वको सङ्कटजस्तो मात्रै देखिए पनि भविष्यमा नेपालको मूलधारको राजनीतिको नेतृत्व गर्ने गरी एउटा जमात यसरी नै तयार हुँदैछ । कमरेडहरूको कृपा रहिरहने हुँदा यो जमातले बाहिरबाट राजनीतिमा प्रवेश गर्न खोज्ने र यसमा गहिरो रुचि अनि इच्छा भएका नयाँ पुस्तालाई सहजै स्वीकार अवश्य गर्ने छैन । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।

वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि सङ्कट आउनु हो । यस्तो अवस्था आउँदैन भनेर बहस गर्न सकिएला तर, हाम्रो अहिलेको राजनीतिक संस्कारले इङ्गित गरेको भविष्य भने त्यही नै हो । राजनीतिमा आफ्नोबाहेक विकल्प नदेख्ने नेपाली राजनीतिक नेतृत्वले आफूपछिको पुस्ता तयार पार्न त चुक्यो नै, गलत राजनीतिक संस्कारलाई बढावा दिँदै भविष्य पनि अनिश्चित राखिदियो । डरलाग्दो विषयचाहिँ पहिलो पुस्ताको अवसानपछि आउने अर्काे पुस्ता पनि आफ्नोबाहेक विकल्प नदेखी आउँदै छ ।

‘युवाहरू नेतृत्व गर्न सक्दैनन्’ भन्दै गर्दा युवा नेतृत्व यस्तो अवस्थामा आउनुका कारण पनि विचार गर्ने कि ? के नेपाली राजनीति अनि समाजले २५–३५ वर्षका सङ्घीय सांसद् स्वीकार गर्न सक्ला ? हामीले युवा नेतृत्व तयार गर्न केही गरेका छौं ? भ्रातृ सङ्गठनमा गुट÷उपगुट चलाउने, आन्दोलन र मोटरसाइकल ¥याली गर्नेबाहेकका अन्य पार्टी एवम् संस्थागत जिम्मेवारी युवाहरूलाई हाम्रो राजनीतिक नेतृत्वको कहिले परीक्षण ग¥यो ? राजनीतिमा आफ्नो क्षमताको परीक्षण गराउन युवा कहलिएका नेतृत्वले ५० वर्ष उमेर कटाउनै पर्ने हो ? राजनीतिबाहेक अन्य क्षेत्रमा युवाहरूले क्षमता प्रस्तुत गरेर आफूलाई प्रमाणित गरेका थुप्रै उदाहरण हामीसँग छन् ।

राजनीतिबाहेकका अन्य क्षेत्रमा युवाहरूले अवसर पाएकै कारण आफूलाई प्रमाणित गरेका हुन् । नेपाली युवाहरूमा राजनीति, राजनीतिक दल र नेतृत्वप्रतिको वितृष्णा जगाउने एउटा प्रमुख कारण यो पनि हो । युवा नेतृत्वको कुरा गर्दै गर्दा हाम्रो समाज अनि सामाजिक संस्थाहरूले युवा राजनीतिलाई कसरी लिन्छन् भन्ने अर्को महत्वपूर्ण विषय हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई खोजी गर्दा गर्दै आफ्ना छोरा वा भाइ भतिज भने सकेसम्मको राजनीतिबाट टाढै बसोस् भन्ने लाग्छ । हाईस्कुलसम्मको पढाइमा राजनीतिलाई नकारात्मक रूपमा चित्रण गरिन्छ । विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइएको हुन्छ, अनि परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै रहिरहन्छ ।

देशमा युवा नेतृत्वको आवश्यकता बोध न राज्यले गरेको छ, न त समय–समयमा युवाहरूलाई प्रयोग गरेर माथि उठेका राजनीतिक दल अनि नागरिक समाजले नै, न हाम्रा विश्वविद्यालय र हाम्रो सामाजिक संरचनाले नै, हामीले अहिले भोगेको युवा नेतृत्वको संकटको मूल जरो यही नै हो । नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरेर पनि राजनीतिमा असल लोकतान्त्रिक संस्थाको जग बस्न नसक्नु हाम्रो तीतो यथार्थ हो । सक्षम र परिपक्व युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा हामीले युवाहरूलाई जिम्मेवारी दिँदै परीक्षण गर्नु जरुरी छ । अहिले युवाहरूले राजनीतिमा आफ्नो स्थान आफै खोज्दै छन् । समय–समयमा हुने रचनात्मक आन्दोलनहरूमार्फत् युवाहरू आफैले मूलधारको राजनीतिसँग संवाद र सहकार्यको आह्वान गर्दै छन् । अहिले पनि हामीले युवा नेतृत्व निर्माणमा लगानी गरिएन, युवाहरूलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरिएन भने हामी युवा मात्रै होइन, सक्षम राजनीतिक नेतृत्व नै सङ्कटमा पर्ने निश्चित छ ।

(लेखकः इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन् ।)