विजयपुर। भकारी स्कुल’ भनेर चिनिने धरान–१६ को पञ्चायत आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म जम्मा ५२ जना विद्यार्थी छन् । त्यसमध्ये कक्षा ६ देखि ८ सम्म १२ जना मात्रै विद्यार्थी छन् ।

धरान–२० स्थित सुलिकोट आधारभूत विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत छन् । धरान–२० कै सूर्योदय आधारभूत विद्यालयमा झन् २१ विद्यार्थी छन् । धरान–५ को जनता आधारभुत विद्यालयमा ४० विद्यार्थी छन् । धरानका आधारभूत तहका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको यही तथ्याङ्कले पुष्टि गर्छ ।

विद्यार्थी सङ्ख्या घट्दै गएपछि सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा छन् । धरानमा मात्र होइन नेपालकै अधिकांश सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको छ भने निजी तथा संस्थागत विद्यालयमा भने विद्यार्थी सङ्ख्या अत्याधिक देखिन्छ ।

निजी तथा संस्थागत विद्यालयमा छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई मात्र प्रवेश गराइन्छ भने सामुदायिक विद्यालयमा आह्वान गर्दा पनि विद्यार्थी सङ्ख्या घट्दै गइरहेको छ । सामुदायिक विद्यालयहरूको व्यवस्थापन पक्ष फितलो हुँदा यस्तो समस्या बढ्दो छ ।

व्यवस्थापन सुधार गरिएका धरानकै केही सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप बढ्दो छ । धरान–१२ को पब्लिक हाईस्कुलमा यस वर्ष मात्र ४ सय ५० जनाभन्दा बढी विद्यार्थी निजी विद्यालयबाट आएको प्रधानाध्यापक इन्द्रमोहन झा बताउँछन् । ‘विद्यालयको गुणस्तर सुधार गर्नका लागि विद्यालय टिम विद्यालयप्रति समर्पित हुनुपर्छ’ उनी भन्छन्, ‘शिक्षक अभिभावक र विद्यार्थी समर्पित हुनुपर्छ ।’

उनले सामुदायिक विद्यालयमा गरिब विद्यार्थी मात्र पढ्छन् भन्ने कुरा हट्दै गएको बताए । धरान–५ को हिमाली माविमा पनि गत वर्षभन्दा विद्यार्थी बढ्दै गएका छन् । यसको कारण विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुन्छ । धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रत्न कट्वाल भने गत वर्षको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थी वृद्धि भएको बताउँछन् ।

तर विद्यालयहरूको क्षमताअनुसार विद्यार्थी सङ्ख्या नभएको भने स्वीकार गर्छन् । उनले अभिभावक सचेत नहुँदा पनि विद्यार्थी सङ्ख्या घट्दै गइरहेको बताए । सचेत अभिभावकले सामुदायिक विद्यालयमा अध्ययन गराउने हो भने विद्यार्थी सङ्ख्या वृद्धि हुने उनको बुझाइ छ ।

‘जुन विद्यालयमा शुल्क धेरै छ, सो विद्यालयमा शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने अभिभावकको गलत बुझाइ हट्नु पर्छ, त्यसपछि विद्यार्थी सङ्ख्या बढ्छ’ उनले भने । उनले सामुदायिक विद्यालयका शिक्षकहरू दक्ष भए पनि अभिभावकले नै विश्वास नगरेको बताए । उनी भन्छन्, ‘अभिभावककै कारण शैक्षिक व्यवसायमा वृद्धि भएको हो, जसले अभिभावक नै मारमा परेका छन् ।’

त्रिभुवन विश्वविद्यालयका शिक्षा सङ्कायका उपप्राध्यापक बालचन्द्र कट्टेल नेपालकै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गइरहेको बताउँछन् । विद्यार्थी सङ्ख्या घट्नुमा मुख्य गरेर अभिभावकको अङ्गे्रजी भाषाप्रतिको मोह रहेको उनको धारणा छ । प्रधानाध्यापकले गुणस्तर सुधारका लागि पहल गर्न नसक्दा गुणस्तर खस्किएको र विद्यार्थी सङ्ख्या घटेको उनको बुझाइ छ । उनले भने ‘प्रधानाध्यापकले शिक्षकलाई काम दिन सक्नु पर्छ तर, धम्काएर होइन ।’