जनताको मतलाई भर्याङ बनाएर मन्त्री, प्रधानमन्त्री बनेकाहरूले आफूलाई जिताउने जिल्लावासीप्रति कति न्याय गरेका होलान् ? जहाँबाट जितेर पदासिन भएको हो, त्यहीँका लागि मात्र गर्नुपर्छ भन्ने होइन । तर, आफूलाई जिताउने, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति बनाउने जिल्लाका मतदाताप्रति आभार व्यक्त गर्ने माध्यम् भने कायम गर्नुपर्छ भन्ने चाहना सबैको हुन्छ । यस सन्दर्भमा सुनसरी जिल्ला मुलुककै सबैभन्दा अभागी जिल्ला हो । जबकी नेपाली राजनीतिक इतिहासमा सुनसरीलाई नेता, मन्त्री र प्रधानमन्त्री उत्पादन गर्नमा उर्वर भूमि मानिन्छ । सुनसरीले कम्युनिष्ट प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्री मात्र बनाएको छैन, काङ्ग्रेस प्रधानमन्त्री र उपप्रधानमन्त्री, मन्त्रीहरू उत्पादन गरेर मुलुककै शासनको बागडोर सम्हाल्न पठाएको छ । तर, पनि सुनसरी सिर्फ मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री उत्पादन गर्ने कारखाना स्थलमात्र सावित भएको छ। नेताहरू शासक बनेपछि आफूलाई पद र कुर्सी दिलाउने जिल्ला र मतदातालाई बिर्सिएको पीडा सुनसरीसँग छ । ०५१ को मध्यावधि निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर १ धरानबाट मनमोहन अधिकारीले जितेपछि नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने । तर, उनले सुनसरीलाई बिर्सिए । ५ पटकसम्म देशको प्रधानमन्त्री बनेका नेपाली राजनीतिका शीर्षपुरुष गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सुनसरीकै निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए । स्वर्गीय कोइरालाले सुनसरी क्षेत्र नम्बर ४ बाट २०४८, ०५१ र ०५६ सालमा चुनाव जितेका थिए । 

२०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादव पनि सुनसरी क्षेत्रनम्बर ५ बाटै पटक–पटक मन्त्री र उपप्रधान मन्त्री भए । सुनसरी ४ बाट उदाएका ज्ञानेन्द्र कार्की ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएर अर्थमन्त्रीसमेत भए । त्यसो त सुनसरीबाटै उदाएका विजयकुमार गच्छदार पटक–पटक उपप्रधानमन्त्री भए । भीम आचार्य पर्यटन मन्त्री भए । मीन विश्वकर्मा वाणिज्य मन्त्री भए । रामकुमार सुब्बा पनि भूमिसुधार मन्त्री भए । पञ्चायतकालमा कृष्णकुमार राई सञ्चार राज्यमन्त्री भए । अरू पनि धेरै जना सुनसरीको कोटामा मन्त्री भएका छन् । मतदाताको मत पाएर पद र कुर्सी पाए तर, पद र कुर्सी दिलाउने मतदातालाई भने उनीहरूले बिर्सिए । एउटा सामान्य मान्छे नेता, मन्त्री भएपछि उसको मनमस्तिष्क यसरी परिवर्तन हुन्छ ? अन्य कतिपय मुलुकका नेता, मन्त्रीहरूको मनमष्तिस्क मतदाताले लगाएको गुणप्रति सहजै परिवर्तन भएको पाइन्न । नेपालमै मात्र बढी पाइन्छ । तर, यो प्रवृत्ति स्वयम् नेपालले उत्पादन गरेको भने होइन । भारतीय राजनीतिमा अनौठो काण्ड भइरहने विहारबाट सिकेको हो, आफूलाई जिताएर पद र कुर्सी दिलाउने मतदाताको अपमान गर्ने प्रवृत्ति । पक्कै पनि आफ्नो क्षेत्रमा केही गरौं, जनतालाई खुसी बनाऔं, उनीहरूबाट आशिर्वाद लिऔं भन्ने त सोचेका थिए होलान् । तर, ती सबै सुनसरी खोलामा बगे । नेता र मन्त्री, प्रधानमन्त्रीहरूप्रति सुनसरीका सर्वसाधारण मतदाताहरू यति निराश छन् कि विश्वास नगर्ने अवस्थामा पुगेका छन् । गुमेको विश्वास फर्काउन अहिले जीवितै रहेका घमण्डी नेता, मन्त्रीहरूले आफ्नो घमण्ड र अहङ्कारलाई काठमाडौंमै छाडेर सुनसरीका मतदातालाई सार्वजनिक रूपमा एक पटक माफी माग्नु जरुरी छ । सुनसरीलाई सत्ताको भ¥याङ बनाएका नेता, मन्त्रीहरूले मतदाताप्रति गम्भीर बन्नु पर्ने देखिन्छ । अब फेरि पनि अर्को चुनाव आउन सक्छ, त्यसबेला जनताको मत ठग्ने नेता, मन्त्रीहरूले पुर्पुरोमा हात राख्नुपर्ने दिन पनि आउन सक्छ भनेर अग्रिम सोच्नु उचित हुनेछ । चेतना भया ।