प्राचीन याक्थुङ लाजे (लिम्बूवान) मा बसोबास गर्ने समुदायलाई याक्थुङ लिम्बू समुदाय भनिन्छ । यो समुदाय आफ्नै भाषा, लिपि, धर्म संस्कृति भएको एक उन्नत समुदाय हो । यो समुदायकोे एक भिन्न प्रकारको सामाजिक, धार्मिक र सांस्कृतिक बिशेषता रहेकोे छ । यसलाई याक्थुङ सभ्यता भनिन्छ । तर बर्तमानमा यो अवस्था छैन । आफ्नो धर्म संस्कृतिलाई छोडेर अन्य जाति तथा समुदायको धर्म संस्कृति अंगाल्ने तथाकथित परम्परा हाबी भएको पाइन्छ । सभ्य र सुसंस्कृत समुदायको धर्म संस्कृति अनुकरण गर्दा आफु पनि सभ्य र सुसंस्कृत हुने मान्यताका कारण हाम्रो समुदायको मानिसहरू क्रमिक रूपले हिन्दुकरण हुन् पुगेको पाइन्छ । तर यसरी अन्य जाति तथा समुदायको धर्म संस्कृति अंगाल्दा कुनै पनि हालतमा सभ्य तथा सुसस्कृति भइने होइन । आफ्नो मौलिक धर्म संस्कृति भनेको आफ्नो जन्म दिने आमा जस्तै हुन्छ । जस्तै लाटी, लङ्गडा वा बिरूप भएपनि आफ्नो आमा भनेको आफ्नै आमा नै हुन्छ । अर्काको आमा कदापि आफ्नो आमा हुँदैन । यसरी अर्काको धर्म संस्कृति अंगाल्नु भनेको अर्काको आमालाई आमा तुल्याउनु सरह हो । आफ्नो धर्म संस्कृतिमा भएका नराम्रा पक्षहरूलाई हटाएर होइन सुधार गरेर राम्रो सभ्य उन्नत किसिमको बनाउनु पर्छ । यो हाम्रो दायित्व अथवा कर्तव्य पनि हो ।

हामी याक्थुङ लिम्बू समुदायमा हिन्दु मत धारण गर्नु पर्ने कारणहरू बिभिन्न हुन सक्छ । त्यसमा पनि आन्तरिक र राज्य शक्तिको दवावको कारणहरू हुन् सक्छ । आन्तरिक कारण भनेको अन्य समुदायको धर्म संस्कृति सभ्य र सुसंस्कृति भएकोले आकर्षित भएर उतैतिर पलायन हुने झोले तथा कनिके प्रवृत्ति हो । अर्को तर्फ याक्थुङ लिम्बू समुदायमा राज्य शक्तिको दवावको कारण बाध्य भएर हिन्दु मत धारण गर्नु पर्ने अवस्था रहेको थियो । गोर्खा शाहबंशी हिन्दु शासकहरूले याक्थुङ लिम्बू समुदायमा बिभिन्न पक्षको माध्यमबाट हिन्दु धर्म लादेको इतिहास रहेको देखिन्छ। गोर्खा शाहबंशी हिन्दु शासकहरूले आफ्नो राज्य सत्ता मजबुत बनाउन उनीहरूले भाषिक, धार्मिक र साँस्कृतिक कोणबाट अतिक्रमण गरेका देखिन्छ । उनीहरूले प्राचीन याक्थुङ लाजे (लिम्बूवान) का बिभिन्न महत्वपूर्ण स्थलहरू, धार्मिक तथा मुन्धुमी स्थलहरू, पुरातात्विक तथा ऐतिहासिक स्थलहरू, नदी, पाहाड तथा गाउँठाउँका नामहरू क्रमिक रूपले हिन्दुकरण तथा पर्वतेकरण गर्दै लगे । त्यसमा पनि उनीहरूको मनुस्मृति बिधान बमोजिम याक्थुङ समुदायको नाम र याक्थुङ समुदायहरू उत्पत्तिकालदेखि वा प्राचीनकादेखि बसेको भूमिलाई किरात र लिम्बूवान भनी संस्कृतीकरण गरेको देखिन्छ । अहिले आएर यस बिषयलाई हो मा हो मिलाउनेहरू पनि हाम्रै याक्थुङ लिम्बू समुदायका केही बिद्धानहरू रहेका छन् । “ यो पङ्तीकारको विद्यार्थी जीवनमा आफ्नो मातृभाषा बोल्दा गैरलिम्बू बिद्यार्थी साथीहरूले हिंसा वा खिसी टिउरी गरेको प्रसंग र गैरलिम्बू बिद्यार्थी साथीहरूसँग भनाभन हुँदा लिम्बू, चितुवा, किरूवा तथा फाक्चे भनेर अपशब्द बोलेको वा गाली गलौज गरेको सधै याद आइरहन्छ ।“ यस प्रसंगलाई राम्ररी अध्ययन गर्दा किरूवा शब्द नै अपभ्रमंश भएर किरात शब्द बनेको हो भन्ने हाम्रा केही बिद्धान मित्रहरूलाई किरात शब्द गैरलिम्बूहरूले लिम्बूहरूलाई गाली गलौज गरेर संबोधन गरेको शब्द हो भनेर ज्ञात रहोस् । अब बिषय रहयो याक्थुङ लिम्बू समुदायहरूलाई कसरी हिन्दुकरण गर्दै लगियो भन्ने बिषयमा चर्चा गरौं ।

प्राचीन समयमा याक्थुङ लिम्बू समुदायमा आन्तरिक रूपले हिन्दु मत धारण गर्नुमा के कारण थियो त्यो आफैमा खोज अध्ययन र अनुसन्धानको बिषय रहेको छ । प्राचीन काल भन्दा अगाडि आद्यऐतिहासिक काल वा सिन्धुघाँटीको सभ्यता कालमा पनि याक्थुङ हाङ चत्तुले हिन्दु मत धारण गरेको थियो र पछि फेरी हिन्दु मत त्यागी पहिलेको आफ्नै मौलिक धर्म युमा साम्यो अंगालेको प्राचीन इतिहासमा उल्लेख भएको पाइन्छ, (मादेन र पतङ्वा, २०५८,पृ. ३९) । त्यसरी नै १४ औं शताब्दी तिर विजयपुर राज्यको स्थापना हुनु भन्दा अगाडि विजयपुर दक्षिण मोरङ प्रदेशमा लिम्बू साक्वादेन थरका राजा साङ्लाइङ् राजा राज्य गर्दै थिए । उनी पछि उनका छोरा पुङ्लाइङ् राजा भए । उनैले हिन्दु मत धारण गरेकाले हिन्दु पुरोहितहरूले उनको नाम अमर राय राखिदिए । त्यस समयदेखि अमर रायले हिन्दु मत धारण गरी धेरै समय उक्त मोरङ प्रदेशमा राज्य गरे । उनी पछि विजयपुर राज्यमा केही लिम्बू चौतारिया बाहेक बुद्धिकर्ण राय सम्मकाले हिन्दु मत धारण गरेका थिए, (चेम्जोङ, २०३१) । बुद्धिकर्ण रायको शासनकालमा नै दक्षिणमा गोरू खाने अंग्रेज र उत्तरमा सुँगुर खाने भोटे चीनीहरूबाट बची नेपाललाई असली हिन्दुस्थान बनाउने कुटिल नियतले गर्दा गोर्खा राजा पृथ्वीनारायण शाहले याक्थुङ लाजे (लिम्बूवान) माथी आक्रमण गरी युद्ध गर्न नसक्दा सम्झौताको नाममा बिभिन्न जालझेल र षडयन्त्रबाट याक्थुङ लाजे (लिम्बूवान) लाई नेपाल राज्यमा बिलय गराए । नेपाल राज्य एकिकरणको तथाकथित बाहनाको नाममा बिभिन्न कोणहरूबाट याक्थुङ लिम्बू समुदायको धर्म संस्कृतिमाथी अतिक्रमण गर्ने कार्यहरू भए । हिन्दु धर्म लादने काम भयो । जो यदपि जारी नै छ । उनैले याक्थुङ लिम्बू समुदायलाई हिन्दु चाडपर्वहरू जवर जस्ती लादिएका तथ्यहरू इतिहासमा पढ्न पाइन्छ ।

माबुहाङ, २०५४ का अनुसार उहाँले राजेन्द्र बिक्रम शाहको तसल्ली लालमोहरलाई आधार मान्दै उल्लेख गरेका छन कि, बिक्रम सम्बत १८३० ताका पृथ्वीनारायण शाहको गोर्खाली फौज र लिम्बूबिच भएको घमासान युद्धमा जीत, र त्यसपछि सम्झौता गरेर लिम्बूवान आधुनिक नेपालको मान चित्रमा एकिकृत भएको हो । लिम्बूहरूले बि. स. १८४३ देखि १८६१ सम्म दशै मान्दा राँगा काट्न (मार हान्न) बाध्य नभएको तर १८६२ सालदेखि हेमकर्ण थापा सुब्बाकै खटि आएका ब्याक्तिले मार काट्न बाध्य बनाएको, तत्कालिन राजामा काजी नरसिं थापा मार्फत बिन्ती चढाएको कुरा खुल्न आउछ । दशैंमा राँगा काट्न सुब्बा बुद्धिकर्ण थापाले कर लगाउनुको अर्थ के हुन्थ्यो? र अर्कोु कुरा लिम्बूहरूले राँगा काट्न नाममञ्जुर गर्नुको अर्थ के हुन्थ्यो, ( माबुहाङ, २०५४) ? विजयपुरका राजाहरूले याक्थुङ हाङहरूलाई दिएको सुब्बाङ्गी तथा राजनैतिक अधिकारलाई गोर्खा शाहबंशी हिन्दु शासकहरूले उक्ता सुब्बाङ्गी प्रथालाई निरन्तरता दिने नाममा याक्थुङ लिम्बू सुब्बाहरूलाई हिन्दु चाड दशैं अनिवार्य रूपमा मान्न लगाउनु चाडपर्वको नाममा नजानिँदो तरिकाले हिन्दुकरण गरेको प्रष्ट देखिन्छ । त्यसरी नै यङ्याङ् सुब्बाहरूले तत्कालिन राजा रणबहादुर शाहसँग हातहतियार माग्न जाँदा राजा रणबहादुरले हातहतियारसँगै दशै संस्कृति पनि पजनी गरेको र त्यसो गर्नुको अर्थ हिन्दु आर्य संस्कृतिमा शक्तिको प्रयोग शत्रुमाथिको बिजय प्राप्ती केवल भौतिक बस्तुको प्रयोग मात्र नभई दैविक शक्तिको आत्मबलको त्यत्तिकै आवश्यक पर्ने भएकोले सुब्बाहरूलाई हातहतियार सहित दशै मान्न नगरा निशानी बोकाएर पठाएका हुन् भन्न सकिन्छ, (माबुहाङ, २०५४) । अर्को बिश्लेषण के छ भने, हस्तपुरका राजा हिलिहाङका छोरा मुसेनहाङको पालामा फालेलुङ र चिवा भञ्ज्याङको नाका हुँदै सम्भावित तिब्बत र सिक्किमबाट आक्रमण हुन सक्ने डरले यसलाई रोक्न यङ्याङहरूलाई तरवार, बन्दुक, खुँडा, सिसाको गोली, शक्तिको प्रतिक किरातेश्वर खड्ग निशान र महाकाली देविको ढुङ्गाको मुर्ति सम्झौता पश्चात यङ्याङ् प्रतिनिधिहरूलाई कान्तीपुर झिकाई प्रदान गरी पठाए । सो महाकालीको मुर्तिलाई डोलीमा बोकी पञ्चेबाजासँग हस्तपुरमा ल्याई बिधिवत् स्थापना गरे । जो अद्यावदि पूजिँदै आएको छ । मूर्तिको आकार अगाडिबाट हेर्दा नाक कान भएको र पछाडिबाट हेर्दा सर्पको फना (गोमन सर्प फुल्लिएको अवस्था) उठाएर बसेको जस्तो देखिन्छ, (फक्ताङलुङ्, २०७१) । यसरी गोरक्षक तथा गुरू गोरखनाथका अनुयायी गोर्खा शाहबंशी हिन्दु शासकहरूले उनीहरूको हिन्दु धर्ममा आधारित दशैं चाड मान्न याक्थुङ लिम्बू समुदायका यङ्याङहरूलाई बाध्य तुल्याएको थियो । दुर्भाग्यको कुरा के छ भने यङ्याङ् पुर्खा बागदलले बि. स. १८३९मा दशै लिम्बूवानको पाँचथरमा बिधिवत रूपले भित्र्याएको भन्ने दुःखद बिषय रहेको छ । पुर्खाले गरेको प्रचलन मान्नु पर्छ भन्ने मान्यताका कारण अझै पनि दशैमा मार हान्ने तथा मौलो पूजा गर्ने संस्कृति पाँचथरमा अद्यावदि गर्दै आएको पाइन्छ । दशै चाडको माध्यमबाट हिन्दु धर्म गोर्खा शाहबंशी सरकारले याक्थुङ समुदायहरूलाई लादेको संस्कृतिको अवशेषहरू अझै नै रहेको छ । याक्थुङ हाङ सुब्बाहरूले दशै अनिवार्य रूपमा मान्नु पर्थ्यो । अनिवार्य मौलो पूजा गर्नु पर्थ्यो । मौलो पूजा गरेर मार हानेर उक्त मारहानेको जनावरको रगतको पञ्जा छाप दैलोको दाँया बाँया साइडमा हुनु पर्थ्यो, नत्र उक्त सुब्बाले कार्यबाही भोग्नु पर्थ्यो । दशै सकिएपछि जै गोरखनाथ भन्दै जोगीको भेषमा शाहबंशी सरकारको जासुसहरू सुब्बाको घर घरमा आउथे । त्यती मात्र नभएर पुलिसहरूले पनि अनुगमन गर्थे ।

यतिले मात्र नभएर गोर्खा शाहबंशी हिन्दु शासकहरूले याक्थुङ लिम्बू समुदायको परम्परागत धर्म संस्कृति नष्ट गर्न बिभिन्न नीति, नियम ऐन कानुन, संबिधान र कर लगाएर लिम्बूहरूलाई हिन्दुकरण गर्न बाध्य बनाएको थियो । धार्मिक रूपले “फुटाउ र शासन गर“ भन्ने रणनीति मुताबिक याक्थुङ समुदायलाई बिभिन्न लोभ लालच देखाई तथा सेनाको कमाण्डर बनाउने बहानामा याक्थुङ समुदाय नीति र सामरीतिमा बिभाजन गरे । आफ्नो परम्परागत धर्म संस्कृति मान्ने या नछोड्ने याक्थुङ लिम्बूहरू नीति भए र आफ्नो मौलिक परम्परा वा धर्म संस्कृति त्यागेर हिन्दु मत धारण गर्ने याक्थुङ लिम्बूहरू सामरीति भए । सामरीतिमा नलाग्ने याक्थुङ लिम्बूहरूले नीतिकर बापत पचास पैसा कर लगाइएको थियो । यही करको बोझले धेरै नीति मान्ने याक्थुङ लिम्बूहरू सामरीति भएका थिए । सामरीति तिर लाग्ने लिम्बूहरू मध्येमा मैवाखोलाका केदेम, याङवरकका थेवे र पाँचथरका यङ्याङ्हरू थिए । याक्थुङ लिम्बूहरूले बिभिन्न धार्मिक अनुष्ठान गर्दा गाई गोरू वलिदिने प्रचलन थियो तर गोर्खा शासकहरूले बिभिन्न तसल्ली तथा लालमोहरहरू जारी गाई गोरू मार्न खान नपाउने नियम कानुनहरू वनाउन थाले । गाई गोरू वलिदिएर पूजा अनुष्ठान त्यस समयमा राती मात्र गर्नु पर्थ्यो । दिउसो पूजा गरेमा गोर्खा शाहबंशी शासकहरूले पक्रेर थुन्थे । यसै कारणले गर्दा अझ पनि धेरै जस्तो याक्थुङ लिम्बू समुदायका धार्मिक अनुष्ठानहरू राती मात्र गर्ने अद्यावदि छदैछ । यसरी गोबध गरी मासु खाए बापत याक्थुङ लिम्बूहरूले थप २५ पैसा मेचकेन कर तिर्नु पर्थ्यो । यसै कारण पनि याक्थुङ लिम्बूहरूले गाई गोरूको मासु खान छोडे । थप कुरा के पनि छ भने अछुत जातिसँग घुलमिल भइयो भने एक छुट्टै चन्द्रयान कर तिर्नु पर्थ्यो, (लुम्फुङ्वा, २०७५) । उपरोक्त बिभिन्न करणहरूको कारण पनि याक्थुङ लिम्बू समुदायहरू आफ्नो मौलिक धर्म संस्कार बाध्यताबस् त्यागेर हिन्दु मत धारण गर्न बाध्य हुनु परेको थियो ।

राणा शासक जङ्गबहादुर राणाको पालनमा बि. स. १९१० मा जारी भएको मुलुकी ऐन पूर्णरूपमा हिन्दु शास्त्र मनुस्मृतिमा आधारित रहेको पाइन्छ । यो ऐनले हिन्दु बर्ण ब्यबस्थालाई जोडदार प्रसय दिएको देखिन्छ । यस ऐनले बिभिन्न जात जाति, अछुत जात, मासिने नमासिने मतवाली भनेर विभेदपूर्ण जातीय ब्यबस्था अंगीकार गरेको देखिन्छ । यस ऐनमा पादन्याको महल, नाल नरकीको महल, थुकुन्याको महल, ज्यानमाराको महल, गोबधको महलमा अत्यन्तै बिभेदकारी ब्यबस्था गरेको थियो, (लुम्फुङ्वा,२०७५) । राणाकालमा नै यो याक्थुङ लाजे (लिम्बूवान) का याक्थुङ लिम्बू समुदायहरू राणाहरूले जनाई लगाई दिने अभियान चलाएका थिए । तेह्रथुम, ताप्लेजुङका लिम्बूहरूले जनाई लगाउन स्वीकार गरे तर पाँचथरमा पुग्दा त्यहाँका लिम्बूहरूले जनाई लगाउन अस्विकार गरेका कारण २ मन जति जनाई तमोरमा बगाई पठाएको एक ऐतिहासिक तथ्य पनि रहेको छ । राणा कालमा नै याक्थुङ लिम्बूहरूलाई किरात भनेर संबोधन गरिएको र उनीहरू बसेको भूमिलाई किरात प्रदेश नामाकरण गरिएको भन्ने पनि रहेको छ । हिन्दु बर्णाश्रम ब्यबस्थाबाट परिचित राणा शासकहरूले यसरी जात पातको बारेमा कुनै ज्ञान नभएको याक्थुङ समुदायलाई मतवाली वा किरात भनेर संबोधन गरे । खासमा याक्थुङ लिम्बू समुदायमा हिन्दु बर्णाश्रम ब्यबस्था जस्तो कुनै जातिपाती ब्यबस्था नै छैन । याक्थुङ जाति होइन एउटा भोट( बर्मेली भाषा परिवारको एउटा समुदाय मात्र हो । त्यसरी नै राणाकालमा नै याक्थुङ लाजे (लिम्बूवान) का फल्गुनन्दले आफ्नो मातृ भाषाको माध्यमबाट हिन्दु जसमुनि धार्मिक पन्थको प्रचार प्रसार गर्ने क्रममा बिभिन्न षडयन्त्रका कारण राणाहरूमा उजुर पुगेर फल्गुनन्द गिरफ्तार भएर राणा सरकारमा पुग्दा हिन्दु जसमुनि धर्म प्रचार गरेका कारण आम माफी पाई बरू जसमुनि धार्मिक पन्थको जोडदार रूपले प्रचार प्रसार गर्न राणा सरकारहरूबाट लाईसेन्स समेत प्राप्त गरेको थियो ।

हिन्दुकरणको एउटा उदाहरण गोर्खा भर्ती केन्द्र पनि हो । गोर्खा भर्तिमा वा गोर्खा पल्टनमा पनि हिन्दु पुरहितहरूको दरबन्दी राखियो । बेलायत तथा भारतको गोर्खा पल्टनमा हिन्दु पुरोहित मार्फत पूजा पाठ गराउने, दशैको टिका लगाउने, मार हान्न लगाउने गर्दछन् । गोर्खा पल्टनमा पनि शिवरात्री, कृष्णजन्माष्टमी हिन्दु मन्दिरमा मनाउने गर्दछन् । त्यसको प्रभाव तत्कालिन पल्टनमा रहेका लिम्बू परिवारहरूमा पर्ने नै भयो र त्यसको अनुसरण नेपाल आएपछि सन्तान दर सन्तान हस्तान्तरण हुँदै गएको देखिन्छ, (लुम्फुङ्वा, २०७५) । यसरी गोर्खा पल्टनमा रहेर आएका याक्थुङ लिम्बू समुदायमा पनि हिन्दु धर्मको प्रत्यक्ष प्रभाव देखिन्छ । बि. स. २०२० सालको नयाँ मुलुकी ऐन तथा पंचायती संबिधान २०१९ ले पनि अझ झन हिन्दुकरणलाई प्रसय दिएको पाइन्छ । यस समयमा अझ याक्थुङ लिम्बू समुदायमा हिन्दुकरणले ब्यापकता पायो । पंचायत काल भरी एउटै भाषा, एउटै धर्म र एउटै संस्कृतिलाई प्रसय दिइयो । यस समयमा नै याक्थुङ लिम्बू समुदायको भूमि सम्बन्धिको हक तथा सुब्बाङ्गी प्रथाको षडयन्त्र पूर्वक अन्त्य गरियो । राज्यको सबै संरचनाबाट हिन्दुकरणलाई प्रचार प्रसार गरियो । हिन्दु हुनुको अर्थ नेपाली हुनु वा सभ्य हुनु वा सुसंस्कृत हुनु भन्ने एकल जातीय नारा स्थापित गरियो । पंचायतकालका जनगणनाहरूमा सबैलाई हिन्दु लेख्न लगाइयो । त्यसैले त्यस समयमा याक्थुङ लिम्बू समुदायलाई जानेर नजानेर वा बाध्य गराएर याक्थुङ लिम्बू समुदायलाई हिन्दुकरण गरिएको थियो, (लुम्फुङ्वा, २०७५) ।

बर्तमान अवस्थामा याक्थुङ लिम्बू समुदायमा महागुरू फल्गुनन्दको हिन्दु जसमुनि प्रभावित सत्तेहाङमा धार्मिक सम्प्रदायका कारणले पनि बढी मात्रामा हिन्दुकरण भएको पाइन्छ । लुम्फुङ्वा, २०७५, का अनुसार हिन्दु धर्मको प्रभावमा परेर महागुरू फल्गुनन्दले दश लिम्बूवानका बिभिन्न स्थाहरूमा मन्दिरहरू निर्माण गरी आफ्नो शिस्यहरूद्धारा नियमित रूपमा लिम्बू भाषामा मन्त्र उच्चारण गरेर धुपबत्ती जलाउने, पूजा पाठ गराउने, होम लगाउने आदी गराए । यिनीहरू हिन्दु पुरहित झै शंख फुक्ने, डमरू बजाउने तथा एकतारे बजाउने पनि गर्दछन् । लिम्बूहरूको परम्परागत कर्म काण्डमा यस्ता क्रियाकलापहरू देख्न पाइँदैन । त्यसैले अहिले पनि लिम्बूहरूमा सत्यहाङमा र हत्याहाङमा भनेर फरक फरक समुह देख्न सकिन्छ । हिन्दुहरू आफुलाई शाकाहारी देखाउने र मद्यपान नगर्ने जसले सामाजिक स्तर माथी देखाएको अवस्थामा लिम्बूहरूले पनि आफूलाई हिन्दुहरू झैको स्थानमा राख्ने मान्यताले सो कुरा अनुसरण गरेको देखिन्छ । महागुरू फल्गुनन्द स्वयं पनि हिन्दु जसमुनि साधु थिए भनेर भनिन्छ । उनका गुरू भारत, काशी, बनारशतिरका जसमुनि साधु मधुनन्द भन्ने गर्दछन् । त्यसैले फल्गुनन्द पन्थका हरेक कर्मकाण्डहरूमा हिन्दु धर्मको प्रत्यक्ष प्रभाव पर्न गएको देखिन्छ । अहिले आएर धेरै लिम्बूहरू फल्गुनन्द पन्थ (सत्यहाङमा) लागेको पाइन्छ । यसले हिन्दु संस्कृतिको प्रभावलाई हेर्न सकिन्छ । यसले लिम्बूहरूको खानपान र कर्मकाण्डहरूमा फरकपन आएको देख्न सकिन्छ । लिम्बूहरूमा हिन्दु धर्मको प्रभाव पर्नुमा हिन्दु धर्मको लचकता र एकाधिकार जमाउने पन पनि एक हो । हिन्दु धर्मले गौतम् बुद्धलाई बिष्णुको दशौं अवतारको रूपमा लिएको छ भने महागुरू फल्गुनन्दलाई पनि हिन्दु धर्मको गुरूको रूपमा लिई हिन्दु जागरण अभियानमा फल्गुनन्दको तस्विरलाई ब्यानरको रूपमा प्रयोग गरेको छ । यस्तो किसिमको धार्मिक षडयन्त्रहरूबाट पनि लिम्बूहरूलाई प्रभावित गरी हिन्दु धर्म अंगीकार गर्न लगाएको देखिन्छ, ( लुम्फुङ्वा, २०७५) ।

अन्तमाः बि. स. २०४६ साल पछि नेपालमा बहुदल आएर केही रूपमा मुलवासीरआदिवासीहरूको आफ्नो मौलिक धर्म संस्कृति मान्न तथा उल्लेख गर्न स्वत्रन्तता आएको थियो । तर बि. स. २०४६ सालको संबिधानमा धर्म निरपेक्षको ब्यबस्था थिएन । यसपछिका दिनहरूमा याक्थुङ लिम्बू समुदायको खास धर्म के हो भनेर बृहत छलफल तथा भेलाहरू नै नगरी याक्थुङ लिम्बू समुदायको धर्म किरात धर्म हो भनेर कियाचुले निर्णय गर्यो अहिले आएर याक्थुङ लिम्बू समुदायमा धर्मको बारेमा बिबाद छ । अहिले बर्तमान संबिधान २०७२ मा धर्म निरपेक्षको ब्यबस्था भएको हुँदा नेपालीले इच्छा लागेको जुनसुकै धर्म मान्न पाउने, धार्मिक संघ संस्थाहरू खोल्न पाउने ब्यबस्था गरेको छ । साथै गोर्खा शाहबंशी हिन्दु शासकहरू, राणाहरू र पंचायती शासकहरूले हिन्दु धर्म लादेको जस्तो परिस्थिति छैन । आफ्नो सनातनदेखि मानिल्याएको धर्म संस्कृतिहरू स्वतन्त्र पूर्वक मान्न पाउने, संरक्षण गर्न पाउने स्थिति छ । पहिले जस्तो आफ्नो मौलिक धर्म मान्न नपाउने जस्ता कुनै बाधा अडचनहरू छैन । त्यसैले हामी आम याक्थुङ लिम्बूहरू हाम्रो परम्परागत मौलिक धर्म युमा साम्योमा एकबद्ध वा गोलबद्ध होऔं । अबको राष्टिूय जनगणनामा धर्मको महलमा युमा धर्म उल्लेख गराऔं ।

सन्दर्भ सामग्री ः

१. ताप्मादेन, टिकाम्धोज र पताङ्वा, भुवनचन्द्र, (बि. स.,२०५८), किरात इतिहास र लिम्बू बंशावली संग्रहस झापा ।

२. चेम्जोङ, इमानसिं, (बि. स. २०५९), किरात कालिन विजयपुरको संक्षिप्त इतिहासस किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय ।

३. फक्ताङलुङ, (बि. स., २०७१), हस्तपुर यक र यङ्याङ् राजाहरूको संक्षिप्त इतिहासस रनु थलङ योङयाङ ।

४. माबुहाङ, बालकृष्ण, ( बि. स. २०५४), लिम्बूजातिको चाडपर्व एक बिश्लेषणस लेख ।

५. लुम्फुङ्वा, विजय, (बि. स.,२०७५), लिम्बूवान आन्दोलन (विकास क्रमः विगत र वर्तमान)स लिम्बूवान अध्ययन केन्द्र विजयपुर च्याप्टरका लागि श्रीमति आशा लिम्बू ।