कानेपोखरी। मोरङ कानेपोखरी गाउँपालिका–२ दलेलीस्थित शिक्षा विकास माविमा चिटिक्क परेको बुक कर्नर (किताब कुना) छ । फलामबाट निर्मित किताब कुनामा वेल्डिङ गरी ‘बुक कर्नर’ लेखिएको छ । तर, किताब कुनामा पुस्तक छैनन् । बरु विद्यार्थीहरू खेल्ने थलो बनेको छ । 

‘खै त बुक कर्नरको लागि आएका किताब ?’ भनेर जिज्ञासा राख्दा एक शिक्षकले भने, ‘अफिसमा बाकस छ त्यहीँ भित्र छ ।’ शिक्षक बस्ने कोठामा राखिएको हरियो बाकस खोलेर हेर्दा दुई दर्जन जति किताब भेटियो । मोरङको कानेपोखरी–२ दलेलीस्थित शिक्षा विकास मावि परिसरको किताब कुना खाली छ । शिक्षा विकास माविका प्रधानाध्यापक रूद्र निरौलाले गतवर्षदेखि बुक कर्नर सुरु गरिएको जानकारी दिए । उनले भने, ‘कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि किताबको व्यवस्था भएको छ ।’

किताबको व्यवस्थापन गरिएको भनिए पनि विद्यालयले मापदण्डअनुसार किताब कुनोको व्यवस्थापन गर्न भने सकेको छैन । विद्यालयमा कक्षा १२ सम्म पठन–पाठन हुन्छ । विद्यालयमा ६ सय ९ जना विद्यार्थी छन् । कक्षा ३ सम्म १ सय ७ जना विद्यार्थी छन् । स्कुलले ३ हजार ४ सय ४५ रुपैयाँमा १ सय ३३ वटा पुस्तक खरिद गरेको थियो । तर, अहिले तीन दर्जन मात्र पुस्तक बाँकी छन् । कतिपय पुस्तक विद्यार्थीले च्यातेको र हराएको विद्यालयले जनाएको छ । बजेट कम भएकोले तोकिएको मापदण्डअनुसार ¥याक र अन्य संरचना बनाउन नसएिको प्रअ  निरौलाको भनाइ छ । 

गत वर्षदेखि बुक कर्नर सुरु भएको कानेपोखरी गाउँपालिका–२ केरौनचौकमा अवस्थित बलदेव आधारभूत विद्यालयको हालत पनि उस्तै छ । शिक्षा विकास विद्यालयबाट करिब पाँच किलोमिटर उत्तरमा रहेको यो विद्यालयको बुक कर्नर सुगा राख्ने पिञ्जडा जस्तै  देखिन्छ । कक्षा ३ सम्मका विद्यार्थीको लागि किताब कुना बनाइएको छ । तर, किताब भने छैनन् । किताब राख्ने ठाउँमा विद्यार्थीले खाजा राख्ने टिफिनका भाँडा राखिन्छ ।

book

किताब भने कार्यालयको दराजमा थन्क्याइएको छ । सातामा दुई पटक बुक कर्नरका किताबबाट पढाइने गरेको शिक्षक सन्तोष भट्टराईले बताए । ‘कोभिडपछि भर्खर विद्यालय सञ्चालन भएको छ । कोर्ष पनि पूरा गर्नुपर्नेछ’ उनले भने, ‘त्यही भएर अहिले सातामा दुई पटक बुक कर्नरका बिताब पढाइ हुन्छ । विद्यालयमा १ सय २९ जना विद्यार्थी छन् । किताब कुनो पढ्ने ४१ विद्यार्थी छन् । 

जनता आधारभूत विद्यालयको अवस्था भने अलि फरक छ । कानेपोखरी गाउँपालिका वडानम्बर ४ बयरवन बजारमा अवस्थित विद्यालयमा कक्षा ३ सम्मका विद्यार्थीका लागि सुविधा दिइएको छ । प्रधानाध्यापक रमेश राउतका अनुसार बुक कर्नरका किताब प्रयोग गराउन शिक्षक देवी कार्की कोइरालालाई ‘फोकल पर्सन’ तोकिएको छ । उनले १, २ र ३ कक्षाका विद्यार्थीहरूलाई बुक कर्नर पढाउने गरेकी छन । सबै कक्षाकोठामा दराज छन् । त्यहाँ किताबको प्रबन्ध गरिएको छ ।

‘आएका किताबबाट पनि पढाउने गरिन्छ’ कार्कीले भनिन्, ‘विद्यार्थीहरूले कथा र कविता चाख लगाएर सुन्छन् ।कथा पढ्न नसक्नेलाई आफैले कथाहरू सुनाइदिन्छु ।’ अर्थ नबुझ्ने विद्यार्थीले आफूलाई सोध्ने गरेको कार्कीले सुनाइन् । कोरोना महामारीअघि दैनिक पठन–पाठन हुन्थ्यो । तर, अहिले कोर्ष पूरा गर्नुपर्ने भएकोले साताको बिहीबार र शुक्रबार मात्र पढाइन्छ । बुक कर्नर खुलेपछि विद्यार्थी रमाएको र त्यसले अतिरिक्त ज्ञान दिनसमेत मद्दत मिलेको शिक्षक कार्कीको भनाइ छ । 

कानेपोखरी–६ को जनसेवा माविमा भर्खर बुक कर्नरको लागि पूर्वाधार बनाउने तयारी गरिँदैछ । कोरोना प्रभावअगाडि बुर्क कर्नर सुरु भए पनि स्थानीय तहले विद्यालयमै क्वारेण्टाइन सञ्चालन गरिदिएपछि त्यहाँ बुक कर्नरको संरचना नै छैन । विद्यालय खुलेपछि मात्र पुस्तक खरिद गरेको जनसेवा माविका प्रधानाध्यापक दामोदर सिग्देलले जानकारी दिए । मोरङको कानेपोखरी गाउँपालिकाभित्र २३ वटा सामुदायिक विद्यालयहरूमा बुक कर्नर सुरु भएका छन् ।

तीमध्ये ८ मावि, ५ आधारभूत र ५ कक्षासम्म पढाइ हुने १० वटा आधारभूत (साविकको प्रावि) छन् । गाउँपालिकाको शिक्षा शाखाका संयोजक बेगबहादुर काफ्लेले बुक कर्नर सुरु भएका विद्यालयमा सकारात्मक प्रभाव परेको बताए । विद्यार्थी सङ्ख्याको आधारमा आर्थिक वर्ष २०७६÷०७७ मा कानेपोखरी गाउँपालिकाले १२ लाख ८७ हजार ९ सय रुपैयाँ बजेट निकासा गरेको छ । 

त्यसबाट विद्यालयले कक्षाकोठामा ¥याक–दराज, एक सेट पाठ्यक्रम, विषयगत शिक्षक निर्देशिका, पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री राख्नुपर्ने प्रावधान छ । तर, कानेपोखरी गाउँपालिकाभित्रका २३ वटा सामुदायिक विद्यालयमा सुरु भएको बुक कर्नरका लागि अधिकांश विद्यालयमा ¥याक र दराज मात्र भेटिन्छन् । पुस्तक भएकाले पनि सम्हाल्न सकेका छैनन् । अनुदान बुक कर्नरका लागि हो भन्ने कतिपय प्रधानाध्यापकले थाहै पाएका छैनन् ।

केहीले थाहा पाए पनि प्राथमिकता अन्यलाई दिएका छन् । केही विद्यालयले बुक कर्नर बनाए पनि मापदण्डअनुसार छैन । प्रभावकारी अनुगमन र सरकारी निकायहरूबीच समन्वय नहुँदा कार्यान्वयन फितलो देखिएको छ । बुक कर्नरको लागि आएको बजेट पनि विद्यालयले मनलाग्दी अन्य शीर्षकमा खर्च गरेको पाइएको छ । बुक कर्नरमा खर्च गरिनुपर्ने बजेट निजी शिक्षक तलब, विद्युत् महसुललगायतका अन्य विविधमा खर्च गर्ने गरेको भेटिएको हो ।

कानेपोखरी–६ रमाइलोस्थित जनसेवा माविका प्रअ दामोदर सिग्देलले बुक कर्नर प्रभावकारी हुन नसकेको तर्क गरे । उनले बुक कर्नर केही समय मात्र प्रयोगमा आएको बताए । उनले बुक कर्नरमा राखिएका सामग्री र विद्यार्थीको स्तर नमिल्दा समस्या भएको सुनाए । ‘एकै खालका बच्चा कक्षाकोठामा नबस्ने भएकाले बुक कर्नरका कारण समस्या छ । कक्षाकोठा साझा हुँदा त्यसले समस्या गर्दोरहेछ । आज राखेको किताब भोलि आउँदा नरहने, बच्चाको किताब हराइदिने हुँदोरहेछ’ उनले भने, ‘विद्यार्थीकै कारण किताबको सुरक्षा नहुने रहेछ । विद्यार्थी आफै सचेत भइदिए समस्या आउने थिएन ।’

विद्यार्थीलाई दोष देखाउँदै उनले भने, ‘बुक कर्नर आज बनायो, भोलि फुटाइदिन्छन् । कक्षाकोठा फरक–फरक गर्न नसक्दा त्यति प्रभावकारी हुन सकेको छैन ।’ शिक्षा विकास माविका प्रअ रुद्र कार्कीले भने, ‘सरकारले दिएको पैसा सबै बुक कर्नरमा खर्च गरेर त कहाँ हुन्छ ? निजी स्रोतका शिक्षकलाई तलब, बिजुली, पानी, टेलिफोन सबै कुरा त्यसैबाट गर्नुपर्छ ।’ बुक कर्नर प्रभावकारी भए पनि सबै कक्षामा व्यवस्था गर्न थप बजेट चाहिने उनले बताए ।

विद्यार्थीको सिकाइ सुधारका लागि अति आवश्यक भनेर सरकारले हरेक कक्षामा बुक कर्नर व्यवस्था गर्न बजेट पठाइरहेको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने न्यूनतम् पाँच सर्तमध्ये एउटा बुक कर्नर भएकाले यसमा अनुदान व्यवस्था गरेको कानेपोखरी गाउँपालिका शिक्षा शाखाका संयोजक बेगबहादुर काफ्लेले बताए । ‘हामीले हरेक वर्ष शिक्षण सिकाइ तथा बुक कर्नर व्यवस्थापनका लागि प्रतिविद्यार्थी लागत अनुदान पठाइरहेका छौँ’ –उनले भने ।

कानेपोखरी गापाले कक्षा ३ सम्म मात्र अनिवार्य बुक कर्नर हुनुपर्ने नियम बनाएको छ । ‘सङ्घले पठाएको अनुदानबाट १ देखि ३ कक्षामा अनिवार्य बुक कर्नर बनाउनुपर्ने नियम बनाएका छौं’ शिक्षा संयोजक काफ्लेले भने, ‘गाउँपालिकाभित्रका २३ वटा सामुदायिक विद्यालयमा बुक कर्नर व्यवस्था गरिएको छ ।’ जसमा उपयुक्त र पर्याप्त कक्षा कोठा, शिक्षक–विद्यार्थीको उपयुक्त अनुपात, समयभित्रै निःशुल्क पाठ्यपुस्तकको उपलब्धता र  कक्षाकोठामा पुस्तक कुना (बुक कर्नर) पर्छन् ।

बुक कर्नरलाई ‘विद्यालयको कक्षाकोठामा कम्तिमा ५० प्रकारका पूरक पाठ्यसामग्री राखिएको एक स्थान’ भनी सो कार्यक्रमले परिभाषित गरेको छ । कोर्षको पुस्तकबाहेक पूरक पाठ्य सामग्री बुक कर्नरमा राख्दा विद्यार्थीमा सानैदेखि खोजी गर्ने बानी विकास हुने भएकाले यो कार्यक्रम सुरु गरिएको शिक्षा शाखाका प्रमुख काफ्लेले बताए । ‘बुक कर्नरको अवधारणालाई अहिले पठन सीप प्रवद्र्धन कार्यक्रमका रूपमा लिइएको छ’ –उनले भने । बुक कर्नर कार्यक्रम २ वर्षअघि नै सुरु भए पनि विविध कारणले सबै विद्यालयले कार्यान्वयन नगरेको उनको भनाइ छ । मोरङमा बेलबारी नगरपालिकाबाहेक १६ वटै स्थानीय तहका सामुदायिक विद्यालयमा बुक कर्नर छ । बुक कर्नर सञ्चालन भएका अधिकांश विद्यालयमा तोकिएको मापदण्डअनुसार छैन ।