भण्टाबारी। सुनसरीसहित पूर्वका जिल्लाहरूमा एक्कासि बढेको जाडोले जनजीवन कष्टकर बनेको छ । यस्तो बेला आवश्यक कामकाज बाहेक सर्वसाधारण बाहिर कमै  निस्कने गरेका छन् । तर, मुटु कमाउने जाडोमा समेत कोशी गाउँपालिका क्षेत्रका गरिब तथा निम्नवर्गीय समुदायका स्थानीयले माछा मारिरहेको दृश्य देख्न सकिन्छ ।

जाडोले जनजीवन कष्टकर बन्दै गए पनि रोजीरोटी गर्न अन्य माध्यम नभएको हुँदा कोशी कटान क्षेत्रमा माछा मार्दै आएको उनीहरू बताउँछन् । जाडोको परवाह नगरी त्यसरी माछा मार्नेमध्येका एक हुन् कोशी गाउँपालिका वडानम्बर ७ हरिपुरका लक्ष्मण मुखिया ।

अन्दाजी २५–२६ वर्षका जस्तो देखिने उनका दुई छोरी र एक छोरा छन्  । आमाबाबु, छोराछोरी र श्रीमतीसहित सात सदस्यीय परिवार माछा मारेरै पाल्दै आएको लक्ष्मण बताउँछन् । ‘पढ्ने बेलामा पढ्न सकिएन’ पछुतो मान्दै उनले भने, ‘वर्षौंदेखि यहीँ माछा मारेर जीविकोपार्जन गर्दै आएको छु ।’ जाडोयाममा अपेक्षा गरिएअनुसार माछा नपाइने भएकोले बेलाबखत गर्जो टार्न समस्या हुने गरेको लक्ष्मणले बताए ।

कोशी कटान क्षेत्रमा सिपेच भएर बग्ने पानीमा लक्ष्मणसँगै माछा मारेर कोशी गाउँपालिका क्षेत्रका दर्जनौं व्यक्तिको परिवार पालिएका छन् । तीमध्ये अर्का एक हुन् कोशी गाउँपालिका–८ भण्टाबारीका सत्तार मियाँ । उनी केही वर्षअघिसम्म ठेला चलाउने गर्थे । ठेलाको कमाइले जीविका चलाउन सकस भएपछि मियाँले माछाको कारोबार गर्न थालेका हुन् ।

‘पहिला दिनभर ठेला चलाउँदा मुस्किलले ५ सयदेखि ८ सयसम्म कमाइ हुन्थ्यो’ उनले भने , ‘तर, अहिले दुईघण्टा बिहान र दुईघण्टा साँझ मेहनत गर्दा १ हजारदेखि १५ सयसम्म कमाइ हुन्छ । जसले गर्दा परिवारको गुजारा गर्न सहज भएको छ ।’ कोशी कटान क्षेत्रमा आजकाल उनीहरूले बिहान वा साँझपख माछा मार्ने गरेका छन् भने गर्मीको समयमा रातिको समयमा पनि माछा मारेर जीविका चलाउने गर्छन् ।

अहिले जाडोयामको समय भएकोले उनीहरू जाल र माछा मार्न आवश्यक पर्ने सामग्री लिएर माछा मार्दै आएका छन् भने गर्मीयाममा रातको समयमा एक हातमा टर्च लाइट र अर्को हातमा जाल तथा माछा मार्ने सामग्री लिएर पानीमा पस्ने र माछा मारिरहेको दृश्य राजमार्गबाटै देख्न सकिन्छ ।

उनीहरूले मारेको माछाको लागि बजार खोजिरहनुपर्ने झन्झट पनि हुँदैन । पूर्व–पश्चिम लोकमार्ग हुँदै यात्रा गर्नेहरूले उनीहरूले मारेको माछा किन्ने गरेका छन् । यात्रुहरूले कोशीको माछा भन्दै प्रतिकेजी ६ सयदेखि ८ सय रुपैयाँसम्ममा किन्ने गरेको लक्ष्मणको भनाइ छ । उनका अनुसार बुहारी, रहु, कोत्रा, मुङ्ग्री, जलकपुरलगायतका कोशीको माछा प्रतिकेजी ६ सयदेखि ८ सयसम्ममा किनबेच हुने गरेको छ । 

लक्ष्मण र सत्तारजस्ता दर्जनौं कोशी बाढी प्रभावित क्षेत्रका स्थानीयहरू माछा मारेर जीविका चलाउन सक्षम भएका छन् । जाडो बढे पनि परिवार पाल्न माछा मार्नुको विकल्प नभएको बताउँदै सत्तारले भने, ‘माछा मारेन भने के खाने, कसरी परिवार पाल्ने ? हुनेखानेहरू घर बस्दा फरक पर्दैन तर, हामी हुँदा खानेहरूलाई त कुनै न कुनै काम गर्नै प¥यो नि ।’