नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । चाडपर्वहरूले स्फूर्ति प्रदान गर्ने गर्दछ भने सबै परिवारजन तथा आफन्तजनहरू एकै ठाउँमा बसेर एकापसमा भलाकुसारी गर्दै चाडपर्व मनाउनु तथा रमाइलो गर्नुको अलग्गै मजा हुन्छ । हरेक चाडपर्वको आ–आफ्नो विशेषता छन् । आज माघे सङ्क्रान्ति । यस दिन विभिन्न फलफूलका साथै तरुल, घ्यू, चाकु, तिलको लड्डु, सखरखण्ड तथा अन्य परिकारहरू बनाएर खाने प्रचलन छ । यी खाद्यान्नहरूले शरीरमा बल, पौष्टिकता तथा ताप पनि प्रचुर मात्रामा प्रदान गर्दछ, जसले गर्दा चिसोसँग लड्ने क्षमताको अभिवृद्धि गर्न सकिन्छ । यसरी हामी यिनै शुद्ध खाद्यान्नहरूको उचित मात्रामा सेवन गरेर आफ्नो स्वास्थ्यको रक्षा गर्न सक्षम हुनेछौं भनेर नै यसै बेलामा यो माघे सङ्क्रान्ति पर्व प्रचलित भएको होला ।

ज्योतिष शास्त्रका अनुसाार आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दैछ  । त्यसैले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजको दिनमा पवित्र नदी, तलाउ, त्रिवेणी, सागरमा स्नान गरिने भएकोले यसलाई मकर स्नान पनि भनिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा उल्लेख भएअनुसार आजको दिन नुहाई धुवाई शुद्ध मनले घ्यू, चाकु, वस्त्र, तिलको लड्डु, तरुल, सागपात, पानीको भाँडो र मकलसहित सिधा दान गरेमा पुण्य प्राप्त हुने तथा उपर्युक्त पदार्थहरू सेवन गरेमा आफ्नो शरीरलाई पोषिलो हुने र निरोगी भइनेछ । यसैगरी आजैबाट सूर्यको उदय विन्दु दक्षिणबाट उत्तरतर्फ सर्ने भएकोले  सूर्य उत्तरायण हुने गर्दछ । 

आजको दिन आफू, आफ्नो घरपरिवार तथा बोलाइएका चेलीबेटीहरूसहित मीठा–मीठा परिकार खाने, खुवाइने गरिन्छ । यी परिकारका अलावा घ्यू, चाकु, वन तरुल, घर तरुल, तिलको लड्डु, खिचडी आदि विशेषरूपमा खाने गरिन्छ । यी परिकारहरू स्वादिष्ट त हुन्छन् नै । यिनले शरीरमा पोषण बढाउँछ भने शरीरलाई स्फूर्ति दिई शक्ति प्रदान गर्दछन् । आजको दिन मासमा पड्काएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीर स्वस्थ रहन्छ भन्ने विश्वास रहेको छ ।

आज विभिन्न स्थानमा मेलासमेत लाग्ने गर्दछ । नेपालको देवघाट, वराहक्षेत्र, रिडी, पनौती, दोलाल घाट, माईबेनी, कन्काई आदि स्थानमा मेला लाग्छ भने भारतको प्रयाग तथा गङ्गा सागरमा पनि मकर स्नान गरी पूजाआजा गरेर दान, धर्म गर्नेहरूको भीड लाग्ने गर्दछ । महाभारतका अनुसार यसै दिन भीष्मले आफ्नो मृत्यु रोजेका थिए भने भगिरथले यसै दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले गङ्गा सागरमा गरिने स्नानलार्ई महास्नान भनिन्छ । आजको दिन भक्तपुरको तौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ ।

त्यस्तै उपत्यका नजिकै भएको पनौतीमा मकर मेला लाग्छ, जुन लिच्छवीकालीन राजा मानदेवको पालादेखि नै शुरु भएको अनुमान रहेको पाइन्छ । यस मेलामा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । त्यस्तैगरी नुवाकोटको तारुका गाउँमा माघ १ गते अर्थात् माघे सङ्क्रान्तिलाई धुमधामका साथ मनाउने गरिन्छ । त्यहाँ गोरु मेला लाग्दछ । गोरुहरूको जुधाइ गरेर मनाइने यस दिनको छुट्टै महŒव तथा विशेषता रहेको छ ।

आजको दिनको निकै धार्मिक महŒवसमेत रहेको छ । नेपालका विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न जातजातिका नेपालीहरूले विविध नामसहित आजको दिनलाई आ–आफ्नो परम्परा र रीतिरिवाजअनुसार धुमधामका साथ मनाउँछन् । मगर समुदाय तथा किरात समुदायले आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन् भने तराईका थारु समुदायले यसलाई माघी पर्वको रूपमा मनाउँछन् । माघी थारु समुदायको निकै ठूलो चाड पनि हो । त्यस्तैगरी उपत्यकालगायत नेपालका विभिन्न भू–भागमा बस्ने नेवारहरूले माघे सङ्क्रान्तिलाई ‘घ्य चाकु सूल्हु’ भनेर धुमधामका साथ मनाउँछन् ।

अपवाद स्वरूप यस पर्वलाई नमान्ने केही समुदायका मानिसहरूले समेत आजको दिन तरुल तथा विभिन्न परिकार बनाएर खाने गरेको पाइन्छ । सिमल तरुल, तरुल, सुठुनी पाइने यही समय हो । केही दीर्घरोगीहरूलाई बाहेक यस्ता पदार्थहरूको सेवन स्वास्थ्यका लागि लाभदायक नै हुने गर्दछ । तसर्थ माघे सङ्क्रान्तिलाई हामी सबैको पर्वको रूपमा लिन सक्छौं ।

(लेखकः ज्ञानोदय से.बो.स्कुल, धरानका व्यवस्थापन समिति सदस्य हुन् ।)