ताप्लेजुङ/ ताप्लेजुङमा बलात्कारजन्य घटनामा वृद्धि हुँदै गएको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्कमा बलात्कारजन्य घटनामा वृद्धि हुँदै गएको देखाएको हो ।

इन्सेकले तयार पारेको पछिल्लो एक वर्षका बीचमा घटेका आपराधिक घटनाको सूचीमा सबैभन्दा धेरै बलात्कारका घटना रहेका छन् । सूचीकृत विभिन्न आपराधिक ३४ वटा घटनामध्ये २१ वटा घटना बलात्कारजन्य छन् । इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२१ को प्रकाशन पूर्व फुङ्लिङमा वार्षिक समीक्षा कार्यक्रमको आयोजना गरी तथ्याङ्क सार्वजनिक गरेको हो ।

बलात्कारजन्य घटनाबाट पीडित २१ जनामध्ये १५ जना १८ वर्षमुनिका बालिका रहेका छन् । अन्य २० वर्षमाथिका छन् । समीक्षा कार्यक्रममा सरोकारवालाबीच बलात्कारसहितका आपराधिक घटना न्यूनीकरणका उपायलगायतका विषयमा छलफलसमेत भएको थियो । इन्सेकको तथ्याङ्क अनुसार परिवारबाटै हत्या भएका घटना २ वटा छन् भने आत्महत्या दुरुत्साहनको एउटा घटना छ । यस्तै कर्मचारीमाथि दुव्र्यवहार र जातीय भेदभावका १–१ वटा घटनासमेत घटेका छन् ।

६ वटा बहुविवाहका घटना छन् । बहुविवाहमा २ जना बालबिज्याइँ गरेकी बालिका छन् । यस्तै बालबिज्याइँमा २ जना बालक छन् । जसमध्ये १ जनाको मृत्यु भएको छ भने अर्का १ जनालाई सुधारगृह पठाउन आदेश भएको समीक्षा प्रतिवेदन तथा तथ्याङ्कमा उल्लेख छ ।

बलात्कारजन्य घटना वृद्धि हुनुमा सामाजिक सञ्जाल, मोबाइल फोनको दुरुपयोग मुख्य कारण रहेको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले बताए । ‘पीडितसँग नजिक रहेर गरेको कुराकानी र अध्ययनअनुसार सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोग, गाउँघरमा हुने मेला महोत्सव र विभिन्न सांस्कृतिक कार्यक्रममा हुने जमघट मुख्य कारण हुनसक्ने अनुमान गर्न सकिन्छ’–गुरुङले भने ।

कार्यक्रममा सहभागी सरोकारवालाले बलात्कारलगायतका गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न इन्सेकले खेलेको भूमिका स्वागतयोग्य भएको र यसमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले इन्सेकले मानवअधिकारको घटनाको विषयमा पुस्तकमा अभिलेख गर्ने भएकाले सत्य र तथ्य हुनुपर्नेमा जोड दिए । प्रमुख मादेनले भने, ‘इन्सेकको पुस्तक मानवअधिकारको दस्तावेज हो । इन्सेकको किताब पातलो हुनेगरीको काम गर्न हाम्रा लागि चुनौती बनेको छ ।’

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले आ–आफ्नो क्षेत्रबाट जनचेतनामूलकलगायतका प्रभावकारी कार्यक्रम सञ्चालन गरी बलात्कारसहितका आपराधिक घटना न्यूनीकरणमा सक्रियता देखाउन स्थानीय तह, सामाजिक सङ्घ–संस्थालगायतलाई आग्रह गरे । प्रजिअ चापागाईंका अनुसार जिल्लामा सेभ हाउस बनाउन, आर्थिक अवस्था कमजोर परिवारका सदस्यलाई सेफ होम पठाउन र मानवअधिकारको वकालतको विषयमा इन्सेकले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरे ।

प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले इन्सेक र प्रहरीको तथ्याङ्क एउटै जस्तो भएको टिप्पणी गरे । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख योगेश्वर भट्टराईले सेनिटरी प्याड वितरणको विषयमा आफूले सम्बन्धित विद्यालयसँग बुझ्ने काम जारी राखेको बताए ।