विराटनगर/ छोटो समयमा धेरै कमाउन लगानी गरिने अवैध मिटर ब्याजको धन्दा प्रदेश १ को राजधानी विराटनगरमा मौलाउँदै गएको पाइएको छ ।

गैरकानूनी मानिएको मिटर ब्याजको अवैध धन्दा चलाउने समूह विराटनगरमा अधिक रहेको पाइएको हो । यस्ता अवैध धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको सुरक्षा अधिकारीको भनाइ छ ।

मिटर ब्याजमा लिएको ऋणको चर्को शुल्क तिर्न नसक्दा विराटनगरसहित मोरङमा केहीको घर र जग्गा नै सखाप भएको छ भने कतिपयले आत्महत्या गरेको घटना पनि सार्वजनिक भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकै जनाले एक करोड रुपैयाँदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् ।

गैरकानूनी मानिएको मिटर ब्याजमा लगानी गर्ने विराटनगर–९ घोषपुल चौकका ४५ वर्षीय मन्टु नामले परिचत सञ्जय रौनियार पक्राउ परेका छन् । पीडितहरूले दिएको उजुरीको आधारमा रौनियारलाई मोरङ प्रहरीले सोमबार साँझ विराटनगरबाट अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । ‘उजुरीको आधारमा हामीले नियन्त्रणमा लिएका हौं’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । सबैकुरा अनुसन्धानपछि खुल्नेछ ।’ प्रहरीले रौनियारको घरदेखि मिटरब्याजमा लगानी गरेको कागजपत्र पनि बरामद गरेको छ । रौनियारले मिटर ब्याजमा लगानी गर्न थालेको एक दशक भएको बुझिएको छ । चर्को ब्याज लिएर मन्टुले मोरङको ग्रामीण क्षेत्रका बासिन्दाहरूसँग बढी लगानी गर्ने गरेको खुलेको छ ।

ऋण लगेको रकमको मासिक पाँच प्रतिशत ब्याज जोडेर लगानी गर्ने गरेको पीडितहरूले बताएका छन् । मन्टुबाट मिटर ब्याजमा लिएको ऋण तिरेको र चर्को ब्याज तिर्न नसक्दा उठिबास हुन लागेको मोरङ धनपालथान गाउँपालिका–१ का मञ्जर हुसेनले बताए । ‘मेरा बाबुआमाले ११ कठ्ठा जमिन धितोमा राखेर चर्को ब्याजमा मन्टुसँग ६ लाख रूपैयाँ लिनुभएको थियो’ छोरा मञ्जरले भने, ‘अहिलेसम्म साँवा र ब्याज गरी ३६ लाख रूपैयाँ बुझिाइसक्नुभयो । अझै ३६ लाख ब्याज तिरेपछि मात्र धितोमा राखेको जग्गा फिर्ता गर्ने अडान कायम गरेका छन् ।’ उठिबास लाग्ने अवस्था भएपछि बाध्य भएर प्रहरीमा उजुरी गर्नुपरेको उनको भनाइ छ ।

हुसेन जस्तै ऋण लिएर पीडित भएका यहाँका एक दर्जनभन्दा बढीले प्रहरीमा उजुरी दिएर पक्राउ गरिएको उनीहरूले बताएका छन् । प्रहरीको नियन्त्रणमा रहेका रौनियारले मिटरब्याजमा लगानी गरेको ऋणको चर्को ब्याज ऋणीले तोकिएको मितिमा तिर्न सकेन भने ऋण लिएको रकमको थप ५ प्रतिशत बढाउने गरेको पीडितहरूको भनाइ छ । मन्टुबाट एक लाख रूपैयाँ ऋण लिएको छ भने मासिक पाँच प्रतिशतको ब्याज ५ हजार रूपैयाँ हुन आउँछ ।

महिना मरेको एक दिन भाका कट्यो भने ब्याजको दोब्बर बढाएर लैजाने गरेको कारणले आफूले ब्याजको तिर्न नसकेको अमित यादवले बताए । अमितका बाबुले २०७० जेठ २१ गते मोरङको सुनवर्षी नगरपालिकाको १ बिघा १ कठ्ठा जग्गा रौनियारसँग धितोमा राखेर ५ लाख रुपैयाँ लिएका थिए । गत चैतसम्म ५ लाख रुपैयाँको ब्याज मात्र १० लाख रुपैयाँ तिरिसक्दा पनि जग्गा फिर्ता नगरेपछि अहिले मोरङ अदालतमा ‘लेनदेन’ को मुद्दामा विचाराधीनमा रहेको अमितले सुनाए ।

कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक १–२ जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर मोरङ प्रहरीमा आउने गरेका छन् । मासिक पाँच प्रतिशत ब्याजदरमा सापटीका रूपमा ऋण लिँदा मिटर ब्याजमा कारोबार गर्नेले अग्रिम साँवाबाट बीस प्रतिशत रकम कटौती गरिदिने गरेका छन् ।

बैङ्क, वित्तीय संस्था र सहकारी संस्थालेभन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर, आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्तिसमेत यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएका, बैङ्कमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुष र महिला दुवै छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रूपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् ।