भोका छौं नाङ्गा छौं सब
भोका नाङ्गा भन्न नपाउनु ?
अकाल अशिक्षाले उत्पीडित छौं
किन विप्लव आज नगर्नु ?
....................
आफ्ना विचारहरु खुलेर व्यक्त गर्न समेत नपाईने पञ्चायतकालमा कृष्णप्रसाद श्रेष्ठले यस्तो क्रान्तिकारी कविता लेखेका थिए । उनको यो कविताको छोटो अंशले तत्कालिन समयमा जनताको गाँस, बास, कपास र शैक्षिक स्थितिको व्याख्या मात्र गर्दैन, जनता किन क्रान्तिमा होमिएका थिए भन्ने पनि बताउँछ ।

धरानमा पहिलोपटक स्नातक उत्तीर्ण गरेका कारण उनको नाम रह्यो, ‘बिए कृष्ण’ । तर उनको क्षमता पहिलो पटक बिए उत्तीर्ण गर्नु मात्र थिएन । उनी राजनीतिक विश्लेषक थिए, राजनीतिज्ञ थिए, कवि, साहित्यकार थिए, कुनै समयका शिक्षक थिए । उनको बहुआयामिक व्यक्तित्वले धरानलाई नै देशमा वजनदार बनाएको थियो । अब धरानले उनै बहुआयामिक व्यक्तित्व गुमाएको छ ।

वि.सं.१९९१ असार २३ मा धरानको विजयपुरमा जन्मिएका उनी गणेशप्रसाद र विष्णुमायाका १४ सन्तान मध्ये जेठा थिए । विद्यार्थी कालमै वि.सं.२००६ सालमा पुष्पलाल श्रेष्ठद्वारा स्थापित कम्युनिष्ट पार्टीमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेका उनी २०१७ सालमा भएको धरान नगरको चुनावमा उनी उपप्रमुख बनेका थिए । उनी एकताका नेपाल–अफ्रोएसियाली एकता समितिका महासचिव बनेका थिए । तत्कालिन कम्युनिष्ट पार्टीका नेताहरु मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ, केशरजंग रायमाझी, कृष्णराज वर्मासंगै बामपन्थी राजनितिमा सक्रिय उनी पार्टीले केशरजंग रायमाझीलाई कारवाही गरेपछि पार्टी फुट्यो । त्यसपछि उनी रायमाझीहरुसँगै बर्मा समूहमा लागे । कम्युनिष्ट राजनीतिको गहन अध्ययन गरेका उनी पछि काठमाडौं छाडेर आफ्नै गृहनगर धरान फर्किए । राजनीति भन्दा बढी अध्ययन, चिन्तनमा लागे । उनमा अध्ययनको नशा थियो भन्दा पनि हुन्छ । अध्ययन बिना उनी चुपचाप बस्न सक्दैनथे । अध्ययनकै क्रममा उनले जम्मा गरेका पुस्तकका ठेली उनको घरमा पुस्तकालयका रुपमा अहिलेपनि छन् ।

ज्ञानगुन प्रकाशनले कृष्णप्रसाद श्रेष्ठका विषयमा १० वर्षअघि प्रकाशन गरेको ज्ञानगुनका कुराको भाग १४४मा साहित्यकार तथा पूर्व सांसद कुन्ता शर्माले लेखेकी छिन्,‘वहाँको बौद्धिकताले मलाई आश्चर्यचकित तुल्याउँथ्यो । वहाँका कोठाहरु किताबै किताबले भरिएका हुन्थे । वहाँलाई त ‘इन्साइक्लोपिडिया’नै मान्न सकिन्थ्यो ।’ शर्मालाई उनले स्कुलमा पढाएका थिए ।
कृष्णप्रसादको अध्ययन, बौद्धिकतादेखि धरानको शैक्षिक र बौद्विक जगत नतमस्तक थियो । प्रा.डा.टंकप्रसाद न्यौपानेले ज्ञानगुन प्रकाशनको सोहि अंकमा कृष्णप्रसादलाई ‘मानवीय पुस्तकालय’ भनेर नाम दिएका छन् । उनले लेखेका छन्, ‘लामो समयक्रमको विश्लेषणात्मक इतिहास मस्तिष्कभित्र पनि अटाएका व्यक्तित्व भएकाले मैले उहाँलाई ‘मानवीय पुस्तकालय’ भनेको हुँ ।’

देशमा राजनीतिदेखि समय परिस्थित सबै बद्लियो तर कृष्णप्रसादको जीवनशैली दशकौंसम्म उस्तै रहेको सम्झिन्छन्, उनको सान्निध्य पाएका लेखक वसन्त थापा । अध्ययनमा उनको व्यसन रहेको थापाको ठम्याई छ । ज्ञानगुनका कुरामै थापाले लेखेका छन्,‘मानिस सम्पत्तिको जोरजाममै आजीवन प्रयन्तशील रहन्छन् तर उहाँको ध्याउन्न सदैव कुन नयाँ किताब निस्क्यो र त्यो कसरी कहाँबाट छिटोभन्दा छिटो प्राप्त गरेर पढ्न सकिन्छ भन्नेमै रहन्छ । घरमा रहेको किताबसङ्ग्रह नै उहाँको यस व्यसनको जिउँदो प्रमाण हो ।’

उनी जीवनको पछिल्लो कालमा स्वास्थ्य समस्या भएपछि घरमै बसेर अध्ययन गर्थे । उनीसँग धरानमा मात्र होईन देशमै अरुसँग नभएका पुस्तक र विभिन्न ऐतिहासिक दस्ताबेजको भन्डार छ । नेपाली कम्युनिष्ट इतिहासमा विद्यावारिधी गरेका डा.सुरेन्द्र केसीले आफ्ना लेखमा कृष्णप्रसाद बिना आफ्नो विद्यावारिधी असम्भव हुने उल्लेख गरेका छन् । उनले नेपाली कम्युनिष्टका अहिलेसम्मका सम्पूर्ण दस्ताबेज कृष्णप्रसादसँग मात्र रहेको उल्लेख गरेका छन् ।

कृष्णप्रसाद कम्युनिष्ट राजनीतिको माथिल्लो तहसम्म पहुँच भएर पनि किन व्यक्तिगत फाईदाको अवसर खोजिमा लागेनन् ?, काठमाडौं छाडेर किन आफ्नै घरमा फर्किएर अध्ययनमा मग्न भए ? आजका राजनीतिमा लाग्ने नयाँपुस्ताले मनन गर्नु आवश्यक छ । अझ कम्युनिष्ट नेता, कार्यकर्ताले उनले अँगालेको बाटो अध्ययन गर्नु जरुरी छ । कृष्णप्रसादको त्यो बौद्धिकता, उनका रचना उनको मात्र होईन धरान र देशकै सम्पत्ती हो । उनी बितेपछि उनले राजनीतिमा छाडेर गएका आदर्श, नैतिकता भोलिको पुस्ताका लागि पनि मननीय हुनेछन् ।

हार्दिक श्रध्दाञ्जली कृष्ण दाइ ।