आजकाल हरेक दिनजसो बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् । अखबारका हरेकजसो पानाहरू बलात्कारजन्य घटनाका समाचारले भरिएका हुन्छन् । चार–पाँच वर्षदेखि पचास–साठीका महिलासमेत बलात्कृत हुनु र बलात्कारजन्य घटनाका कारण मारिनुले स्त्रीहरूमा यौनाङ्ग हुनु नै जीवनभरको लागि महाअभिसाप बोकेर बाँच्नुसरह भएको देखिन्छ ।

खासगरी बलात्कृत हुने महिलाको उमेर, बलात्कार गरिने स्थान र परिस्थितिलाई हेर्ने हो भने बलात्कारीले त्यस्ता व्यक्तिलाई निशाना बनाएको देखिन्छ, जो कम उमेर, शारीरिक अशक्त, एकान्त स्थान वा दलित हुनुको कारण बलात्कारको प्रतिरोध गर्न सक्दैनन् । विद्यालयमा परीक्षा दिन गएकी किशोरीमाथिको बलात्कार वा शिक्षकले आफ्ना छात्रामाथि गर्ने यौनजन्य हिंसा, सार्वजनिक यातायातमा चढेकी किशोरी वा महिलामाथि यस्तो हिंसा भएका छन् । शारीरिक वा मानसिक रूपले कमजोर बालिका वा युवतीमाथि र आफ्नै बाबु, ससुरा, जेठाजु, देवर वा परिवारभित्रकै अन्य पुरुषबाट हुने बलात्कारका घटनाले के देखाउँछ भने बलात्कारीहरूले मनोवैज्ञानिक रूपमै यो केटीलाई बलात्कार गर्दा घटना बाहिर आउन सक्दैन, यसले बोल्न सक्दिन वा प्रहरीले थाहा पाउँदैन भन्ने हिम्मत जुटाइसकेका हुन्छन् ।

बलात्कारका विविध घटनाहरूलाई दृष्टिगत गर्दा धेरेजसो बालिका तथा किशोरीहरूमाथि एक्लै बलात्कारको प्रयास गर्ने र अलिकति उमेर पुगिसकेकी (फेसबुकबाट परिचय भएका) केटी साथीहरूमाथि भने साथीभाइहरू समेत उचालेर सामूहिक बलात्कार गर्ने गरेको पाइन्छ । सबैजसो बलात्कारका घटना भइसकेपछि कि त बलात्कृत बालिका, किशोरी वा महिलालाई एकान्तमा लगेर छोडिदिने वा हत्या गर्ने गरेको पाइन्छ ।

वैवाहिक बलात्कार बाहेकका हकमा धेरै पढेका, राम्रो ठाउँमा जागिर खाएका, बलबर्कत भएका, राजनीतिक पहुँच भएका, मौखिक तथा शारीरिक प्रतिकार गर्न सक्नेभन्दा सामाजिक, आर्थिक, शारीरिक, शैक्षिक एवम् सांस्कृतिक रूपमा कमजोर वर्गका महिलाहरू बलात्कृत भएको देखिन्छ । परिवारभन्दा बाहिरको बलात्कारीले आफूभन्दा सक्षम, प्रहरी तथा आर्मीमा भएका महिला (आफ्नै सहकर्मी वा उच्च अधिकृतबाट हुने बलात्कारका घटना बाहेक), ठूल्ठूला नेतागणका छोरीहरूमाथि हत्तपत्त हात हालिहाल्दैन, किन कि उसलाई त्यसको परिणाम र सजायको स्तर के हुन्छ, त्यसको राम्रो जानकारी हुन्छ ।

मानवशास्त्रीहरू भन्छन्, सबै कुराको जरा भनेको ‘कल्चर’ अर्थात् ‘संस्कार’ हो । संस्कार सिक्ने पहिलो संस्था भनेको घरपरिवार नै हो । त्यसपछि नातागोता, समाज र राज्य स्वयम् पनि संस्कार सिकाउने, त्यसलाई अवलम्बन गर्न लगाउने र निरन्तरता दिन लगाउने संस्थाहरू हुन् । यी अवधारणालाई मध्यनजर गर्ने हो भने एउटा पुरुष बालकलाई बलात्कार कार्यप्रति अभिप्रेरित गर्ने पहिलो संस्था घरपरिवार हो भन्नुपर्ने हुन्छ । सूक्ष्म रूपमा हेर्ने हो भने एउटा परिवार हजुबा–हजुरआमा, बा–आमा, काका–काकी तथा दाजुभाइ एवम् दिदी–बहिनीहरूको समूह मिलेर बनेको हुन्छ ।

एउटा बालकले आफ्नो परिवारमा हजुरबा र हजुरआमा, बाबु र आमाबीचको लैङ्गिक सम्बन्ध केलाएको हुन्छ । म नै भोलिको बाबु हुँ र मैले पनि स्वास्नीमाथि यस्तै व्यवहार दोहो¥याउन पाउँछु, एउटा पुरुष बालकको मनोविज्ञान यसरी बनेको हुन्छ । यही परिवारबाट एउटी छोरीले छोराको भन्दा ठीक विपरीत सिक्छे । विभिन्न अनुसन्धानले देखाएअनुसार अधिकांश बालिकाले आफ्ना आश्रयदाता बाबुआमा र आफू जन्मेको घर छोड्नुपर्ने डरले सानो उमेरमा म कहिल्यै बिहे गर्दिनँ भन्ने गरेका हुन्छन् । उसको त्रास उसले लोग्नेको घरमा दिनुपर्ने बिना ज्यालाको आश्रयसँग जोडिएको हुन्छ, जबकि एउटा पुरुष बालक भनिरहेको हुन्छ, म त राम्री केटी बिहे गरेर ल्याउँछु । उसलाई थाहा छ, विवाह पश्चात् बुबा–आमा छोड्नु पर्दैन ।

परिवार बाहिर हुने बलात्कारका घटना खासगरी आफ्नो परिवार र समाजबाट टाढा भएका व्यक्तिहरूबाट वा त्यो समाजमा टाढाबाट आएका र स्थायी बसोबास नभएका व्यक्तिबाट हुने गर्छ । यस्ता घटनाहरू एक्ली बालिका, असहाय वा अपाङ्ग महिला, फेसबुक, सामाजिक सञ्जाल वा साथीभाइमार्फत् परिचय भएकी केटी, पुरुषहरूले साथ नदिएका महिलामाथि हुने गरेको पाइन्छ । यस्ता घटनामा संलग्न बलात्कारी विभिन्न आपराधिक घटनामा संलग्न भएको, पटक–पटक जेल गएको, राजनीतिक संरक्षण प्राप्त भएको, प्रहरी प्रशासनलाई बुझेको वा प्रहरीहरू नै साथी भएको वा आफै सुरक्षाकर्मी भएको, बसाइँ सरेर आएको र घटनापछि भाग्ने स्थान भएका व्यक्तिहरू पर्छन् ।

नेपालको पश्चिम डोटीमा सुरक्षा निकायका २४ वर्षीय प्रहरी जवानले पनि १५ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रक्षक नै भक्षक भएपछि शान्ति व्यवस्था कसरी हुन्छ ? यिनीहरूलाई पद र पैसाको भरमा कानून हातमा लिन सकिन्छ भन्ने धेरथोर ज्ञान हुन्छ र सोही अनुसार बलात्कारका घटनाहरूलाई मिलाउने कार्य गर्ने गर्छन् । यसले गर्दा बलात्कारीलाई पटक–पटक बलात्कारका प्रयासहरू दोहो¥याउने आत्मबल बढ्छ ।

सबैभन्दा डरलाग्दो कुरा के हो भने पितृप्रधान समाजमा बलात्कारजन्य घटनालाई पुरुषको प्राकृतिक कामेच्छा अनुरूप घटेका घटनाहरू हुन् भन्ने खालको मान्यता राखेको पाइन्छ । अपवाद बाहेक बलात्कारसम्बन्धी समस्याको चर्चा गर्न खोज्यो भने घरभित्रका पुरुषहरू तर्किने, सकेसम्म महिला हिंसा तथा बलात्कारका समाचारहरू महिलाहरूले नदेखे हुन्थ्यो वा त्यसमाथि कुरा नउठाए हुन्थ्यो जस्तो गर्ने, यदि महिलाहरूले यो कुरालाई छलफलमा ल्याउन खोजे भने एकाध ए भइहाल्छ नि भनेर तर्किने, छोरीहरूको सुरक्षा संवेदनशीलतालाई मतलव नगर्ने, महिला हिंसाको प्रतिकार गर्नुको सट्टा निरपेक्ष बसिदिने, छोरीलाई अंश दिनुपर्ने कुरालाई पन्छाउने प्रवृत्ति पाइन्छ । दिनानु दिन बढिरहेको बलात्कारका घटनाले जति आमावर्गलाई पिरोलेको छ, त्यति बाबुवर्गलाई पिरोलेको देखिँदैन । पत्रपत्रिकामा बलात्कार वा महिला हिंसाविरुद्ध छापिने लेखहरूको सङ्ख्या सर्वेक्षण गर्ने हो भने यो कुरा सहजै पुष्टि हुन्छ ।

त्यस्तै भर्खरै धरान–१६ मा देवरले भाउजूमाथि करणी गरेको समाचार गत कात्तिक १८ गते दैनिक पत्रिका ब्लाष्ट टाइम्समा प्रकाशित भएको थियो । माथि उल्लेख गरिएका दुई प्रकारका बलात्कारका घटनामध्ये वैवाहिक तथा पारिवारिक बलात्कारका घटना न्यून गर्न घरमा भएका आमा, श्रीमती, छोरी तथा बुहारीहरूको इज्जत गर्नुपर्छ । छोरीलाई पनि छोरासरह सम्पत्ति तथा शिक्षाको अधिकार प्रदान गर्नसके बलात्कारका घटनामा कमी आउँछ ।

छोरालाई पनि छोरीलाई सरह काम लगाउने, घरायसी काममा उत्तरदायी हुन सिकाउने गर्नुपर्छ । हिजोका आमा–सासू पुस्ताका तुलनामा आजका छोरी–बुहारी पुस्ताको महिला पढाइ तथा जागिर खाने हिसाबले आकाश तथा जमिनको फरक भेट्न सकिन्छ । तर, हिजोका बाबु–ससुरा पुस्ताका तुलनामा आजका छोरा–ज्वाइँ पुस्ता घरायसी काममा कति लाग्ने भएका छन्, श्रीमती र छोरीको कति ख्याल गर्ने भएका छन्, त्यो अझै खोजकै विषय होला ।

परिवार बाहिर हुने बलात्कारका घटनालाई न्यून गर्ने उपाय भनेको महिलाहरूको आर्थिक, सामाजिक रूपान्तरण नै हो । समाजका हरेक तह र तप्कामा महिलाहरूको अनिवार्य उपस्थिति भएमा बलात्कारको घटनामा कमी आउन सक्छ । उदाहरणका लागि पुरुष चालकको सट्टामा महिला चालक भए धेरै युवतीहरूले सामूहिक बलात्कारको शिकार हुनुपर्दैनथ्यो होला । यसैगरी पुरुष प्रहरी अधिकारीको सट्टा महिला प्रहरी अधिकारीहरू हुन्थे भने गाउँमा बलात्कारको घटना घट्दा प्रहरी चौकीमा खसी काटिने थिएन कि ! यसैगरी इँटाभट्टामा काम गर्ने महिला यदि मन्त्री वा सचिव हुन्थिन् भने उनकी सुस्त मनस्थितिकी छोरी बलात्कृत हुन्नथिइन् कि ? एउटी महिलाको आफ्नै घर, मान र प्रतिष्ठा हुन्छ भने उनीमाथिको वैवाहिक बलात्कारमा पनि कमी आउला कि ? एउटी किशोरीको घर परीक्षा दिने विद्यालय नजिकै हुन्थ्यो भने उनले बलात्कृत भएर मारिनु पर्दैनथ्यो कि ? वैवाहिक बसाइँ–सराइले महिलाहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले परनिर्भर पार्छ । यदि छोरीहरूले सम्पत्ति पाउने हो भने वैवाहिक बसाइँ–सराइको प्रवृत्तिमा पनि परिवर्तन आउन सक्ला कि ? त्यस्तै बलात्कारीलाई फाँसी दिने या गोली ठोक्ने कानून निर्माण गर्नुपर्दछ । र कानून सबैलाई लाग्ने गरी कार्यान्वयनमा ल्याउनु पर्छ । दोषी प्रमाणित भए अपराधीलाई धरौटीमा रिहा गर्ने व्यवस्था खारेज गर्नुपर्छ । दोषीलाई पद र पैसाको आडमा उन्मुक्ति दिने हो भने बलात्कार जस्तो जघन्य अपराध क्यान्सर रोग जस्तो कहिल्यै निमिट्यान्न हुन्न ।

विश्वमा चीन, उत्तरकोरिया र केही मुस्लिम राष्ट्रहरूले बलात्कारीलाई मृत्युदण्ड दिने गरेका छन् । भारतमा भने तजबिजको आधारमा मृत्युदण्ड दिने चलन छ । यस्तो परिस्थितिमा नेपालमा हाल चर्चामा रहेको मृत्युदण्ड कति व्यवहारिक होला भन्ने सन्दर्भमा सोच्नुपर्ने बेला आएको छ । तर, बलात्कार जस्तो जघन्य अपराध गर्नेहरूप्रति सहानुभूति देखाउने जनप्रतिनिधिहरूदेखि प्रदेश तथा सङ्घीय मन्त्रीहरूलाई कानूनले नबाँधेसम्म बलात्कार राजशास्त्रले निरन्तरता पाइरहनेछ ।