पञ्चायत मावि पथरीशनिश्चरे–१ मोरङमा विज्ञान र सिभिल इञ्जिनियरिङ समूहतर्फ कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीले गत भदौबाट नै नियमितरूपमा अनलाइन कक्षा लिइरहेका छन् । सरकारले लागू गरेको नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पनि अनिवार्य विषय सरह पढेको ३ महिना पूरा भयो । बिहानी, दिवा र अपराह्न गरी तीन चरणमा नियमित कक्षा भइरहँदा अचानक गत कात्तिक १९ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशदेखि पाठ्यक्रम र पाठ्यपुस्तकको विषयमा अन्योलता छायो ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा मूलतः नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पढेको चाहिँ ऐच्छिक ज्ञान आर्जनमात्रै हुने हो कि भन्ने द्विविधा विद्यार्थीमा बढ्दै गएको छ । विज्ञान तथा सिभिल इञ्जिनियरिङतर्फ कक्षा ११ मा पहिलो पटक अनिवार्य नेपाली पढाउने शिक्षक खेमराज (कुमार) घिमिरेलाई पनि पछिल्लो समयमा नयाँ पाठ्यपुस्तकको नियमित अध्यापनमा त्यति धेरै जाँगर चलेको छैन । आउँदो २४ गतेपछि मात्रै स्पष्टताका साथ पहिलेकै जस्तो जाँगर चलाउने सोच शिक्षक घिमिरेको छ ।

अहिले विद्यालयका प्रअ अर्जुनकुमार बुढाथोकीको ध्यान ३ तिरको व्यवस्थापनमा गम्भीरतापूर्वक अडेको छ । विद्यालयका ७ ओटा विषयगत समूह (विज्ञान, सिभिल इञ्जिनियरिङ, कानून, व्यवस्थापन, मानविकी, शिक्षा र ललितकला) को पठन–पाठनमा भौतिक संरचनाको व्यवस्थापन, आवश्यक शिक्षकको व्यवस्थापन र शैक्षिक कार्यतालिकाको तर्जुमा गर्न प्रअ बुढाथोकीलाई नयाँ कि पुरानो पाठ्यक्रम भन्नेले अलि अलमल पारेको छ । पाठ्यक्रम यकिन भएमात्रै विषय र सोअनुरूपको व्यवस्थापन गर्न सहज हुन्थ्यो ।

यस्तै परिस्थितिमा आज देशभरकै कक्षा ११ को पढाइ अघि बढ्दै गएको छ । नयाँ कि पुरानो कुन पाठ्यक्रम लागू हुने भन्ने आधिकारिक निर्णय नहुँदा विद्यार्थी, शिक्षक र अभिभावकको अन्योलता झनै उच्च शिखरमा पुगेको छ । यो अलमलको परिस्थितिका प्रमुख भोक्ता भनेको विज्ञान तथा प्राविधिक धारतर्फ नेपाली विषय र सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयका सरोकारित सबै छन् । किनकि अहिले नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयको पठन–पाठन गराउनेको ‘जागिर’ आउँदो २४ गतेपछि मात्रै हुने कि नहुने भन्ने टुङ्गो लाग्नेछ ।

नयाँ पाठ्यक्रम लागू हुने भयो भने मात्रै ती २ विषय अनिवार्य पढाइ हुन्छ, नत्र पुरानै पाठ्यक्रमले निरन्तरता पाउने हो भने कक्षा ११ को विज्ञान र प्राविधिक धार समूहमा २ ओटै विषयको पढाइ हुँदैन । अरू विषय कक्षा ११ र १२ मा पुरानो वा नयाँ जुनै पाठ्यक्रम कार्यान्वयन भए पनि पढ्नुपर्ने हुन्छ । नयाँ वा पुरानो पाठ्यक्रमअनुसार ती विषयको अधिकांश विषयवस्तु पनि मेल खाने गर्दछ । त्यसैले अहिलेको मूल समस्या भनेकै विज्ञान तथा प्राविधिक धारतर्फ अनिवार्य नेपाली र सबैलाई सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयको शिक्षक व्यवस्थापनमा देखिएको छ ।

‘कक्षा १२ का विद्यार्थीले पढ्नुपर्ने पाठ्यपुस्तकको नाम टिपाएर किन्न भनेका छौँ तर, ११ कक्षाको विषयमा अझै अन्योलता छाएको छ’ पञ्चायत माविकै सहायक प्रअ बुद्धिनाथ अधिकारीले भन्नुभयो, ‘वैकल्पिक विधिबाट पढाइ भएको यत्तिका दिनमा पनि सबै विद्यार्थीलाई खुलेर नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको नयाँ पुस्तक किन्नका लागि भन्न सकेका छैनौँ । पहिले जतिले किनेका थिए त्यतिमै रोकिएको अवस्था छ, अरूलाई आउँदो २४ गतेसम्म पर्खन भनेका छौँ ।’

सर्वोच्च अदालतको अन्तरिम आदेशले गर्दा नयाँ पुस्तक ल्याएर बिक्रीवितरण गर्न नसकिएको भनाइ छ प्रतीक्षा पुस्तक पसल पथरीका प्रोप्राइटर देवीप्रसाद रिजालको । पुस्तक व्यवसायी रिजालका अनुसार दैनिक विद्यार्थी नयाँ किताब माग गर्दै पसलमा आउने गर्दछन् तर, उपलब्ध गराउन सकिएको छैन । पाठ्यक्रमसम्बन्धी विषय किनारा लाग्नेबित्तिकै आवश्यक सम्पूर्ण विषयका पुस्तकहरू सहजै उपलब्ध गराइने छ ।

कोरोना कहरका बावजुद बल्लतल्ल सामान्य बन्दै गएको शिक्षा क्षेत्रमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयले सूक्ष्मातिसूक्ष्म रूपमा सरोकारित सबैलाई प्रभावित पारिरहेको छ । अदालतमा विचाराधीन भएको सोसम्बन्धी मुद्दाको पेसी तीनपटक स्थगित हुँदा पुनः मङ्सिर २४ गतेसम्म कुर्नुपर्ने भएको छ । अहिले प्रत्यक्षरूपमा कक्षा ११ सँग सम्बन्धित भए पनि नयाँ पाठ्यक्रम लागू नहुँदाको अवस्थामा कक्षा १ को पठन–पाठन पनि स्वतः प्रभावित हुने देखिन्छ ।

नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव दीननाथ तिम्सिनाका अनुसार पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६’ स्वीकृत गरेर यसै शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको हो । यदि नयाँ पाठ्यक्रम प्रारूप लागू नहुने हो भने कक्षा १ मा नयाँ पाठ्यक्रम लागू भएको पनि ८ महिना भइसक्यो । यसले विभिन्न माध्यमबाट भएको सिकाइ सहजीकरणमा पनि केही हदसम्म प्रभावित पार्छ होला ।

नयाँ पाठ्यक्रम प्रारूपअनुसार कक्षा ११ र १२ मा सङ्काय प्रणालीको अन्त्य गरिएको छ । यसमा अनिवार्यभित्र ३ र अन्य विषय ऐच्छिक समूहमा राखिएको छ । अनिवार्य विषयमा नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा छन् भने अरू ४ समूहसम्मका ऐच्छिक विषय छन् । यिनमा पनि विज्ञान विषय समूहबाट ऐच्छिक छनोट गर्दा गणित अनिवार्य पढ्नैपर्ने अवस्था रहँदैन ।

यसैले अहिलेको नयाँ पाठ्यक्रममा गणितलाई अलि उपेक्षा गरेको भनाइ छ गणित विषयका शिक्षक पारसमणि नेपालको । शिक्षक नेपालका अनुसार विज्ञान समूह पढ्नेले माथिल्लो तहमा गणितबिना प्रगति गर्ने सम्भावना न्यून रहन्छ । यस्तो अवस्थामा गणित विषयलाई पनि सो समूहतर्फ अनिवार्य गर्दा राम्रो हुने थियो । अब सुधार हुने सम्भावना छ । कक्षा ११ को यो अलमलपूर्ण सिकाइ प्रक्रिया किनारा लाग्दा कोरोना कहरले पारेको शैक्षिक धमिलोपना पनि क्रमशः सङ्लो बनाउनुपर्ने अभिभारा सबै शिक्षासम्बद्ध व्यक्तिको काँधमा आएको छ ।