या देवी सर्वभूतेषु शक्ति–रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

अर्थात् जुन देवी सबै प्राणीमा शक्तिरूपमा स्थित छन् उनलाई नमस्कार, नमस्कार, बारम्बार नमस्कार छ । दशैं भर्खरै सकियो । हिन्दु धर्मावलम्बीहरूले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म पन्ध्र दिन नारी शक्ति देवीलाई विजयको प्रतीकको रूपमा मानी पूजाआराधना गरी जमराप्रसाद ग्रहण गर्दै मनाए । यसपालि कोरोनाको महामारीले गर्दा सर्वसाधारण जनताको लागि पूजाआजा गर्न शक्तिपीठहरू नखुले तापनि घरमै बसी जमरा राखी मूर्ति स्थापना गरी नित्य देवी शक्तिको पूजा आराधना गरी परम्परागत रूपमा मनाउँदै आएका चाडपर्वलाई निरन्तरता दिए र दिइनै रहनेछन्, जुन गर्वको कुरा हो ।

कोजागत पूर्णिमाको पन्ध्र दिनपछि नारी शक्तिका रूपमा तिहारमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनको देवी मानिन्छ । यसको साथै लक्ष्मीलाई अष्टलक्ष्मीको रूपमा जस्तैः आदि लक्ष्मी, धन लक्ष्मी, विद्या लक्ष्मी, धान्य लक्ष्मी, धैर्य लक्ष्मी, सन्तान लक्ष्मी, विजय लक्ष्मी र राजलक्ष्मीको रूपमा पूजा गरी दीपावली मनाइन्छ । शास्त्रमा भगवान् ‘नारायणमा लीन हुनको लागि लक्ष्मीको साधना गर्नुपर्छ’ भनिएको छ । यसरी नै वसन्त पञ्चमी तिथिका दिन विद्याकी देवी सरस्वतीको पूजा धुमधामका साथ गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका देवीहरूको मठमन्दिर र शक्तिपीठहरू छन् ।

नारीले युगौंदेखि सृष्टिलाई चलाइराख्न महŒवपूर्ण भूमिका खेल्दै आएको पाइन्छ । देवताहरूले पनि नारीलाई शक्तिको रूपमा मानेको कुरा हामी विभिन्न पौराणिक कथाहरूबाट थाहा पाउँछौं । जब देवताहरूलाई सङ्कट आइपथ्र्यो, तब उनीहरू शक्ति स्वरूपा नारीबाट नै त्यसको समाधान प्राप्त गर्न सफल हुन्थे । ‘यत्र नार्यस्तु पूज्यन्ते तत्र रमन्ते देवता’ जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताहरू रमाउँछन् । यी हुन् नारीलाई देवी शक्तिको रूपमा पूजा गर्ने धार्मिक यथावत् परम्परा । यिनै धर्म र संस्कृतिलाई अँगाल्दै हामीले कति पुस्ता बिताइसकेका छौं । आज पनि नारीले आफूलाई विभिन्न रूपमा वर्गीकृत गरेर संसारलाई अगाडि बढाउन सहयोग गर्दै आएको पाइन्छ ।

तर, विडम्बना हाम्रो समाज पितृसत्तात्मक समाज हो । यहाँ शताब्दीयौंदेखि मानव निर्मित सामन्ती समाज र अस्तित्व बोध नगराइएको अवस्थाबाट गुज्रिरहेको पिँढी र दर पिँढीले गर्दा लैङ्गिक विभेद जरो गाडिएर बसिरहेको छ । अहिले पनि छोरा र छोरीमा विभेदकारी प्रथाले गर्दा छोरी र बुहारीलाई दुर्गा, भगवती, सरस्वती र लक्ष्मीको रूपमा नहेरी नारीको अपहेलित, अपमानित र शोषित अवस्थालाई नियतिको संज्ञा दिएर त्यसलाई नै स्वीकार्न र स्वभाविक ठान्न विवश र बाध्य पारिएका छन् । अतः नारी शक्तिको पूजन एउटा पौराणिक धार्मिक आख्यानमा मात्र सीमित रहिरहनेछ ।