-भोजराज श्रेष्ठ

थुप्रै युद्धलाई नजिकबाट नियालेका ‘१० गोर्खा राइफल्स’ का कलर सार्जन्ट गजेन्द्र इस्बो लिम्बूले कोभिड १९ को युद्धसँग हारेका छन् ।

गोर्खाहरूको हक अधिकारका लागि लड्ने योद्धा इस्बोलाई ‘मण्डेला’ उपनाम दिइएको थियो । उनी भौतिक रूपमा युद्धमा समावेश नभए पनि सन् १९८२ मा भएको अर्जेन्टिना र सन् १९९१ म भएको पहिलो इराक युद्धलाई नजिकबाट नियालेका थिए । किनकि ती दुवै युद्धमा सेभेन गोर्खा राइफल्स खटिएको जानकार पूर्व लाहुरेहरू बताउँछन् । अढाई दशक आफूजस्ता गोर्खाहरूको लागि निरन्तर लडेका योद्धालाई कोभिड–१९ ले भने परास्त गरेको छ । समकक्षीले उनको निधनलाई ‘गोर्खाहरूको लागि अपूरणीय क्षति’ भनेका छन् । पूर्व ब्रिटिस लाहुरे तथा समकक्षी रमेश राई भन्छन्, ‘अपूरणीय क्षति पुगेको छ । उहाँ जस्तो योद्धा सायदै यो जुनीमा पाइँदैन ।’

अर्का समकक्षी डा. रामनारायण कन्दङ्वा भन्छन्, ‘सिङ्गो गोर्खा समुदायको लागि मात्रै नभई धरानको लागि पनि अपूरणीय क्षति हो ।’ उनका अनुसार छालाको क्यान्सरबाट पीडित भए पनि इस्बोले क्यान्सरलाई पराजित गरिरहेका थिए । तर, कोभिडलाई पराजित गर्न सकेनन् । ५–६ वर्षयतादेखि उनी छालाको क्यान्सरबाट पीडित थिए । भारतको कोलकत्तामा उपचार गरिरहेका थिए भने झापाको बिएण्डसी अस्पतालस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘किमोथेरापी’ लिइरहेका थिए ।

असोज २६ गते अन्तिम पटक किमोथेरापी लिएको समकक्षी रमेश राईको भनाइ छ । ‘मैले २२ दिनअघि मात्रै झापाको बिएण्डसीमा भेटेको थिएँ, किमो चढाउन पुग्नुभएको थियो’–उनले भने । लगत्तै असोज २७ गते नै इस्बोलाई कोरोना पोजेटिभ देखिएको थियो । जसलाई परास्त गर्न परिवारले भरमग्दुर प्रयास गरेको थियो । इस्बोका भाइ भूमिराजका अनुसार कोरोना देखिएपछि केही दिन होम आइसोलेसनमै राखिएको थियो । त्यसपछि चार दिनसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गरियो । स्वास्थ्यमा सुधार नभएपछि अक्सिजनका साथ पुनः दुई दिन घरमा राखेर विराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो । न्यूरोमा मङ्गलबार बिहानको राति उनको जीवनलीला समाप्त भएको हो ।

सोह्र वर्ष ब्रिटिस सरकारको सेवामा रहेका उनी सन् १९९३ मा अवकाश भएका थिए । सन् १९७७ मा गोर्खा भर्ती लागेका उनले सेवारत हुँदा पनि गोर्खाको हकअधिकारका लागि लडेका थिए । अवकाश पछि ब्रुनाईमा सुल्तानको पल्टन गोर्खा रिजर्भ युनिट (जिआरयु) मा तीन वर्षसम्म काम गरेका थिए । सोही बेला गोर्खाको निमित्त आन्दोलित बन्दा उनीसहित ११ जना गोर्खा निकालिएका थिए । तत्कालीन समयमा जिआरयुमै रहेर निकालिने मध्येका डा. कन्दङ्वा भन्छन्, ‘जिआरयुमा हामीले सङ्गठन बनाएका थियौं, बेलायतले हामीविरुद्ध गरिएको भेदभावविरुद्ध काठमाडौंमा आन्दोलन सुरु भएपछि त्यहाँबाट हामीले आर्थिक, नैतिक सहयोग गरेका थियौं । सङ्गठन बनाएको निहुँमा ११ जनालाई ब्रुनाई सरकारले बन्दुक टाउकोमा राखेर एयरपोर्ट पु¥याएको थियो तर हामीलाई लगिएपछि जिआरयुमा आन्दोलन भएछ, फर्काइयो ।’

त्यहीमध्येका इस्बो पनि एक थिए । बेलायतमा भर्ती भएको हिसाबले सार्वभौमसत्ता सम्पन्न ब्रुनाईमा सन्धि सम्झौताबिनै सेनाको रूपमा काम गराउने गरेकाले पनि त्यसविरुद्ध एकजुट भएको डा. कन्दङ्वा स्मरण गर्छन् । विदेशमा मात्रै हैन, स्वदेशमा पनि सामाजिक, राजनीतिक र गोर्खाहरूविरुद्धको भेदभावका लागि सधै दत्तचित्त भएर लडिरहे । नेपाल आएपछि ब्रिटिस गोर्खा आर्मी भूतपूर्व सैनिक सङ्घ (गेसो) मा ६ वर्ष केन्द्रीय सदस्य र त्यसपछि मृत्युपर्यन्त जिल्ला अध्यक्षको रूपमा कार्यरत रहे । पछिल्लो एक वर्षयतादेखि भने ब्रिटिस गोर्खा एकता समाज सुनसरीको अध्यक्ष थिए ।

उनी गोर्खासँगै सामाजिक अभियानमा २०५३ सालदेखि सक्रिय थिए । जानकारहरूका अनुसार गोर्खाको आर्थिक अभियान, सामाजिक अभियान, समुदायको अभियानमा पनि होमिएका थिए । गोर्खाहरूलाई सामूहिक रूपमा जोड्नका लागि गोर्खा बचत तथा ऋण सहकारी संस्था, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कमा उनको आर्थिक, नैतिक र भौतिक सहयोग रहेको थियो । गोर्खा सहकारीमा १० वर्षसम्म एकछत्र अध्यक्ष रहेका थिए । ‘पदमा नबसी पनि सल्लाह, सुझाव र सहयोगका लागि दिनरात खट्ने मान्छे हुनुहुन्थ्यो’–समकक्षी राईले भने ।

२०६४ सालदेखि सुरु भएको गोर्खा ब्रिटिस स्मृति पार्कमा सहयोग गर्दै आएका थिए । उनी कुनै पदमा नरहे पनि काम भने निरन्तर गरिरहेका थिए । तेह्रथुमको खाम्लालुङ गाविस–४ वाइफुङमा २०१४ साल असारमा जन्मिएका इस्बो अविश्रान्त योद्धा रहेको समकक्षी बताउँछन् । ब्रुनाईबाट निकालिएर नेपाल आएपछि कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उनी २०६९ सालदेखि सङ्घीय समाजवादी पार्टी (हालको जनता समाजवादी पार्टी) मा आवद्ध भए । पार्टी निर्माणसँगै जिल्ला अध्यक्ष हुँदै हाल जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष पदमा रहेका थिए । पार्टीको सुनसरी जिल्ला समितिका संस्थापक अध्यक्ष समेत हुन् ।

‘उहाँको निधनले पार्टीमा अभिभावक नै गुमेको जस्तो, महŒवपूर्ण नेतृत्व गुमाएजस्तो भइराखेको छ,’ जसपाका धरान नगर अध्यक्ष ताजुब लिम्बू भन्छन्, ‘स्थापनाकालदेखि पार्टी निर्माण र जनताको लागि महŒवपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।’ जसपाले इस्बोको निधनलाई ‘अकल्पनीय’ मानेको छ । जसपाबाट उनी गत मङ्सिरमा सम्पन्न धरानको उपनिर्वाचनमा नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए । ‘दृढतापूर्वक उत्पीडित समुदायको लागि लड्ने नेता हुनुहुन्थ्यो’–उनले भने ।

लिम्बू समुदाय संस्कार संस्कृतिको विकासमा पनि अहोरात्र खटिएका थिए । हाल उनी किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार रहेका थिए । उनकै नेतृत्वमा धरान–१५ मा चुम्लुङ हिम भवन समेत बनेको थियो । ‘चुम्लुङ भवन बनाउने कुरामा ठूलो योगदान उहाँहरूकै हो । घर घर गएर रकम सङ्कलन गरेर चुम्लुङ भवन बनाइयो,’ कियाचुका केन्द्रीय सल्लाहकारसमेत रहेका अग्रज पत्रकार हर्ष सुब्बा भन्छन्, ‘कियाचु जिल्ला सदस्य हुँदै केन्द्रीय सचिव हुनुभयो ।’ सुब्बाले ‘विकासको काममा केही गरौं भन्ने भावना भएको मान्छे’ को रूपमा इस्बोलाई बुझेका छन् । आफ्नो कला, संस्कार, संस्कृतिमा पनि समुदायमा माथि उठ्नुपर्छ भन्ने उच्च चेत भएका व्यक्ति थिए । सङ्गठनमा उनको भूमिका त्यस्तै हुन्थ्यो ।

गोर्खाका निम्ति दत्तचित्त

गोर्खाहरूलाई भएको अन्याय र भेदभावका विषयमा सधै डा. कन्दङ्वासँग फोनमा लामो कुराकारी गर्थे । केही दिनअघि मात्रै डा. कन्दङ्वासँग ‘गोर्खा र धरानको समस्याका विषयमा’ झण्डै डेढ घण्टा कुराकानी भएको कन्दङ्वा बताउँछन् । ‘त्यो बेला हल्का फ्लु भएको छ, लक्षण चाहिँ मिल्दैन भन्नुभयो, मैले चाहिँ पीसीआर गर्नुस् भनेको थिएँ, त्यसयता हाम्रो गफ भएको थिएन’–उनले भने । निस्वार्थ भावनाले समर्पित भएर आन्दोलनमा होमिएका एक अगुवा अभियन्ता समाजले गुमाएको डा. कन्दङ्वाको तर्क छ ।