धरान/ पछिल्लो २४ घण्टामा होम आइसोलेसनमा बसेकामध्ये ४ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका चारजना गरी धरानमा आठजनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणलाई सामान्य रुघाखोकीको दर्जामा राखेर लापरबाही अपनाउनेहरूले यी मृत्युलाई अरू नै कारण बताउन सक्छन् । तर, सबैको साझा समस्या भनेको कोरोना पोजेटिभ रिपोर्ट देखिएको र श्वास–प्रश्वासमा कठिनाइ भएको पाइएको छ ।

होम आइसोलेसनमा बसेकामध्ये पछिल्लो २४ घण्टामा ८ जनाको त ज्यानै गएको छ । चारजना बीपी प्रतिष्ठानको इमर्जेन्सी र कोभिड अस्पतालमा र चार जना होम आइसोलेसनमा बसेकाहरूको ज्यान गएको हो । ती आठजनामध्ये सबैले आइसियु भेण्टिलेटर व अक्सिजन आपूर्ति गर्ने बेडमात्र पाएको भए आधा त बाँच्न सक्ने थिए । तर, दुर्भाग्य प्रतिष्ठानको कोभिड अस्पतालमा जडान गरिएका १० वटामध्ये ७ वटा आइसियु भेण्टिलेटर कामै नलाग्ने भएपछि बेड अभाव भन्नुपरेको छ ।

प्रतिष्ठानका होस्टल इञ्र्चाजसमेत रहेका कोरोना संयोजक डा. इन्द्र लिम्बूले भने, ‘कोेभिड अस्पतालको आइसियु भेण्टिलेटरमा भर्ना गर्न भनेर धरानबाट मात्र दैनिक १५ जना बढीले फोन सम्पर्क गरिरहेका छन् । तर, बेड अभावले उनीहरूलाई भर्ना गर्न सकिरहेका छैनौं ।’

आफ्नो नजिकको अस्पतालमा भर्ना हुन पाउने अवस्था नभएपछि घरैमा श्वास–प्रश्वासको समस्या भोग्दाभोग्दै मृत्यु हुनेको सङ्ख्या धरानमा एक्कासि बढेको छ । कम्तिमा प्रतिष्ठानको कोभिड अस्पतालमा भएका १० वटै आइसियु भेण्टिलेटर बेड सही ढङ्गमा भएको अवस्थामा यो २४ घण्टाको अवधिमा धरानका ८ जनाको मृत्यु नहुन सक्थ्यो ।

कोरोना सङ्क्रमितका लागि भनेर प्रदेश र सङ्घीय सरकारले सात महिनाअघि १२ करोड ५० लाख रुपैयाँ दिएको थियो । उक्त रकमले भवन बनाउन पर्दैनथ्यो । केवल मेडिकल उपकरण खरिद गरे पुग्थ्यो । कोभिड अस्पतालमा चेतन अग्रवाल दाजुभाइको द मेडिकल सोल्युसन फर्मबाट खरिद गरिएका ८ वटा आइसियु भेण्टिलेटर जडान भएका छन् ।

ती भेण्टिलेटर आयरल्याण्डको कोभिडियन कम्पनीले निर्माण गरेको बताइएको छ । एउटा आइसियु भेण्टिलेटरको मूल्य १७ लाख रुपैयाँ परेको बताइएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले फोनको भरमा आपूर्ति गरेका ती बहुमूल्य आइसियु भेण्टिलेटर किन काम लागेनन् भनेर त बिहीबारको छलफलमा पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेलले बीपी प्रतिष्ठानका पदाधिकारिलाई प्रदेश मन्त्रीको अगाडि प्रश्न गरेका छन् । मेडिकल उपकरणबारे जानकार र गुणस्तर बताउन सक्ने बायोमेडिकल इञ्जिनियरलाई बाईपास गरेर कमिसनको लालचमा बिना टेण्डर खरिद गरिएको उक्त मेडिकल उपकरणले कामै नगरेपछि कोरोना सङ्क्रमितको बढी नै मृत्यु भएको अनुमान गरिएको छ ।

उक्त मेडिकल उपकरण खरिद गर्नका लागि उपकुलपति गिरीका पिए तथा प्रशासनिक सल्लाहकार (जसले मासिक १ लाख तलब खाइरहेका छन्) अर्घाखाँचीका दिलिप भट्टराईकै सल्लाहअनुसार शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र उपमुलपति गिरीले चेतन अग्रवालको कम्पनीबाट खरिद गरेको बताइएको छ । त्यसमा अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहको अध्यक्षतामा प्राविधिक गुणस्तर कमिटीले सिफारिस गरेको बताइएको छ । बिरामी बचाउनका लागि जडान गरेको आइसियु भेण्टिलेटर कामै नलाग्ने भएपछि कसरी बिरामी बच्न सक्छ ?

यसै विषयलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको बेथिति र सङ्क्रमितले अक्सिजन बेडसमेत नपाएको व्यापक जनगुनासो आएपछि बिहीबार प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठान आएर सोधीखोजी गरेका थिए । बैठकमा सुनसरीका प्रजिअ पोखरेलले ‘कोभिड अस्पतालमा जडान गरेको नयाँ भेण्टिलेटर किन बिग्रियो ?’ भन्दै प्रश्न गरेको थिए । उनले खरिद गरेको नयाँ आइसियु बिग्रनुमा को जिम्मेवार छन् ?’ भन्दै थप प्रश्न पनि गरेका थिए ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आइसियु अभाव भएको कारण होम आइसोलेसनमा मानिसले ज्यान गुमाउन थालेको बताए ।