नेपाली काङ्ग्रेस मास पार्टी भएकाले उपल्लो तहका कर्तव्यनिष्ठ, समर्पित, इमान्दार कार्यकर्ता भए तापनि व्यक्तिगत सुख–दुःख बारे सिद्धान्ततः चाख नराख्ने पार्टी हो । कार्यकर्ताहरूमा सौहाद्र्रता भए तापनि सङ्गठनका दृष्टिले आपसमा अपनत्व कायम राख्न सक्ने सौहाद्र्रता छैन । आफै मात्र उक्लिने, बलियो हुने होडबाजी छ । ‘गु्रपइजम’ पनि एउटा कारण हो, सङ्गठन सुदृढ नहुनुमा । त्यसैले युग सुहाउँदो वैज्ञानिक छैन नेपाली काङ्ग्रेस ।

सङ्गठनबारे नेताहरू चिन्ता व्यक्त गर्छन् । नेताहरूको कार्यकर्ताप्रतिको व्यवहार र व्यवहारिक तालमेल फरक छ । धेरै वर्षदेखि काङ्ग्रेसका पदाधिकारीहरू धेरै आए, जति पनि आए झन्–झन् बिगिँ्रदै बिगार्दै आए । यसको दोष तलबाट मात्र होइन, केन्द्रदेखि नै भइरहेछ । आज यस अवस्थामा पुग्नुको मूल कारण केन्द्र नै हो ।

समयमा विधानसम्मत समितिहरूको गठन नहुनु, मुलुकको निर्वाचनमा तीनै तहमा हार हुनु, चितवनको निर्वाचनमा जालझेल गरी दुईपटक चुनाव गराएर भए पनि स्थानीय कार्यकर्ताको मनोबल गिराउने कार्य गर्नु । अनि अधिवेशनको मिति तोकिसकेको अवस्थामा समितिको गठन गर्नु । खै नैतिकता ?

मनोनित बौद्धिक व्यक्तिहरू अवैधानिक प्रक्रियाबाट मनोनित हुनुमा आफ्नो मूल्याङ्कन भएको सम्झी कुनै प्रतिक्रिया नजनाई मौन बस्नुमा गर्व गर्छन् । महाधिवेशन महाधिवेशनका लागि मात्र नहोस्, नेपाली काङ्ग्रेसका लागि हुन सकोस् भन्ने बुझ्नु जरुरी छ ।

आजका युवाहरू युगलाई डोर्याउँदै, गन्तव्यमा पुग्न आतुर छन् । नैतिकता, इमान्दारिता, विधि विधानअनुसार कार्यकर्ता परिचालन हुनुपर्छ भन्छन् । तर, केन्द्रदेखि नै बलमिच्याइँ प्रवृत्ति हाबी छ । त्यसैले ‘काङ्ग्रेस प्रजातन्त्रका लागि लड्ने पार्टी हो । पार्टीमा प्रजातन्त्र चाहिन्छ भन्ने पार्टी होइन ।’ पार्टीमा नै प्रजातन्त्र नरहेपछि यो पार्टीलाई कसरी लोकतन्त्रवादी भन्ने ? काङ्ग्रेसले अमेलको खाडल छिचोले पनि मनयोगको खाडल छिचोल्न सकेको छैन । इतिहास मूर्दाको कथा होइन, जसले तपाई हामीहरूको वर्तमानलाई उपयोग गरिरहेछ ।

‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो’ लास बराबर । लासको समयमै अन्त्येष्टि गरिएन भने कुहिन्छ, गन्हाउँछ, त्यसैले रोग फैलिन्छ । यतिखेर काङ्ग्रेस यस्तै भएको छ । सिद्धान्त, विचार, मूल्य मान्यता, सदाचार, नैतिकता जस्ता कुरामा खडेरी परेको छ । सदाचारी शालीन काङ्ग्रेसका कार्यकर्ताहरूले नेतृत्व लिनुपर्नेमा महादेवले सतीदेवीको लास बोकेजस्तो अभिशप्त भएको छ ।

काङ्ग्रेसजनले यतिखेर यी पनि मनन् गर्ने कुराहरू हुन् । विगत ३० वर्ष शासन गरेको काङ्ग्रेसले किन समाजलाई परिवर्तन गर्न सकेन । राजनीतिक परिवर्तन मात्र सबैथोक होइन । सामाजिक अवयवहरूको परिवर्तन मात्र साँचो परिवर्तन हो । उदारवादी भनिएको नेपाली काङ्ग्रेस पनि सिद्धान्तविहीन र शक्तिका लागि राजनीति गर्नेहरूको दल बनेको छ ।

यस्तै उस्तै थुप्रै कमजोरी बारे सोच्नु आवश्यक भएको छ आज । महाधिवेशन व्यक्तिगत सपनाको भ¥याङ नबनोस् । ढुङ्गाको काम नलाग्ने थुप्रो भएर मात्रै हुन्छ र ? हामीलाई हीरा–मोती भएको पत्थर चाहिएको छ । गङ्गालाल, धर्मभक्त, दशरथचन्द, शुक्रराज, थोरै नै थिए र जन्माए बीपी, गणेशमान, सुवर्णशमसेर, पुष्पलाल, मनमोहन ।

सतीदेवीसँग आशक्त महादेव बहुलाएर लास बोकी संसार घुमे धेरै दिन अस्त–व्यस्त रह्यो, देवताहरूमा हाहाकार मच्चियो । त्यस्तै अवस्था काङ्ग्रेसको छ ‘सत्यमेव विजयते’ होइन, ‘सत्यमेय जयते’ हो । शक्तिले विजय होला यो लोभी लालची संसारमा जय गर्छ भन्न सकिन्न ।

एउटा भनाइ मनन् गरौं –‘राष्ट्र प्रमुख देशभित्र पूजनीय हुन्छन् तर, विद्वान विश्वभर ।’ त्यसैले यहाँ पुँजीवादी विश्लेषकहरू नै भन्छन्– ‘विद्यमान नेपाली समाजको राजनीति पुँजीवादी भए तापनि यसको संस्कृति सामन्तीवादी छ । जस्तैः हिन्दु धर्ममा देशभक्ति भन्ने अवधारणा छैन, त्यहाँ राजभक्ति छ । धर्मले देशभक्ति होइन, राजभक्ति सिकाउँछ ।

यतिखेर म एउटा विद्वान लेखकलाई सम्झन्छु । वहाँलाई म चिन्दिन, प्रत्यक्ष भेटघाट भएको छैन, बोलचाल पनि छैन । तर, वहाँको प्रजातन्त्रप्रतिको आस्था, यसबारेका वहाँको लेख मेरा लागि मर्मस्पर्शी छन् । स्पष्ट र सटिक शब्दहरूको चयन उच्चस्तरको भएकाले खोजीखोजी म पढ्न चाहन्छु । लोकतन्त्रवादी त्यागी लेखकको हार्दिकतालाई सम्मान गर्दछु ।

महाभारतको एउटा प्रसङ्ग कोट्याउँदै भन्नुभएको छ, ‘छोराले बाबुलाई, भाइले दाजुलाई, मित्रले मित्रलाई काटिरहेको, मारिरहेको, चारैतिर हिंसा र रक्तपातको कोलाहल मच्चाइरहँदा पनि युधिष्ठिरले झुठो बोल्दैन भन्ने विश्वास र आस्थाको एउटा दियो कतै बलिरहेको थियो । त्यो विश्वास र आस्था नेपाली काङ्ग्रेस नै हो । त्यो काङ्ग्रेस तपाईंहरू नै हो’–रेवतीरमण सुवेदी ।

म सुनसरी,  धरानको बासिन्दा भएकाले यहाँका काङ्ग्रेसी बारे छोटो टिप्पणी गर्दछु । सुनसरीका काङ्ग्रेसी केही नेताहरू पद र पैसा हत्याउन अधिनायकवादी माओको जन्ती जान हतारिएका छन् र आफ्नै सिद्धान्तको मलामी बनिरहेछन् । त्यसैमा लामबद्ध भई लागिपरेका छन् । ‘प्रजातन्त्र भनेको त मनोभावना वा धारणा हो ।

जीवनप्रतिको भावना समाजप्रतिको भावना अनि कुनै पनि प्रश्नमाथिको दृष्टिकोण नै प्रजातन्त्र हो ।’ यिनै कुरा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्यहरूले आउँदो अधिवेशनमा गम्भीरताका साथ मनन् गरिदिन आवश्यक छ । आउँदो अधिवेशनले पनि ताŒिवक परिवर्तन हुने लक्षण भने देखिँदैन । पार्टीलाई जीवन्तता दिन परिवर्तन परिवर्तनका लागि हुन सकोस् ।