सन् १९८५ मा भएको अन्तर्राष्ट्रिय युवा भेलाले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा भनी परिभाषित गरेको छ । संयुक्त राष्ट्र सङ्घ र विश्व बैङ्कले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा भनी परिभाषित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणबाट १५ देखि २९ वर्षको उमेर सम्मको मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ मा युवा भन्नाले १६ देखि ४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने उल्लेख छ ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मका युवाको सङ्ख्या १ करोड ६ लाख ९० हजार रहेको छ । यो नेपालको कुल जनसङ्ख्याको ४०.३४ प्रतिशत हो । नेपालको सय वर्षको इतिहासमा युवाको जनसङ्ख्या उल्लेख्य रहेको पहिलो पटक हो । यस कारणले पनि यो ऊर्जाशील मानव स्रोतसाधनको हिसाबले ऐतिहासिक युग हो । ऊर्जावान तथा सिर्जनशील उमेर समूह बढी हुनु भनेको विकास तथा परिवर्तनका लागि महŒवपूर्ण अवसर हो । नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही सुशासन, विकास र समृद्धि हासिल गर्ने राष्ट्रिय कार्यसूची निर्धारण गरेको छ । सामन्तवादका अवशेषलाई समाप्त गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समृद्धि, आर्थिक समानता र सामाजिक न्याय सुनिश्चित गर्ने मार्गदर्शन गरेको छ । युुवाहरूमा रहेको जोश, जाँगर, इच्छाशक्ति र निःस्वार्थ भावनाले मात्र विकास, समृद्धि, सुशासन, र भ्रष्टाचाररहित समाजको निर्माण गर्न सक्छन् ।

नेपाल सरकारले २०६५ सालयता युवा तथा खेलकुदको क्षेत्रमा काम गर्न छुट्टै युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवाको हकहितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत मुलुक निर्माणका लागि राष्ट्रिय युवा परिषद् गठन गरेको देखिन्छ । तर, युवा परिषद्ले युवा दिवस मनाउनु बाहेक देखिने र सुनिने गरी युवा लक्षित कार्यक्रम दिन सकेको छैन । यसले युवा विकासको ठोस कार्यक्रम दिन सकेको छैन । यसले युवाको नेतृत्व र क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सकेको छैन । युवाको पहुँच विस्तार र सहभागिता वृद्धि सुनिश्चितता भएको छैन । समृद्ध राष्ट्र निर्माणमा युवा परिचालन हुन सकेको छैन ।

१. गुणस्तरीय र व्यावसायिक शिक्षाः नेपाल सरकारले युवाहरूलाई व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्नुपर्छ । बेरोजगार उत्पादन गर्न शिक्षा होइन, रोजगारी सिर्जना गर्ने शिक्षा युवाहरूलाई प्रदान गर्नुपर्छ । बोल्न सिकाउने शिक्षा होइन, काम गर्न सिकाउने शिक्षा चाहिन्छ । सरकारले विद्यालय तहदेखि नै प्राविधिक शिक्षामा जोड दिनुपर्छ । सरकारले ७० प्रतिशत प्रविधिक शिक्षा र ३० प्रतिशत साधरण शिक्षा पठन–पाठनको व्यवस्था गर्नुपर्छ ।

शिक्षा विकासको प्रमुख पूर्वाधार हो । गुणस्तरीय शिक्षाले मात्र नेपालको दिगो विकास सम्भव छ । गुणस्तरीय शिक्षाबाट गुणस्तरीय मानवीय स्रोत व्यवस्थापन गर्न सकिन्छ । गुणस्तरीय मानवीय स्रोतबाट मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ । गुणात्मक र उत्पादनशिल शिक्षाले नै राष्ट्रको समृद्धिको ढोका खोल्दछ । अबको राजनीतिले वर्तमान शिक्षा नीति र कार्यक्रममा यथाशिघ्र परिवर्तन गर्नु पर्दछ । राजधानीमा केन्द्रित शिक्षा प्रणालीलाई प्रत्येक जिल्लासँग जोड्नु पर्दछ । जिल्लाको आवश्यकता, साधन स्रोत अनुरूप व्यावसायिक र प्राविधिक शिक्षाको व्यवस्था हुनु पर्दछ ।

शिक्षाको आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यवहारीकरण नगरी नेपालको विकास सम्भव छैन । २००७ सालमा जम्मा तीनसय विद्यालय र १० हजार विद्यार्थी थिए । अहिले देशभरि ३६ हजार विद्यालय र ८० लाख विद्यार्थी विद्यालयमा अध्यनरत छन् । अहिले विश्वविद्यालयको सङ्ख्या पनि ११ पुगिसकेको छ । अझै खुल्ने क्रममा छन् । विश्वविद्यालय करिब १० लाख विद्यार्थीहरू अध्ययनरत छन् । प्रशस्त मेडिकल तथा इञ्जिनियरिङ कलेजहरू स्थापना भइसकेका छन् । कृषि विश्वविद्यालय र प्रशस्त कृषि क्याम्पस सञ्चालन गर्नुपर्छ ।

२. स्वास्थ्य र सामाजिक सुरक्षाः
युवाहरूको सर्वोत्तम धन नै स्वास्थ्य हो । स्वस्थ र बलिया युवा नै राष्ट्रका सम्पत्ति हुन् । शारीरिक रूपमा स्वस्थ र बलिया युवाबाट मात्रै विकास, समृद्धि र सुशासनको परिकल्पना गर्न सकिन्छ । त्यसैले सरकारले सबै युवालाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनु पर्छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनु हुँदैन । सरकारले सुविधा सम्पन्न क्षेत्रका अतिरिक्त दुर्गम क्षेत्रमा पनि डाक्टर र औषधिको उपलब्धता गराई स्वस्थ युवा तयार पार्नु पर्दछ । सबै नागरिकको स्वास्थ्य बिमा गर्नुपर्छ । सबै नागरिकको स्वच्छ खानेपानी र सरसफाइमा पहँुच पु¥याउनु पर्छ । सरकारले अशक्त र अपाङ्ख युवाहरूको लालन–पालनको व्यवस्था गर्नुपर्छ । आर्थिक रूपले विपन्न र लोपोन्मुख जातिका युवालाई संरक्षण र सशक्तिकरण गर्नुपर्छ ।

३. युवा परिचालन, सहभागिता र नेतृत्व विकासः
मुलुकमा राजनीतिले सही गति र दिशा नलिँदा, युवाहरूमा देश र राजनीतिप्रति वितृष्णा, आक्रोश, असन्तुलित र नकारात्मक धारणाको विकास भएको छ । २०४६ सालको जनआन्दोलन होस् कि २०६२/०६३ सालको दोस्रो जनआन्दोलन होस्, दुवै राजनीतिक जनआन्दोलनहरुमा युवाहरुको सहभागिता निर्णायक भएको पाइन्छ । हाम्रो राजनीतिले जनआन्दोलनमा युवा परिचालन र सहभागिता गराउँछ तर, नेतृत्व विकास गराउँदैन । हाम्रो राजनीतिक नेतृत्वले परिवर्तनका बाहक युवाशक्तिलाई आन्दोलनपछि सधैँ उपेक्षा गर्दै आएका छन् । २०४६ सालको प्रथम जनआन्दोलन होस् अथवा २०६२/०६३ सालको दोस्रो जनआन्दोलनपछि पनि युवाहरूको बारेमा राज्यले ध्यान दिन सकेन । युवाहरू अहिले पनि सकसपूर्ण अवस्थामा जीवन चलाउन बाध्य छन् । उनीहरूको आकांक्षा वा आवश्यकतालाई छिटो सम्बोधन गर्न सकिएन भने उनीहरूको धैर्यताको बाँध टुट्न सक्छ र उनीहरू वर्तमान राजनीतिक व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सरिक हुन सक्छन् । सङ्घीय गणतन्त्र खतरामा पर्न सक्छ ।

त्यसैले अब युवालाई राष्ट्रिय विकासको मुलधारमा ल्याई उनीहरुमा निहित क्षमताहरूको विकास, परिचालन र सहभागिता गराउनु पर्छ । युवाको नेतृत्व विकास गर्नु पर्छ । युवाहरूलाई आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्रमा स्थापित गर्नुपर्छ । युवाहरूले पनि नेतृत्व विकासमा अग्रसरता लिनु पर्छ । योग्यता क्षमता प्रदर्शन गर्नुपर्छ । विचार र एजेण्डा सहित युवाहरु अगाडी आउनु पर्छ । विचार, एजेण्डा, मिसन, भिजन र दृष्टिकोणले मात्र युवाहरू नेतृत्वमा स्थापित गर्नसक्छ ।

युवाहरुलाइ विकास निर्माणमा परिचालन गर्नु पर्छ । उनीहरुलाई राष्ट्र निर्माणमा सहभागी गराउनु पर्छ । आम युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्म निर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्वमार्फत् शान्तिपूर्ण र समृद्ध नेपाल निर्माण गर्नुपर्दछ । शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा लगायत युवा विकासका सेवामा व्यापक लगानी गरी आम युवा सहभागिता, सहकार्य र नेतृत्व विकास मार्फत आगामी केही वर्षभित्र राष्ट्रिय समृद्धि समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अति कम विकसित राष्ट्रवाट द्रुत विकासशील राष्ट्रमा पु¥याउने सक्षम जनशक्ति तयार गर्नुपर्दछ ।

समाजमा रहेका विकृति, विसङ्गति र कुसंस्कार विरुद्ध युवा परिचालन गर्नु पर्छ । महिला हिंसा, बेचबिखन, दाइजोप्रथा, अन्ध विश्वासलगायत सामाजिक कुरीति विरुद्ध युवालाई सङ्गठित रूपमा परिचालन गर्नु पर्छ । युवा परिचालनमार्फत् विभिन्न खाले शोषण, दमन, थिचोमिचो हटाउन सकिन्छ । धनी–गरिब, जात–जाति, महिला–पुरुष, भाषा–भाषी, ठूला–साना, कालो–गोरो आदि विभेदको अन्त्य गर्न सकिन्छ । भ्रष्टाचार र कुशासनको विरुद्ध आवाज बुलन्द गर्न सकिन्छ । लैङ्गिक विभेदको अन्त्य गर्न सकिन्छ । लैङ्गिक विभेदका कारण जन्मिएका थिचो–मिचो, आर्थिक शोषण, श्रम शोषण, यौनशोषण र मनोवैज्ञानिक शोषणको अन्त्य गर्न सकिन्छ । निरक्षरता उन्मूलन, प्रौढ तथा शिशु शिक्षासम्बन्धी कार्यहरू गर्न सकिन्छ । युवामार्फत् स्थानीय स्रोत, साधन र प्रविधिको विकास र परिचालन गर्न सकिन्छ । स्थानीय प्रकृति, वातावरण, जीवजन्तु तथा वनस्पतिको संरक्षण, विकास र उपभोग गर्न सकिन्छ । युवा महिला स्वास्थ्य, सुरक्षित मातृत्व, पोषण आदि कुरामा ज्ञान, सीप तथा सेवाको व्यवस्था युवामार्फत् गर्न सकिन्छ । शिक्षा, स्वास्थ्य र वातावरणको बारेमा जानकारी गराउन सकिन्छ ।

४. रोजगारी, उद्यमशीलता र सीप विकासः ३७ खर्ब ६७ अर्बको सानो अर्थतन्त्र भएको मुलुक कोभिड–१९ को महाव्याधिसँगै बहुआयामिक सङ्कटमा फसेको छ । होटल, पर्यटन, यातायात र शिक्षा क्षेत्र उठ्नै नसक्ने गरी थलिएका छन् । बेरोजगारी र गरिबी बढेको छ । मुलुकभित्र औपचारिक र अनौपचारिक क्षेत्रमा गरी करिब ३० लाख र मुलुक बाहिर वैदेशिक रोजगारीमा रहेकामध्ये करिब २० लाख युवाहरू बेरोजगार भएका छन् । नेपालको श्रम बजारमा प्रतिवर्ष करिब ५ लाखको हाराहारीमा श्रम शक्ति युवाको प्रवेश हुन्छ तर, अहिले स्वदेशभित्र रोजगारी प्राप्त गर्ने अवस्था छैन । लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायत सरकारी सेवा प्रवेशका सबै आयोगहरूका परीक्षा कोभिड–१९ का कारणले अनिश्चित भएको छ । निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीे, राष्ट्रिय अनुसन्धान विभाग र सरकारी स्वामित्वका संस्थानहरूले गत आ.व.मा मागेको करिब १५ हजार दरबन्दी लोकसेवा आयोगले कोभिड–१९ का कारण अझै पूर्ति गर्न सकेको छैन । सरकारले कोभिड–१९ महाव्याधिसँगै खर्च कटौतीका लागि दरबन्दी कटौती गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो सर्वेक्षणअनुसार कोभिड–१९ को महाव्याधिसँगै निजी क्षेत्रले करिब २५ प्रतिशत रोजगारी कटौती गरेको छ ।

नेपालमा बेरोजगारी, अर्ध बेरोजगारी र आंशिक रोजगारीका कारण युवाहरूमा नैराश्यता देखा परेको छ । संसारभर मध्यम् तथा लघु उद्यमले मुलुकमा अधिक रोजगारी सिर्जना गरी युवाहरूमा भएको नैराश्यतालाई सम्बोधन गरेको पाइन्छ । नेपालमा पनि युवाहरूमा उद्यमशीलता सिर्जना गर्ने उद्देश्यले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, लघुउद्यम विकास केन्द्र, कृषिउद्यम विकास केन्द्र जस्ता संस्थाहरू स्थापना गरी सञ्चालनमा ल्याइएको छ । तर, तिनको प्रभावकारिता बढाउनु पर्ने खाँचो छ । लघुउद्यम केन्द्रमार्फत् देशभर युवाहरूलाई व्यापक रूपमा उद्योग व्यवसायको तालिम दिन सकिन्छ । त्यसैगरी कृषि उद्यम विकास केन्द्रमार्फत् देशभर युवा कृषकहरूलाई व्यापक रूपमा कृषि व्यवसायीकरणको तालिम दिन सकिन्छ । यस्ता तालिमप्राप्त व्यक्तिलाई स्वरोजगार केन्द्र वा बैङ्क वा वित्तीय संस्था वा ग्रामीण लघुकर्जा कार्यक्रममार्फत् पुँजी उपलब्ध गराउन सकिन्छ । कृषिले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छ । कृषिको व्यावसायीकरण र औद्योगीकरणमार्फत् रोजगारी सिर्जना गर्न सकिन्छ । यसले युवाहरूलाई आत्मनिर्भर बनाउँदै मुलुकलाई नै समृद्ध बनाउन मद्दत गर्दछ ।

सरकारले साना तथा घरेलु उद्योगहरूलाई संरक्षण गरी रोजगारी सिर्जना गर्नुपर्छ । सरकारले उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्दछ । साना तथा घरेलु उद्योगहरू विकास र विस्तार गर्न सक्ने हो भने गाउ“–गाउ“मा उत्पादन बढाई हजारौं नेपालीलाई रोजगारी प्रदान गर्न सकिन्छ । साना तथा मझौला उद्योगको विकासका लागि विशेष अभियान सञ्चालन गरिनु पर्दछ । उद्योगहरूलाई चाहिने कर्जा सस्तो दरमा उपलब्ध गराउनु पर्दछ । युवाहरूलाई स्वरोजगार बनाउन प्रत्येक स्थानीय तहहरूमा घरेलु उद्योग ग्रामको स्थापना गर्नु पर्दछ । बन्द भएका सरकारी उद्योगहरू सञ्चालनको व्यवस्था गर्नुपर्दछ । ठूला उद्योग सञ्चालनका लागि वैदेशिक लगानी भिœयाउनु पर्दछ । ठूला उद्योगले व्यापक रोजगारी सिर्जना गर्न सक्छ ।

५. खेलकुद र मनोरञ्जनः खेलकुद र मनोरञ्जन युवाकालको सबैभन्दा प्रिय वस्तु हुन् । यसले युवालाई शारीरिक र मानसिक रूपमा स्वस्थ, सक्रिय र बलियो बनाउँछ । यसले युवालाई अनुशासित, सहनशील, कर्तव्यनिष्ठ, समर्पित र इमान्दार बनाउँछ । युवाको व्यक्तित्व र भातृत्व विकास गर्छ । युवाहरूमा व्यावसायिक गुण र क्षमताको विकास गर्छ । युवाहरूलाई आशावादी, दूरदृष्टि र स्वप्नशील बनाउँछ । खेलकुदको विकासले युवामा राष्ट्रिय भावना, जातीय सद्भाव र सामाजिक एकता कायम गर्न मद्दत गर्दछ । सरकारले युवाहरूका लागि प्रत्येक स्थानीय तहमा मनोरञ्जन केन्द्र, व्यायामशाला, पार्क, रङ्गशाला, कभर्डहल, खेल मैदान, सांस्कृतिक केन्द्र, कला केन्द्र, नाटक घर, प्रदर्शनीस्थलहरू आदि स्थापना गर्नुपर्छ । सबै युवाहरूको खेलकुदमा पहुँच सुनिश्चित गर्न विद्यालय तहदेखि नै खेलकुदको विकास र विस्तार गर्नुपर्छ । खेलकुद विद्यालय र विश्वविद्यालय स्थापना गर्नुपर्छ । सरकारले उत्कृष्ट खेलाडीहरू उत्पादन गर्न ठूलो लगानी गर्नुपर्छ । उत्कृष्ट खेलाडीहरू राष्ट्रका गहना हुन् । उत्कृष्ट खेलाडीहरूमार्फत् राष्ट्रको मान, सम्मान र प्रतिष्ठा वृद्धि हुन्छ । खेल क्षेत्रको विकास र विस्तारमार्फत् ठूलो सङ्ख्यामा युवाहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ । युवाहरूलाई स्वरोजगार बनाउन सकिन्छ ।