बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थिति बिना नै धानको समर्थन मुल्य तोकेको तथा सहकारी संस्थालाई खरिद गर्न अनुमति दिएको भन्दै धान उत्पादक किसानले उनको आलोचना गरेका छन् ।

जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रममा कृषिमन्त्री भुषालको किसानले आलोचना गरेका हुन् । धान सुपरजोन झापाका अध्यक्ष विश्वनाथ बरालले किसानसँग छलफल नगरी धानको मूल्य तोकिएकोमा असन्तुष्टि व्यक्त गरे । ‘लागत मूल्यको आधारमा मूल्य तोक्नु पर्ने हो, अहिले प्रतिक्विन्टल ३ हजार ५ सय मूल्य राख्दा मात्र किसानको लागत उठ्छ’ बरालले भने, ‘मन्त्री ज्यू कसैको प्रभावमा पो पर्नुभयो कि !”

बरालले मन्त्रीसँगै प्रश्न गर्दै भने, ‘म धान सुपरजोनको अध्यक्ष, हाम्रो प्रतिनिधित्व बिना नै तपाईँले के आधारले समर्थन मूल्य तोक्नु भयो ?’ मन्त्री भुसालले कृषि प्राविधिकको सहयोगमा समर्थन मूल्य तोकिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका थिए । मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका बरालले अर्गानिक धान उत्पादनमा लागत बढी लाग्ने जनाउँदै मन्त्रीले किसान मारा समर्थन मूल्य तोकेको आरोप लगाए । सहकारीले ३ सय विगाहमा अर्गानिक धान उत्पादन गर्दै आएको छ ।

मन्त्री भुसालले यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराउन सकेनन् । सरकारले खरिद गर्ने भनिएको मल अहिलेसम्म किसानलाई उपलब्ध नगराएकोमा उनी आलोचित छन् । कतिपय अगुवा धान पाकेर रातै भएको छ । मल अभावमा यस वर्ष धान उत्पादन नै कम हुने बताउँदै एक किसानले भने, लगातारको वर्षाले धानमा ढुसी पर्न थालेकाले पनि उत्पादन झन घट्न सक्छ ।’

सरकारले असार पहिलो साता नै मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मन्त्रिपरिषद् बैठकले भुसालकै प्रस्तावमा मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । सोही मूल्यलाई मन्त्री भुसालले झापामा सहकारीले आयोजना गरेको कार्यक्रममा समर्थन मूल्य भन्दै सहकारीलाई धान खरिद गर्न सुझाव दिए ।

सहकारी संघले आयोजना गरेको कार्यक्रममा किसानको सहभागिता थिएन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, धान सुपरजोन लगायतका नेतृत्वदायी सरोकारवाला संस्थाको उपस्थिति बिना नै सहकारीलाई धान खरिद गर्न मन्त्री भुसालले सुुझाव दिएका हुन् ।

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले जिल्लाकै कृषि सहकारीले किसानको धान खरिद गर्ने र कृषि सहकारीलाई धान खरिद गर्न अन्य सहकारीले सहयोग गर्ने निर्णय गरिएको बताए । उनले सरकारले तोकेको समर्थन मूल्यमा सहकारीले धान खरिद गर्ने बताए ।

सरकारले तोकेको समर्थन मुल्य समेत स्थानीय ब्यापारीले नदिदा किसान झन मारमा परेको बताउँछन । ब्यापारीले २ हजार ३ सय प्रतिक्विन्टलले खरिद गर्ने गरेको पाइएको छ । किसानको लागत नउठ्ने भएका कारण धानखेतीप्रति धेरैले चासो देखाउन छोडेको बताइएको छ ।