निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरी जिल्लाका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन तामाङसंग कोरोना महामारीले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे ब्लाष्ट दैनिकले गरेको कुराकानीको सारः

कोरोनाले विश्वको शैक्षिक प्रणालीलाई नै तहस–नहस पारेको सुनिन्छ, त्यस्तो हो ?
–शतप्रतिशत सही हो ।

कोरोनाले गर्दा चालु वर्षको शैक्षिक सत्र नै प्रभावित भएको अवस्था छ, यसलाई कसरी सञ्चालन गर्नेबारे सोच्नुभएको छ ?
–हामी चल्ने शिक्षा मन्त्रालय र सरकारकै मातहतमा हो । त्यसैले शैक्षिक व्यवस्थापनको पूर्ण दायित्व सरकारकै रहन्छ । तथापि हामीले पनि विभिन्न वैकल्पिक विधि अपनाएर भए पनि यो शैक्षिक सत्र पूरा गर्ने सोच बनाएका छौं ।

वैज्ञानिकहरू कोरोना सन् २०२१ को अन्तसम्म रहन्छ भन्छन्, यस्तो अवस्थामा प्याब्सनले वैकल्पिक शिक्षाबारे के सोचेको छ ?
–शैक्षिक गतिविधिमा भौतिक उपस्थिति जस्तो त अनलाइन वा अन्य विकल्प सहज हुन नसक्ला । तथापि यो महामारीको प्रकोप रहिरहेमा अनलाइनलगायतका अन्य विधिसमेत अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आगाडि बढ्ने सोच प्याब्सनको रहेको छ ।

प्याब्सनसँग दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भदौ ८ गते विद्यार्थी पढाउन सजिलो विकल्पको रूपमा ह्याप्पी लर्निङ प्याक दिएको अवस्था थियो । भनेको अनलाइन प्रविधिबाट पढाउन सहज गराउन खोजिएको थियो यो के भइरहेको छ ?
–विषम परिस्थितिलाई मध्यनजर गर्दै सक्दो सबै विद्यार्थीका पहुँचमा शिक्षा पुगोस् भन्ने अभिप्रायले विद्यार्थीको शैक्षिक वर्ष कुनै पनि बहानामा खेर नजाओस् भन्ने नै प्याब्सनको धारणा हो । सोही अनुरूप नै टेलिकमसँग समन्वय गरेर ल्याइएको शैक्षिक कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ ।

भनेपछि अबको विकल्प के हुन सक्छ ? के नेपालको शिक्षा प्रणाली पनि अनलाइनमा सधैँका लागि जान सक्ला ?
–पहिलो कुरा, सरकारले जुनसुकै प्रविधि अपनाउँदा पनि सम्पूर्ण विद्यार्थीलाई शिक्षण सिकाइको दायरामा ल्याउन सक्नुपर्छ । त्यसैले जुन विधि अपनाउँदा सहज हुन्छ, त्यसलाई अपनाइनुपर्छ । नेपालमा सधैँ अनलाइन शिक्षा प्रणाली मेरो विचारमा अहिले नै धेरै गाह्रो कुरा हो जस्तो लाग्छ । तसर्थ सामाजिक दूरी कायमै गरी विभिन्न सावधानका तौरतरिका अपनाएर भौतिक उपस्थितिमै शिक्षण सिकाइ विधि अपनाउँदा उत्तम हुन्छ ।  

अहिले निजी तथा संस्थागत विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूको अवस्था दुरूह भएको पाउँछौं, ती शिक्षक तथा कर्मचारीको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
–अहिलेको अवस्थामा निजी तथा संस्थागत विद्यालयहरू धरासायी अवस्थामा पुगेका छन् । यस्तै अवस्था रहिरहे र सरकारले कुनै ठोस कदम नचाले धेरै विद्यालयहरू बन्द हुने अवस्थामा पुग्छन् । हामीले सरकारसँग सहुलियत ऋणको माग गरेका छौं । हामीले हाम्रा सदस्य विद्यालयहरूलाई आफूले सकेको व्यवस्थापन गर्न अनुरोध गरेका छौं । यस्तो विपद्को अवस्थामा सञ्चालक, शिक्षक तथा कर्मचारीका साथै अभिभावक सबै एकजुट भएर हातेमालो गर्दै अगाडि बढ्नु नै उत्तम उपाय हो । साथै आजको आवश्यकता पनि हो ।