कोसीछेउ उभेको सिमल जत्ति नि बाँच्दिन म
त्यै सिमल काटी बनेको डुङ्गा जत्ति नि बाँच्दिन म ।
यो गीतको रचना मेघराज मञ्जुल गरेका हुन् । तत्कालीन सङ्कल्प परिवारका रामेस श्रेष्ठले यो गीतमा सङ्गीत भरेका हुन् । उनले यो गीत बेजोडले गाउँदा कोसीको छालसँगै खेलेको महसुस गराउँछन् । कोसीको विषयमा अनेकन गीत, कविता लेखिएका छन् । सप्तकोसी भारतको कुर्सेला घाटमा गङ्गा नदीसँग नमिसिँदासम्म कोसीको अनेकन महिमा छन् । कोसी सभ्यताको आफ्नै विशेषताहरु छन् ।
कोसी किनारमा विकसित भएको मानव सभ्यताको भने कुनै खोज अनुसन्धान भएको छैन । केवल कोसीसँग सम्बन्धित किंवदन्ती मात्र छन् । कल्पनाका आधारमा कथिएका यस्ता किंवदन्तीका आधारमा रचिएका दन्त्यकथाहरु भने भरमार छन् । सातवटा कोसी मिलेर बनेको नदीलाई ‘सात कोसी’ नाम दिएको भए पनि हुन्थ्यो नि । तर, यी सात कोसीको समायोजनलाई पनि संस्कृत भाषाको शब्द सापटी लिएर ‘सप्तकोसी’ नाम दिइएको छ । कोसीको परम्परागत पहिचान त भएकै छैन ।
कोसीको जैविक विविधताका बारेमा पनि पुग्दो खोज भएकै छैन । कोसी किनारको सिमलका बारेमा यो गीत बनेको छ । कोसी उच्चबाँधको नामले आतङ्कित छ । कोसी आयोजनाले धेरैलाई कोसी पीडित बनाएको छ । हजारौं मानिसहरु यो आयोजनाबाट बेघरबार भए । तिनले मुआब्जाको नाममा फुटेको कौडी पनि नपाएको गुनासो बेलाबखत आइरहन्छ । कोसी किनारका सिमलहरु प्नि वनझाँक्री (वनमारा) हरुले धेरै मासे । कोसीको बाढीले धेरै सिमलहरु भारत निर्यात ग¥यो । सलाईका काँटी र प्लाइउड कारखाना चलाउने यिनै कोसीका सिमलहरु हुन् ।
तर, पनि सप्तकोसी किनारमा अझै सिमलहरु छन् । ती सिमलहरु मानिसका मृत्यु हेरिरहेका, कुरिरहेका हुन्छन् । यस्तै मृत्यु कुरेर बसेका छन् धनबहादुर लावती र तिनको मृत्युको साक्षी बन्न लालायित छन् कोसी किनारका तिनै सिमल र सिमल काटी बनेका डुङ्गा ।
धनबिनाका धनबहादुर
लिम्बू समुदायमा लावती भन्नासाथ हुनेखाने वर्गका लिम्बू भनिकन हाम्रो आँखा अगाडि नाच्दछ । यिनी भने त्यो वर्गका होइनन् । नाम त धनबहादुर हो तर, धनले मितेरी लाउन बिर्सेका पात्र हुन् । सिङ नभएको गोरुलाई तिखे नाम जुराएजस्तै । लाख रुपैयाँ नदेख्ने हैसियत नभएकाको नाम लाखबहादुर नाम भएजस्तै ।
लावती, पान्थरको भारपाबाट जीवन निर्वाहको खोजीमा सप्तकोसी किनारमा आइपुगे । वराह नगरपालिका–६ (महेन्द्रनगर चक्रघट्टी, ठाकुरबारी) को सुकुम्बासी कित्तामा बस्दै आएका लावतीको एउटा आँखो छैन । सडक बनाउँदा ब्लास्टिङमा परेर आँखो गुम भएको बताउँछन् उनी । उनले त्यही एक आँखोको सहारामा बाँकी जीवन चलाइरहेका छन् । बनिबुतो गरेर जीवन निर्वाह चलाउनु लावतीको एकमात्र पेशा हो । यिनले विकास र समृद्धिको कथासम्म सुनेका छन् तर, उनलाई यी सबै दन्त्यकथा झैं लाग्छ । यिनलाई लिम्बू जातिको सामाजिक सङ्गठन किरात याक्थुङ चुम्लुङले के गर्छ भन्ने हेक्कासम्म छैन । लिम्बुवानको कथाको व्यथा त यिनले महसुससम्म गरेका छैनन् ।
बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथि
आधा दर्जन छोराछोरी भए पनि अहिले उनी एउटा नाबालक छोरासँग दिन कटनी गर्छन् । ६५ वर्षीय लावतीको बाँकी जीवनको कथा पनि यही कोसी किनारमा अभावसँगै जुझ्दै बित्ने निश्चित छ । उनी बसेको सुकुम्बासी टोलदेखि एक किमी परको वराह नगरपालिकामा विकास, समृद्धिका विकासे बहस हुन्छन् । मानवअधिकार, बालअधिकार, ज्येष्ठ नागरिक, गरिब पिछडा वर्ग, समावेशीका नाममा महिला, दलित जनजाति, आदिवासी सीमान्तकृतका बग्रेल्ती विषय गुलियो मिठाइ र मिनरल वाटरको चुस्कीसँगै छलफल हुन्छ । यता लावती र लावती जस्तै पात्रहरु कोसीको बाढीले बगाएको मुडा ज्यान माया मारेर निकाल्नमै व्यस्त हुन्छन् । तिनलाई समावेशी, समानुपातिकका मुद्दाले छुनै सक्दैनन्, न त विकास र समृद्धिले ।रामेशले गाएको गीतको अन्तरा झैं बूढा लिम्बू
लावतीको यसै–यसै जीवन बितेको छ ।
माथिमा माथि आकाश निलो छ
डुङ्गा मुनी नदीको दह अझै निलो छ
ती दुवै बीचको बहना लिएको म
सेतै सेतै भै सकेँ ।