भद्रपुर । झापाको कनकाई नगरपालिका–२ स्थित हेप्पील्यान्ड फनर्पाकभित्र दुई समूहबिच झडप हँुदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार डिजे बजाई नाच्ने क्रममा विवाद भई झडप हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापश्चात् प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
झडपमा परी घाइते हुनेहरूमा झापा गाउँपालिका–५ का १८ वर्षीय मानारुल आलम, सोही ठाउँका १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको टाउकोसहितको शरीरको विभिन्न भागमा चोट लागेकाले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–४ का १९ वर्षीय साहिद खान, सोही ठाउँका १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ । प्रहरी घटनास्थल पुगेपछि स्थिति सामान्य बनेको थियो । ईद उल फित्रको अवसरमा हेप्पील्याण्ड फनपार्क घुम्न पुगेका थिए ।
































