विराटनगर । मध्याह्न १२ बजे । कोशी प्रदेशकै सरकारी अस्पताल ‘कोशी अस्पताल’ मा बिरामी र तिनका आफन्तको ठूलो चाप थियो । कोही हतारमा औषधि लिन दौडिरहेका थिए, कोही रिपोर्ट देखाउन पालो पर्खिरहेका थिए । त्यही भीडको बीचमा एउटा यस्तो दृश्य देखियो, जसले मानवता र राज्यको व्यवस्थामाथि नै प्रश्न गरिरहेको भान हुन्थ्यो ।

एउटा मान्छे, जसका दुवै खुट्टा चल्दैनन्, भूइँमा दुवै हातले टेकेर घिस्रिँदै प्रशासन भवनतर्फ बढ्दै थिए । ती थिए, भारत जोगवनीका पिन्टुकुमार पासवान । बजारमा मागेर आफ्नो र परिवारको गुजारा चलाउँदै आएका पिन्टु अहिले आफ्नै शरीरको असमर्थताभन्दा पनि अस्पतालको ‘अपाङ्गतामैत्री’ संरचना नहुँदा थप बिरामी देखिए । उनको समस्या आफ्नै लागि होइन, श्रीमती चम्पादेवी पासवानका लागि हो । केही दिनअघि एपेन्डिसाइटिस भएपछि उनले श्रीमतीलाई कोशी अस्पताल ल्याएका थिए । चिकित्सकहरूले चम्पाको सफलतापूर्वक शल्यक्रिया त गरिदिए तर पिन्टुका लागि असली सास्ती त्यसपछि मात्र सुरु भयो ।

श्रीमतीलाई अस्पतालको सर्जरी वार्डको तेस्रो तलामा राखिएको छ । अपाङ्गता भएका पिन्टुलाई तेस्रो तलासम्म पुग्न, तल ओर्लिएर फार्मेसी जान र फेरि छुटका लागि प्रशासन धाउन पहाड चढ्नुभन्दा कम छैन । “हामीजस्ता मान्छेका लागि अस्पताल त नर्कजस्तै रहेछ” गम्भीर मुद्रामा उनले भने, “श्रीमतीलाई तीन तलामाथि राखिएको छ । केही चाहियो भने ओहोर–दोहोर गर्नै सकिँदैन ।” खुट्टा नचल्ने पिन्टु हातले भूइँ टेकेर अस्पतालका भूइँमा घिस्रिँदै गर्दा त्यहाँबाट हिँड्ने सयौँ मानिसहरूले उनलाई हेर्थे तर उनले भोगिरहेको प्रणालीगत सास्तीलाई कसैले महसुस गर्न सकेनन् । 

श्रीमतीको उपचारमा लाग्ने खर्चमा केही छुट पाइएला कि भन्ने आशमा उनी प्रशासन भवन पुग्न खोज्दै थिए तर अस्पतालका अग्ला खुड्किला र अपाङ्गतामैत्री संरचनाको अभावले उनलाई पाइलैपिच्छे चुनौती दिइरहेको थियो ।

“उपचार त भयो तर म जस्तो मान्छेले आफ्नै बलमा यहाँ सेवा लिन असम्भव रहेछ” उनले रुँदै भने, “औषधि लिन जाँदा होस् वा पैसा तिर्ने काउन्टरमा जताततै भीड र उचाइ छ । कसैले दयामाया देखाए मात्र हो, नत्र हामी त यहाँ घिस्रिएरै मर्छौं होला ।”

पिन्टुको यो पीडाले नेपालका सरकारी अस्पतालहरूको एउटा तीतो यथार्थलाई उजागर गरेको छ । संविधानले सबैका लागि समान स्वास्थ्य र पहुँचको हक सुनिश्चित गरे पनि व्यवहारमा कोशी अस्पतालजस्ता ठूला सरकारी स्वास्थ्य संस्थाहरू अझै पनि शारीरिक रूपमा अशक्त व्यक्तिका लागि सहज बन्न सकेका छैनन् ।

वार्डदेखि प्रशासनसम्म र फार्मेसीदेखि काउन्टरसम्म पुग्न पिन्टुले भोग्नुपरेको यो सास्ती केवल एक व्यक्तिको गुनासो मात्र होइन, यो समग्र स्वास्थ्य प्रणालीकै अपाङ्गताको एउटा नमुना हो ।

p1j