विराटनगर । मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको घटनाले कूटनीतिक र राजनीतिक वृत्तमा ठूलो तरङ्ग पैदा गरेको छ । यद्यपि, विश्वविद्यालय प्रशासनले भने यसलाई कूटनीतिक षड्यन्त्र नभई सरसफाइका क्रममा भएको प्रशासनिक लापरबाही र भुल भएको दाबी गरेको छ । तर, छिमेकी मुलुकका राष्ट्र प्रमुखको पुस्तक सार्वजनिक रूपमा जलाइनुले कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको छ ।
के भएको थियो ?
गत फागुन ३० गते साँझ विश्वविद्यालय परिसरमा रहेको पुरानो अटोमोबाइल वर्कसप खाली गर्ने क्रममा केही सामग्रीहरू जलाइएको थियो । सिभिल इन्जिनियरिङ विभागको नयाँ प्रयोगशाला (ल्याव) निर्माणका लागि गरिएको उक्त सरसफाइका क्रममा चिनियाँ राष्ट्रपतिको पुस्तक पनि जलिरहेको भिडियो बाहिरिएपछि स्थिति तनावपूर्ण बनेको हो ।
विश्वविद्यालयका उपकुलपति सुवासश्री पोखरेलका अनुसार नियतवश पुस्तक जलाइएको होइन । “हामीलाई प्रयोगशालाका लागि ठाउँ अभाव भएपछि स्टोर सफा गर्ने निर्णय भएको हो” उनले भने, “धेरै समयदेखि थन्किएका, धमिराले खाएका र मक्किएर काम नलाग्ने भएका केही थान पुस्तकहरू कवाडी सामानसँगै झुक्किएर जलाइएका हुन् । कसैको अपमान गर्ने हाम्रो कुनै मनसाय थिएन ।”
चिनियाँ विकासको मोडल नेपाली पाठकमाझ पु¥याउने उद्देश्यले पुष्पलाल स्मृति प्रतिष्ठानमार्फत् करिब १० वर्षअघि २९ हजार थान पुस्तक नेपाल ल्याइएको थियो । प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कोभिड–१९ को समयमा ती पुस्तकहरू मनमोहन विश्वविद्यालयको गोदाममा भण्डारण गरिएका थिए ।
कुल पुस्तकमध्ये करिब ७ हजार थान कोशी प्रदेशका १ सय ३७ वटै पालिकामा वितरण गरिसकिएको छ । विश्वविद्यालयका तीनवटा गोदाममा अझै पनि १४ हजार थान पुस्तक सुरक्षित राखिएको प्रशासनको दाबी छ । उनले भारतसँग सम्बन्धित पुस्तकहरू धेरै पाइने तर चीनका बारेमा कम जानकारी हुने भएकाले बौद्धिक छलफलका लागि ती पुस्तक ल्याइएको स्पष्ट पारे । अहिले भइरहेको विवादलाई अतिवादी रूप नदिन उनले सञ्चारकर्मीहरूसँग आग्रहसमेत गरेका छन् । उनले भने, “हामी चिनियाँ राष्ट्रपतिको विरोधी होइनौं, यो केवल प्राविधिक व्यवस्थापनको क्रममा भएको एउटा सामान्य घटना हो, जसलाई ठुलो इस्यु बनाइनु हुँदैन ।”
कूटनीतिक दबाव र छानबिन
पुस्तक जलाइएको विषयमा काठमाडौँस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् लिखित आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ । दूतावासको सक्रियतापछि गृह मन्त्रालयले तत्काल मोरङ प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको थियो ।
अहिले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लीलाराज लामिछाने, सरकारी वकिल नवराज घिमिरेलगायतका अधिकारीहरू रहेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको जानकारी दिए ।
विश्वविद्यालयले चैत १ गते विज्ञप्ति जारी गर्दै राम्रो अवस्थामा रहेका पुस्तकहरू सुरक्षित राखिएको र बिग्रिएका सामग्री मात्र व्यवस्थापन गरिएको स्पष्ट पारेको छ । यद्यपि, एउटा प्राविधिक विश्वविद्यालयले पुस्तकजस्तो संवेदनशील सामग्री नष्ट गर्दा सामान्य प्रक्रियासमेत अवलम्बन नगर्नुलाई धेरैले उदेकलाग्दो मानेका छन् । “सरसफाइको क्रममा पूर्णरूपमा बिग्रेका एवम् अन्य कवाडी सामग्रीको व्यवस्थापन गर्ने क्रममा मक्किएका, बिग्रिएका तथा धमिरा लागेका केही पुस्तकहरू नष्ट भएका हुन् । राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू भने छुट्याई सुरक्षितरूपमा राखिएको बेहोरा जानकारी गराउँदछौँ”–विज्ञप्तिमा भनिएको छ ।
































