विजयपुर । धरान उपमहानगरपालिकामा नगर प्रमुखदेखि वडासदस्यसमेतले नागरिकको करबाट सङ्कलित रकम दुरुपयोग गरेको भेटिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनले नगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यसम्मबाट वित्तीय अनुशासन उल्लङ्घन भएको तथ्य औंल्याएको छ ।
प्रतिवेदनअनुसार केही जनप्रतिनिधिहरूले अनुगमन नै नगरी १५ लाख ३० रुपैयाँ भत्ताबापत बुझेका हुन् । तत्कालीन नगर प्रमुख हर्कराज राई (साम्पाङ), उप–प्रमुख अइन्द्रविक्रम बेघा, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले अनुगमन नै नगरी १५ लाख ३० हजार रुपैयाँ भत्ताबापत बुझेको मलेपको रिपोर्टमा उल्लेख छ । ऐनमा अनुगमनको प्रतिवेदन पेश गर्नुपर्ने भए पनि प्रतिवेदन विनै भत्ता भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
नगर सभा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ मा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले अनुसूची १ (ग) मा उल्लेख भए बमोजिमको सुविधालाई अधिकतम् कायम गरी कार्यपालिकाले निर्धारण गरेबमोजिमको सुविधा पाउने व्यवस्था छ । तर, नियमविपरीत तत्कालीन नगर प्रमुख साम्पाङसमेतले अनुगमन नै नगरी १ लाख ५६ हजार रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख छ । उपप्रमुख बेघाले १ लाख ५६ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।
धरानका वडाध्यक्षहरू यज्ञमणि आचार्य, रमेश राई, विद्या शाक्य, धनबहादुर राई (वडा नं. ४), मनप्रसाद लिम्बू, भूपेन्द्र भट्टराई, जीवन सुवेदी, धनबहादुर राई (वडा नं.८), रूपेश आचार्य, विवेश राई, लोकेन्द्रबहादुर फागो, टङ्कबहादुर राई, नेत्रप्रसाद काफ्ले, कृष्णप्रसाद भट्टराई, नरेशकुमार इवारम, मुुरारीप्रसाद भट्टराई, नरेन्द्रकुमार राई (प्रविण), पूर्णबहादुर लिम्बू, पदमबहादुर लिम्बूले अनुगमन भत्ताबापत जनही ५४ हजार रुपैयाँ भुक्तानी लिएका छन् । तर, महालेखाले भने अनुगमन नै नगरी भुक्तानी गरेको उल्लेख गरेको छ । धरान–१७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले भने अनुगमन भत्ता लिएको देखिएको छैन ।
यस्तै, कार्यपालिका सदस्यहरू सावित्रा परियार, सिर्जना नेपाल, रविन गुरुङ, देवीमाया विश्वकर्मा, विनिता बज्राचार्य, दिनेश विश्वकर्मा, अनुप देवान र विकास भाटीले जनही २४ हजार रुपैयाँ बुझेको रिपोर्टमा उल्लेख छ । अनुगमन गरेको प्रतिवेदनसमेत नराखी भत्ता लिएकाले महालेखाले यसलाई अनयिमित भनेको हो । वित्तीय जानकार डा. राजेन्द्र शर्मा वित्तीय अनुशासन पालना गर्न नसक्ने र भ्रष्टाचारको रस (स्वाद) लिएका जनप्रतिनिधि र कर्मचारी भएको बताउँछन् । उनी भन्छन्, “यो मुलुककै समस्या हो । हाम्रो संयन्त्र नै भ्रष्टाचार र वित्तीय अनुशासनहीनतालाई प्रेरित गर्ने खालको छ ।” उनी थप्छन्, “आर्थिक हिनामिना गर्नेलाई अब असुलउपर गराएर मात्र पुग्दैन, सरकारले कारबाही गर्नुपर्छ ।”
डा. शर्मा नगर प्रमुख साम्पाङले पनि सैद्धान्तिकरूपमा रोक्ने प्रयास गरेजस्तो देखिए पनि व्यवहारमा त्यस्तो नभएको उनको बुझाइ छ । उनी भन्छन्, “साम्पाङको पनि आर्थिक पारदर्शिता सन्तोषजनक छैन । उक्त कुरा पकुवा र कोकाह खानेपानी आयोजनाको आय–व्यय सार्वजनिक गरेको तथ्यले पुष्टि गरेको छ ।”
वडाका पदाधिकारीहरूले पनि नियमविपरीत इन्धन खर्च लिएका छन् । वडासदस्य विनोद मानन्धरले ८ सय २५, उज्वल बास्तोला ४ सय ९५, विनोद मानन्धर ८ सय २५, देवी पोख्रेल ५ हजार ४ सय ४५, कार्यपालिका सदस्य सावित्रा परियार ८ सय २५, वडा सदस्य देवी लामा पाख्रिन ४ हजार ६ सय २०, वडा सदस्य रविन्द्र श्रेष्ठ ८ सय २५, वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले ६ हजार ६ सय रुपैयाँ लिएका छन् ।
यस्तै, वडासदस्य सन्तोष राईले ७ हजार ४ सय २५, वडाध्यक्ष नरेश इवारम २५ हजार ९ सय ८८, वडासदस्य बादल भट्टराई २४ हजार ७ सय ५०, रङ्गलाल गिरी १३ हजार २ सय, रचना नेपाली १९ हजार ८ सय, कार्यपालिका सदस्य सिर्जना नेपाल ११ हजार ५ सय ५० गरी कुल १ लाख २३ हजार १ सय ७३ रुपैयाँ भुक्तानी लिएका छन् । जसलाई महालेखाले ‘असुल गर्नुपर्ने’ उल्लेख गरेको छ ।
नगर सभाका सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ मा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यले कार्यपालिकाले निर्धारण गरेबमोजिम सुविधा पाउने व्यवस्था छ । यस्तो सुविधा बापत वडाध्यक्षले मासिक ५ हजार ५ सय, कार्यपालिका सदस्य र वडासदस्यले ३ हजार पाउने व्यवस्था छ ।
बैठकमा उपस्थित हुँदा इन्धन खर्च लिनुलाई मलेपले बेरुजु मानेको छ । उक्त रकमलाई मलेपले असुल गर्न निर्देशन दिएको छ । नियमभन्दा बढी भत्ता लिने पदाधिकारीमा सदस्य अनुप देवान, अम्विका बिसुङ्खे सार्की, अरुण सुन्दास, उज्वल बास्तोला, उषा सुब्बा लिम्बू, उर्मिला परियार, कमलप्रसाद भट्टराई, कुमार विश्वकर्मा, कृष्ण बीडीआर राई, कृष्णप्रसाद भट्टराई, कृष्णबहादुुर कार्की, गोरसमान आले, चन्द्रमाया विके छन् ।
यस्तै, चुन्नु थापा मागर, जमुना त्रिखत्री मोक्तान, जीवनराज सुवेदी, झुमादेवी गुरुङ, झरना मुखिया, टङ्कबहादुर राई छन् । यस्तै, देवकुमारी विके, डम्बरबहादुर अधिकारी, तारा तामाङ गोले, दुर्गा विके, देवेन्द्र राई, देवीमाया पाख्रीन, देवीप्रसाद पोखरेल, देवीमाया विश्वकर्मा, जसरथ सुब्बा, दिनेश विश्वकर्मा, दिनेशकुमार अग्रवाल, दिलकुमारी राई, दिवान राई चाम्लिङ, धनबहादुर राई, धन बिडीआर राई रहेका छन् ।
नेत्रप्रसाद काफ्ले, नरेन्द्रकुमार राई, नरेशकुमार इवारम लिम्बू, नारायण निरौला, पञ्चमी राई, पदमबहादुर लिम्बू, प्रेमबहादुर दाहाल, फर्डिकी शेर्पा, बुना शङ्कर, ब्रह्मज्ञ भट्टराई, बादल भट्टराई (भण्डारी), भूपेन्द्र भट्टराई रहेका छन् ।
भीम लिम्बू, मुरारीप्रसाद भट्टराई, मानप्रसाद लिम्बू, मनिष खड्गी, मनिष विष्ट, मिङ्मा भोटे, मीना तामाङ, मीरा विश्वकर्मा, यज्ञमणि आचार्य, यशोदा सुवेदी (लामिछाने), रङ्गलाल गिरी, रचना नेपाली, रूपेश आचार्य, रविन गुरुङ, रमेश राई, रमिता श्रेष्ठ, रविन्द्र श्रेष्ठ, रहिशा कसजू, राजेन्द्र न्यौपाने, राजेन्द्र राई, राजेशराज मोक्तान, रमा विक, रामबहादुर राई, रामकुमार तामाङ, रीता सुन्दास, लक्ष्मण राई, लक्ष्मी विश्वकर्मा रहेका छन् ।
यस्तै लीलादेवी गहते, लोकेन्द्र राई, लोकेन्द्रबहादुर फागो, विकास भाटी, विजय राई, विद्या शाक्य, विन्दु अधिकारी, विनिता बज्राचार्य, विनोद मानन्धार, विवेक राई, शरदरत्न पार्थिव, सुशीलाकुमारी श्रेष्ठ, सन्तमाया विश्वकर्मा हुन् ।
शान्तिकुमारी त्रिखत्री, शोभा विश्वकर्मा, सङ्गीता लोहनी (विके), सिर्जना नेपाल, सन्तोष राई, सुन्दरी श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सुनिता राई, समशेर बर्देवा, सुमिर बम्जन, समीर राई र सावित्रा परियारले जनही २ हजारका दरले रकम लिएका छन् । उनीहरूको १ लाख ८५ हजार रुपैयाँ सेवाबाहेक थप भएकाले महालेखाले असुल गर्नुपर्ने उल्लेख गरेको छ ।
यस्तै, वडासदस्य नारायण निरौला, राजेन्द्र न्यौपाने, यशोधादेवी सुवेदी र कार्यपालिका सदस्य देवीमाया विकसहित अन्यलाई इन्धन खर्चबापत ६४ हजार ८ सय ५४ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । धरान–१२ ले वडा प्रहरी कार्यालयसहित गाडी नम्बर र प्रयोग गर्ने व्यक्ति नै नखुलाई पटक–पटक गरी ५८ हजार २८ रुपैयाँ भुक्तानी गरेको छ ।
































