विजयपुर । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा धरानका जनप्रतिनिधिहरूले मात्रै नभई कर्मचारीले पनि सरकारी रकमको दोहन गरेको पाइएको छ ।

कर्मचारीले भ्रमण भत्तालगायतका नाममा भुक्तानी लिएको प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनमा एउटै कर्मचारीले एकै दिन काठमाडौँ पुगेको र वडा कार्यालयको बैठकमा पनि सहभागी भई भत्ता लिएको समेत पाइएको छ । 

धरान–६ का वडासचिव उद्धवबहादुर लुङ्गेलीले काठमाडौँ भ्रमण गरेको बिल भर्पाइ र सोही दिन कार्यालयको बैठकमा उपस्थित भएको भनी भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ । वडासचिव लुङ्गेलीले भ्रमण भत्ताबापत १६ हजार र बैठक भत्ताबापत तीन हजार दुई सय बुझेका छन् । प्रतिवेदनमा वडासचिव लुङ्गेलीले विविध खर्चको नाममा होटलमा बिल तिरेको र झोला खरिद गरेको बिल भर्पाइ धरानभन्दा बाहिरको पेश गरेकाले उनीबाट १६ हजार ६ सय ४५ रुपैयाँ असुल गर्न भनेको छ ।

यस्तै उनले बैठक भत्ताका नाममा बुझेको तीन हजार दुई सय रुपैयाँ पनि असुल गर्न भनेको छ । लुङ्गेलीको नाममा करिब २० हजार, यस्तै उनीसहित दुई लेखा अधिकृत लवकुमार चौधरी र भोलानाथ महत गरी तीन जनाको नाममा रहेको भ्रमण खर्च २९ हजार पाँच सय रुपैयाँलाई महालेखाले अनियमित मानेको छ । 

लुङ्गेलीसहित चौधरी र महतले जनप्रतिनिधि, कर्मचारी विभिन्न कार्यालय जाँदाआउँदालगायतको विविध खर्चमा २५ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको देखिएको छ । धरान–६ का सवइन्जिनियर मनोज बस्नेतले कन्टिन्जेन्सी शीर्षकबाट ४० हजार ६ सय ७५ लिएका छन् । उक्त रकमलाई पनि महालेखाले अनियमित मानेको छ ।

यस्तै धरान–१ का सचिव रमेश राईले १६ हजार, विभिन्न वडामा कार्यरत रहँदा लेखा प्रमुख ओमप्रकाश दासले दैनिक भ्रमणभत्ता बापत १६ हजार, विविध प्रशासनिक खर्चमा ५९ हजार ६ सय र  विविध खर्चमा थप चार हजार रुपैयाँ भुक्तानी लिएका छन् । धरान–११ का लेखा अधिकृत नवराज चापागाईंले १३ हजार ५ सय, अधिकृत भगवती पोखरेलले ३४ हजार २ सय संस्थागत विकास खर्चमा भुक्तानी लिएका छन् । धरान–१८ का लेखा अधिकृत नवराज चापागाईंले एक पटक भ्रमण खर्चबापत ३२ हजार र अर्कोपटक ३१ हजार रुपैयाँ लिएको देखिएको छ । 

एक वर्षभित्र विभिन्न वडामा कार्यरत रहेकी लेखा प्रमुख कल्पना बस्नेतले एक पटक भ्रमण खर्चमा १२ हजार ४ सय रुपैयाँ र अर्को पटक १३ हजार ८ सय रुपैयाँ लिएको देखिएको छ । उनी धरान–१२ र धरान–१६ मा कार्यरत रहँदा उक्त रकम लिएको प्रतिवेदनमा उल्लेख छ ।

सहायक पाँचौँ स्तरका कर्मचारी रोशन विकले विविध र फुटकर खर्चमा २० हजार ७ सय रुपैयाँ लिएको महालेखाको प्रतिवेदनमा देखिएको छ । धरान–१४ का वडा सचिव टीकारम निरौलाले ४६ हजार ४ सय विविध प्रशासनिक खर्च बुझेका छन् । धरान–१८ मा कार्यरत असइ प्रमोदकुमार साहले भ्रमण खर्चबापत १३ हजार ५ सय गरी कुल पाँच लाख ८७ हजार सात सय ७५ रुपैयाँ सरकारको दोहन गरेको भेटिएको छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार कुल ४२ लाख ८ हजार सात सय ७५ रुपैयाँ भुक्तानी लिएको देखिएको छ । यस्तै महिला स्वास्थ्य स्वयम्सेविका सुनिल राईबाट पशुपतिनाथ जाँदा भ्रमणबापत लिएको २६ हजार ७ सय ४० रुपैयाँ असुल गर्नुपर्ने महालेखाले प्रतिवेदनमा औँल्याएको छ । धरान–१० का कर्मचारी शनि तामाङले पाउनेभन्दा बढी इन्धन लिएको दुई हजार ८ सय ८३ रुपैयाँ असुल गर्न भनेको छ ।

बालबालिका शैक्षिक अवलोकन भ्रमणमा पोखरा जाँदाको २८ हजार ५० रुपैयाँ तेजप्रसाद पोखरेलबाट असुल गर्न प्रतिवेदनले औँल्याएको छ । धरान–१० को वडा बालसञ्जालका बालबालिकाका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीको लुम्बिनी भ्रमणमा खर्च गरेको ६८ हजार ६ सय १५ रुपैयाँ प्रतिमा ताम्राकारबाट असुल गर्न प्रतिवेदनमा उल्लेख गरेको छ । 

धरान–११ का वडा पदाधिकारीको अध्ययन अवलोकन भ्रमणमा पोखरा गएको खर्च कर्मचारी कृतिका थापाबाट ५५ हजार ६ सय ७३ रुपैयाँ असुल गर्न भनिएको छ । धरान–१७ का जनप्रतिनिधि र कर्मचारी अवलोकन भ्रमणमा पोखरा, मुस्ताङ गएको ११ जनाको ५४ हजार ८ सय ३८  रुपैयाँ असुल गर्नुपर्नेसहित कुल दुई लाख सात हजार एक सय ७६ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

धरान–३ मा फरक शीर्षकबाट कर्मचारी जनप्रतिनिधि र बालबालिकाको शैक्षिक भ्रमणको ९० हजार अनियमित भएको उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कार्यालयको दैनिक कार्य सञ्चालन र कर्मचारी प्रशासनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई हुने व्यवस्था छ ।

यस पालिकाले वडा कार्यालय अन्तर्गत विनियोजन बजेट खर्चको अख्तियारी वडासचिवलाई प्रदान गरेकोमा भ्रमण खर्चका लागि भ्रमण आदेश स्वीकृृत गर्ने अख्तियारी नलिई वडासचिवले भ्रमण स्वीकृतिसमेत दिएको देखिएको छ । महालेखाले नमुना परीक्षण गर्दा सचिवबाट भ्रमण आदेश स्वीकृत गराई भ्रमण खर्च लेखेकालाई नीतिविपरीत मानेर असुलउपर गर्न निर्देशन दिएको छ ।