वराहक्षेत्र । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दन्त चिकित्सा महाविद्यालयले ‘विश्व मुख स्वास्थ्य दिवस’ को अवसरमा विविध कार्यक्रम गरी मनाएको छ ।
प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको मार्च २० तारिखमा मनाइने गरिएको मुख दिवस यस वर्ष पनि ‘सुखी मुख सुखी जीवन’ नारा सहित मनाइएको हो ।
बिहान ७ बजे दन्त महाविद्यालपरिसरबाट प्रभातफेरी सुरु गरी चिकित्सक र विद्यार्थीहरूले धरान नगर परिक्रमा गरेर कोणसभा गरेका थिए ।
सोही अवसरमा दन्त चिकित्सा सङ्कायका विद्यार्थीहरू र नेपाल डेन्टल एसोसिएसन सुनसरी शाखाले संयुक्तरूपमा सोसल मिडिया फार्मेटको मिम, रिल, कोट लेखन र रङ्गोली प्रतियोगिताको आयोजना गरेको डा. नवीन अधिकारीले बताए ।
यसैगरी सामुदायिक दन्त चिकित्सा विभागले ‘विद्यालय मुख स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका–५ स्थित नवयुग एकेडेमी विद्यालयमा विषयमा आधारित ‘थिम बेस्ड प्रोमिस, कोट र फोटोग्राफी र पोष्टर प्रतियोगिता’ एवम् सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सामुदायिक दन्त चिकित्सा विभागका अतिरिक्त प्राध्यापक डाक्टर ताराकान्त भगतले प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विभागका डा. सन्तोषकुमारी अग्रवाल, डा. उज्वल गौतम, जुनियर आवासीय डा. अस्मिता पराजुली, डा. प्रज्ञा बिनाडी र डा. निशु झा तथा बि. डी.एस. अन्तिम वर्षका विद्यार्थीहरू को सहभागिता रहेको थियो ।
मुख स्वास्थ्य सचेतना कार्यक्रमबाट ४ सय बढी विद्यार्थीहरू लाभान्वित भएको आयोजकले बताएको छ ।
































