विजयपुर । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।


आइतबार भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।


गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।


गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब छ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।


त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन् ।


नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार नाफा देखिएको छ ।


यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।


त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाख रुपैयाँको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको सुन, १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ ।


नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ ।


त्यस्तै, नौ अर्ब ४९ करोड ६१ लाख रुपैयाँको अलैँची, छ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको कार्पेट, छ अर्ब २० करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल, चार अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ ।