विराटनगर । अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्यमा आएको उतारचढाव र इन्धनको बढ्दो महँगीले नेपालमा इँटाको मूल्य आकासिएको छ ।
इँटा उत्पादनमा अनिवार्य मानिने पत्थर कोइला र ढुवानीका लागि प्रयोग हुने डिजेलको मूल्यमा भएको भारी वृद्धिका कारण इँटाको भाउ आकासिएको हो । यसले घर बनाउने सपना देखिरहेका सर्वसाधारणदेखि ठूला पूर्वाधार निर्माणमा संलग्न व्यवसायीहरूलाई समेत प्रत्यक्ष मारमा पारेको छ ।
पछिल्लो समय सरकारले डिजेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेसँगै इँटाको उत्पादन लागत र ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । उद्योगबाट निर्माणस्थलसम्म इँटा पु¥याउँदा लाग्ने खर्च बढेपछि उद्योगीहरूले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपैयाँसम्म मूल्य बढाउन बाध्य भएका छन् । सुनसरी र मोरङ क्षेत्रका इँटा उद्योगहरूले नयाँ मूल्य सूची नै सार्वजनिक गरिसकेका छन् । सुनसरीको दुहबीस्थित एबी ब्रिक्स एन्ड टायल इन्डष्ट्रिजले १ नम्बर इँटाको मूल्य प्रतिगोटा २४ रुपैयाँ कायम गरेको छ ।
इँटा व्यवसायी महासङ्घका सचिव महेन्द्र साहका अनुसार यसअघि २२ रुपैयाँमा बिक्री भइरहेको इँटा अहिले २४ रुपैयाँभन्दा कममा बेच्न सकिने अवस्था छैन । “ढुवानी र इन्धनको मूल्य वृद्धिले हाम्रो लागत सीमा नाघेको छ” साह भने, “यो कुनै संस्थागत निर्णयभन्दा पनि बजारको बाध्यता र लागत अनुसारको समायोजन हो ।”
इँटाको मूल्य वृद्धिको अर्को प्रमुख कडी भनेको पत्थर कोइलाको मूल्यमा भएको अप्रत्याशित बढोत्तरी हो । इँटाभट्टामा आगो बाल्न प्रयोग गरिने कोइलाको मूल्य असोज महिनासम्म प्रतिटन ३३ हजार रुपैयाँ हाराहारीमा थियो । तर पछिल्लो समय प्रतित पत्र (एलसी) खोलेर आयात गरिने कोइलाको मूल्य बढेर प्रतिटन ४४ हजार रुपैयाँसम्म पुगेको छ । यसरी कोइलामा मात्रै प्रतिटन १२ हजार रुपैयाँले लागत वृद्धि हुँदा उद्योगीहरू ठूलो दबावमा परेका छन् ।
सङ्कट यतिमा मात्र सीमित छैन । इन्धन र कोइलाको मार खेपिरहेका उद्योगीहरूलाई प्रकृतिले पनि साथ दिएको छैन । हालै भएको बेमौसमी वर्षाले खुला आकाशमुनि सुकाइएका करोडौँ काँचो इँटाहरू नष्ट गरिदिएको छ । सचिव साहका अनुसार सुनसरी र मोरङका करिब ४१ वटा उद्योगमा गरी झण्डै २ करोड थान काँचो इँटा पानीले गलेर माटोमा परिणत भएका छन् । एउटा काँचो इँटा तयार गर्न माटो र श्रम गरी करिब ४ रुपैयाँ लागत लाग्छ । यस हिसाबले एउटै उद्योगलाई २० लाखदेखि ४० लाख रुपैयाँसम्मको प्रत्यक्ष आर्थिक नोक्सानी भएको छ ।
एकातिर कच्चा पदार्थ र इन्धनको मूल्य बढेको छ भने अर्कोतिर महँगीका कारण श्रमिकहरूले पनि ज्याला बढाउन दबाव दिइरहेका छन् । लागत खर्च निरन्तर बढ्दै जाने तर बजारमा उत्पादित इँटाको उचित मूल्य नपाउने हो भने धेरै उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । व्यवसायीहरूका अनुसार कमसल इँटा बिक्री गर्दा उद्योगलाई झन् ठूलो नोक्सानी हुने भएकाले गुणस्तर कायम राख्दै मूल्य समायोजन गर्नुको विकल्प छैन ।
समग्रमा, इन्धन र कोइलाको यो मूल्यवृद्धिले निर्माण क्षेत्रलाई सुस्त बनाउने निश्चित छ । यसले एकातिर विकास निर्माणका कामलाई खर्चिलो बनाएको छ भने अर्कोतिर इँटा उद्योगजस्तो ठूलो रोजगारी दिने क्षेत्रलाई नै धरासायी बनाउने जोखिम बढाएको छ । सरकारले इन्धनको मूल्यमा सहुलियत वा कोइला आयातमा सहजीकरण नगर्ने हो भने इँटाको मूल्य अझै बढ्न सक्ने सङ्केत देखिएको व्यवसायीहरू बताउँछन् ।































