धरान/ विश्व आत्महत्या रोकथाम दिवसको ठीक तीन दिनपछि धरान–१ मा १० वर्षीया बालिका झुण्डिएको अवस्थामा भेटिएपछि ‘आत्महत्यामा नयाँ उमेर समूह’ ले प्रवेश पाएको सङ्केत गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूचएओ० का अनुसार १५–२९ वर्षको उमेर समूहले सबैभन्दा धेरै आत्महत्या गर्ने गरेको उल्लेख छ । ‘आफैले आफैलाई गरिने हत्या’ विश्वमा हुने मृत्युदरमध्ये सातौं नम्बरमा पर्छ । अनुसन्धानमा खटिने प्रहरी अधिकारीका अनुसार प्रदेश १ मा सबैभन्दा कम ११ वर्ष उमेरको बालकले झुण्डिएर नै आत्महत्या गरेका थिए । यो घटना दमकमा भएको हो । पछिल्लो समय बालबालिकाहरू आत्महत्या गर्ने क्रम बढेसँगै ‘नयाँ उमेर समूह’ को प्रवेशले चिन्ता बढाएको छ । धरान–१ मा १० वर्षीया बालिका कविता उराँवले झ्यालको रडमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘प्रदेश १ मा सबैभन्दा कम ११ वर्ष उमेरको बालक झुण्डिएर आत्महत्या गरेको थाहा पाएका थियौं, १० वर्षीया बालिकाले आत्महत्या गरेको यो पहिलो घटना नै हो ।’ प्रदेश १ प्रहरी कार्यालय विराटनगरको आँकडा हेर्दा हरेक आर्थिक वर्षमा आत्महत्याको घटना वृद्धि भइरहेको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २ सय ३४ रहेकोमा २०७६/०७७ मा बढेर १ हजार ३ सय १६ पुगेको छ । एक आर्थिक वर्षमा नै ८२ वटा आत्महत्याको घटना बढेको देखिन्छ । तर, प्रदेश १ प्रहरी कार्यालयले उमेर समूह भने विभाजन गरेको पाइँदैन ।

विशेष गरेर नेपालमा आर्थिक कारणले नै आत्महत्या भएको तथ्य खुल्दै आएको छ । तर, साना उमेरका बालबालिकामा आर्थिक प्रभावभन्दा पनि प्रविधिका कारणले आत्महत्या दररेट बढ्दै गएको हुनसक्ने प्रहरी अधिकारी बताउँछन् । तर, बालबालिका आत्महत्या हुनुको कारणबारे व्यापक अनुसन्धान हुन बाँकी रहेको प्रहरी अधिकारी बताउँछन् । उमेर समूहका आधारमा हेर्दा १५ देखिमाथि नै बढी देखिए पनि पछिल्लो समय त्योभन्दा कम उमेर समूहका बालबालिकाले पनि आत्महत्या गरिरहेका कारण बहस सुरु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोविद् डा। निदेश सापकोटा यसलाई ‘असामान्य नभई सामान्य’ नै भएको बताउँछन् । ‘अनकमन होइन, कमन नै हो’–उनले भने । उनका अनुसार १० देखि २४ वर्षभित्रका बालबालिकादेखि युवावस्थामा मृत्युको कारणमध्ये तेस्रो कारण आत्महत्या रहेको छ ।

नेपालमा आत्महत्या भइसकेपछि ‘साइकोलोजिक अटक्सी’ अर्थात् आत्महत्या गर्नेको घरपरिवारदेखि स्कुल, साथीसङ्गीलगायतमा गरिने अध्ययन नहुने मनोविद् डा। सापकोटाको तर्क छ । ‘आत्महत्या भइसकेपछि विज्ञ टोली खटाएर स्कुल, साथीसर्कल, घरमा मनोसामाजिक पक्षले कस्तो आघात पारिरहेको थियो, के कस्ता कुराहरू गरेको थियो, भित्री पीडालाई अन्त्य गर्न के कस्ता कोशिस गर्यो भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ’ उनले भने, ‘यस्ता विषयको पहिचान गरेपछि मात्रै ‘कज’ थाहा हुन्छ ।’

नेपालमा आत्महत्याका कारण एक लाख जनसङ्ख्यामा सरदर २० दशमलव ३ जनाको मृत्यु हुने गरेको छ । युवा उमेरमा २५ प्रतिशत र वयस्क उमेरमा १५ प्रतिशत मानिसहरूले एक पटक मुक्तिका लागि प्रयास खोजिरहेको हुने मनोविद् सापकोटाको भनाइ छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा आत्महत्या भइरहेको तथ्य डब्ल्यूएचओले सार्वजनिक गरेको छ । प्रत्येक वर्ष ८ लाखभन्दा बढीले आत्महत्याका कारण मृत्युवरण गरिरहेका छन् । जसमा ७५ प्रतिशत अल्पविकसित र अविकसित देशहरू रहेका छन् । सम्पूर्ण मृत्युदरको १ दशमलव ४ प्रतिशत आत्महत्याले गर्दा हुन्छ । एक जनाको आत्महत्याले सरदर १ सय ३५ जनालाई असर गर्ने मनोविद्हरू बताउँछन् ।