धरान/ कोरोना महामारीले धरान–५ माथिल्लो देउरालीका गणेशबहादुर विक, पुनम राई जस्ताको कामको प्रकृति फेरिदिएको छ तर सपना भने फेर्न सकेको छैन ।
महामारीपूर्व गणेश बगरकोटको भिन्टेज लाउञ्ज एण्ड बारमा कर्मचारी थिए । उनी ९ वर्षसम्म वैदेशिक रोजगार अन्तर्गत साउदी अरबमा बसेर फर्किएका हुन् । उनले फेरि विदेश जाने सपना पालेका छन् । घरमा त्यसै समय बिताउनुभन्दा उनी बारमा कर्मचारीको रूपमा समय व्यतित गर्दै थिए । तर, एकाएक कोरोना भाइरसको महामारी सुरु भयो । त्यसले नेपाल पनि अछुतो रहेन । भिन्टेज बन्द भयो । जसको प्रत्यक्ष मारमा उनी परे ।
हुँदाखाँदाको जागिरबाट पनि हात धुनु पर्यो । सरकारले लकडाउन गर्यो । बाहिरफेर जाने सम्भावना क्षीण बन्दै गयो । घरमै बसे पनि कमाउने ज्यान नै घरभित्र बस्नु परेपछि घरमा चुल्हो बल्न असहज बन्दै गयो । अन्ततः उनको कामको प्रकृति फेरियो । खोलामा ढुङ्गा बटुलेर गिट्टी कुट्न थाले । ‘पेटले त महामारी नचिन्दो रहेछ’ विकले बिलौना गरे, ‘गिट्टी कुट्यो, यसैबाट केही आम्दानी हुन्छ ।’
झण्डै १५ दिन निरन्तर गिट्टी कुटेपछि ३ हजार रुपैयाँ कमाउन सक्ने हुन्छन् । एक ट्याक्टर बराबर ३ हजार रुपैयाँ प्राप्त हुन्छ । अहिले पेट पाल्ने माध्यम त्यही बनेको छ । तर पनि उनको विदेश जाने सपना भने मरेको छैन । उनी भन्छन्, ‘अब कहिले सहज हुन्छ, विदेश जाने भन्ने नै छ ।’
अब कता जाने त ? छोटोमा उत्तर दिँदै भने, ‘कतारको लागि ‘ट्राइ’ गरिरहेको छु ।’ उनी नजिकै गिट्टी कुट्दै गरेकी पुनम लकडाउन अघिसम्म काठमाडौंको कपडा उद्योग भर्जिनमा काम गर्थिन् । त्यहाँ मासिक १७ देखि २० हजार रुपैयाँ कमाउँथिन् । त्यसैबाट दैनिकी चल्थ्यो । महामारीका कारण सरकारले एकाएक लकडाउन घोषणा गरेपछि उनी गाउँ फर्किन बाध्य भइन् ।
यता आएपछि कामविहीन भइन् । घरमा आमा अमृता राईको दैनिकी गिट्टी कुटेर र ढुङ्गा बटुलेरै चल्दै थियो । आमाको कष्ट देख्न नसकेपछि गिट्टी कुट्न सघाउन थालिन् । अमृता पनि नजिकै गिट्टी कुट्दै थिइन् । झण्डै ६५ वर्ष झैं लाग्ने उनको मेहनत भने युवाजोस झैं थियो । ‘म त बाबू धेरै सक्दिनँ, ३ हजार कमाउन मलाई त महिना दिन नै लाग्छ’ उनले मुख खोलिन्, ‘बलियो पाखुराजस्तो काम गर्न सकिँदैन ।’
छोरी पुनम फेरि पनि सहज भएपछि काठमाडौं नै फर्किने तयारीमा छिन् । कहिले होला सहज उनलाई थाहा छैन । तर पनि काठमाडौंमा गएर पुरानै उद्योगमा काम गर्ने उनको धोको छ । सपना अझै मरेको छैन । त्यही सपनाले उनीहरूलाई बाँच्न सहज बनाएको छ । भलै गिट्टी कुट्दा उनीहरूलाई कष्ट होस् ।
गणेश र पुनमजस्ता धेरै पात्रको यो महामारीले कामको प्रकृति फेरिदिएको छ । बाँच्नका लागि सङ्घर्ष गर्न सिकाउँदै छ । जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने यस्ता पात्रहरू समाजमा प्रशस्तै पाइन्छन् । जसले आफ्नो सिङ्गो जीवन खुसी पाउने अभिलाषामा जिउँछन् । तर, कहाँ सजिलो छ र ! खुसी पाउन । उनीहरूको हिम्मत र सपना नमर्नु नै खुसी पाउने लक्षण हो । जुन सपना हिजो देखेका थिए । त्यो सपना पूरा गर्ने अठोट उनीहरूसँग जीवितै रहनुचाहिँ महत्वपूर्ण कुरा हो ।
गणेशको श्रीमतीसहित दुई छोरीका साथमा बस्छन् । महामारीपछि ढुङ्गागिट्टी कुटेर परिवार पाल्नु बाध्यता हो । अझै कति दिन यही काम गरेर जीविका चलाउनुपर्ने हो उनी अन्यौल छन् । तर, एक दिन आउला उनको कतार जाने सपना । जहाँ उनले पालेको सपनाहरू पूरा हुनेछन् । पुनमको पनि काठमाडौं फर्किने दिन चाँडै आउँला । र, सुरु होला पुरानै दिनचर्या ।