• उत्तम नेपाल

भद्रपुर । घरमा साना नानीहरु । श्रीमान्को यस अगाडि नै मृत्य भएको छ । आर्थिक अवस्था कमजोर । विहान वेलुकाको छाक टार्न समस्या मात्र हैन नानीहरुको भविश्यप्रति उत्तिकै चिन्ता छ उनलाई ।
झापाको हल्दीबारी २ की एकल महिला बुद्धमाया सुब्बाको हो यो परिचय । आर्थिक अवस्थाको चटारो परिरहेको समयमा हल्दीबारी २ नम्बर वडा कार्यालयले तीन महिने ढाका कपडाको सीप तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले पाइन् । उनले जेठको महिनामा आएर तालिम लिन निवेदन दर्ता गराइन् । वडाले उनी लगायत १५ जनालाई छनौट गर्यो । जेठ २४ गते यताबाट यो तालिम लिन घरको काम धन्दा र साना नानीलाई व्यवस्थापन गरेर सीप सिकीरहेकी छन् । वडालेलगायत अन्य साथीहरुलाइ समेटेर तालिम दिलाएकोमा उनी खुसी छिन् । सीप तालिम पश्चात् ऋण लिएर भए पनि व्यवसायिक रुपमा स्वरोजगार हुने उनको योजना छ ।

सिकेको सिपलाई व्यवहारमा उतार्ने लक्ष्य लिएकी अर्की सहभागि आइतरानी लिम्बूले बताइन् । वेरोजगार भएर घरमा वसिरहेको वेला वडाबाट पाएको यो अवसरलाइ निरन्तरता दिने उनको भनाई छ ।
सहभागिहरुले चासो लिएर सिकीरहेको प्रशिक्षक कोपिला श्रेष्ठले बताइन् । वडा कार्यालयले छनौट गरेका सहभागिहरुले तालिम पश्चात लिएको सीपलाई व्यवसायिक तर्फ लैजान सुझाव दिएको उनले सुनाइन् । गाउँपालिकाबाट एक वर्ष अघि तालिम लिएर उत्पादन शुरु गरिरहेको उनले बताइन् । वेरोजगार भएर बसेका महिलालाई सीप सिक्न जरुरी रहेको उनले बताइन् । उत्पादित सामानबाट घर व्यवहार चलिरहको उनले सुनाइन् । बजारमा माग उच्च रहेकोले आपूर्ति गर्न नसकिएको अर्की प्रशिक्षक अनु सिवाकोटी कार्कीले बताइन् । तीन वर्ष अघि सीप सिकेर शुरुमा ३५ हजार लगानीबाट एउटा तान मार्फत सामान उत्पादन गर्दै आइरहेको उनको भनाइ छ । हाल साडी, चौवन्दी चोला, कोट, दौरा सुरुवाल ,सल लगायतका सामग्री उत्पादन गर्दै आएको उनले बताइन् । उत्पादित सामान पालिका बाहिर समेत जाने गरेको उनको भनाई छ ।

यी महिला मात्र नभई हल्दीबारी गाउँपालिकाका महिलाहरु हरेक क्षेत्रको उद्यमशीलता तर्फ आर्कषित हुदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाई व्यवहारिक वनाउन महिला विकास परिषदद्धारा सञ्चालित ढाका कपडा सिलाइ बुनाइ मार्फत स्वरोजगार बन्न थालेपछि महिलाहरुको सो सीप तर्फ आकर्षण बढ्दै गएको हो ।

अभियानलाइ सफल पार्न पालिकाले महिला विकास समिति तथा गठन कार्यविधि ०७५ पास गरी पालिका क्षेत्रभित्र रहेका महिलाहलाई उद्यमशीलता तर्फ जोडनलाई अभियान ल्याएको छ । ढाकाको धागोबाट विभिन्न सामग्री वनाउन शुरु गरिएको पालिकाले जनाएको छ । आर्थिक वर्ष ०७४।७५ मा ३० जना महिलालाई ढाकाको तालिम प्रदान गरिसकेको पालिकाले जनाएको छ । उद्यमशीलता तर्फ उन्मुख भएका महिला घरमा नै बसेर उत्पादन शुरु गरिसकेको अवस्था छ । गत आर्थिक वर्ष ०७५।७६ मा १५ जना महिलाले तालिम लिइसकेका छन् । स्थानीय महिलाहरुलाइ नै स्वरोजगार वनाउने पहिलो लक्ष्य भएको महिला विकास परिषद संयोजक शान्ता गौतमले बताइन् । तालिम केन्द्रको रुपमा लगेर उद्योगमा परिणत गर्ने गाउँपालिकाको उद्देश्य रहेको उनले जनाइन् । एक गाउँ एक नमुना उद्योग सञ्चालन अन्र्तगतको वडाले छुट्टाएको १० लाख बजेटबाट ६ लाख रुपैयाँको ढाका र व्याग सिलाइ बुनाइको तालिम दिइरहेको उनले बताइन् । वडालाइ अझै प्रविधिमैत्री वनाउन चार लाख रुपैयाँकोे रकमबाट निर्माणका लागि दुइ थान मिक्चर मेसिन समेत खरिद गरि नियमअनुसार सञ्चालनमा ल्याइएको उनले सुनाइन् ।