• कोलमुनि

एउटा टेलिभिजनले संवादमा मलाई तपाइँ साहित्यकार नभएको भए के हुनुहुन्थ्यो ? भनेर सोधेको थियो । मैले सायद शिक्षक हुन्थेँ होला भनेर जवाफ दिएको थिएँ । यो अलि अगाडिको कुरा हो । तत्काल मेरो मुखमा त्यही जवाफ आयो । त्यही उत्तर दिएँ । विकल्प अरू पनि थिए । एउटा मुख्य अप्सन त यो पनि हो । अरू अप्सनमा म कुनै विषयको अनुसन्धानकर्ता पनि हुन सक्थेँ । साइन्समा रुचि राख्ने मान्छे कुनै वैज्ञानिक पनि बन्न सक्ने थिएँ होला । शुरुमा म जे भए पनि अन्त्यमा त साहित्यकार नै हुने थिएँ । बाटो बिराएको यात्रीजस्तो पछि फर्केर आउनुभन्दा शुरुमै लागेकोमा कुनै बेला त ख्याल खुसी लाग्दैन । पछुतो छैन ।

खाएको थालमा चुठ्न त हुँदैन भन्थे । उनीहरूले जुन थालमा खाए, चुठ्नु त परै जाओस् फर्केर त्यही थालमा आची समेत गरे ! साङ्लोले आची खान्छ भन्ने कुरा पनि मलाई थाहा थिएन । साङ्लोको सानो टाउको, तिखा आँखा, लामा दुई जुँगा । ती पाइखानाको वरिपरि लुकी बसेका हुन्थे । बाहिरफेर भेट्दा हामी तिनलाई जुँगामा समाएर उचाल्थ्यौँ । यसरी उचाल्नमा हामी एक–अर्कालाई पहलमान ठान्थ्यौँ । त्यो देखेर आमा छिः फोहोरी त्यसरी हातले साङ्ला समाउनु हुँदैन । साङ्ला त एकदम फोहोरी किरा पो हो त भनेर गाली गर्नुहुन्थ्यो ।

त्यसपछि मलाई ती साङ्लो जस्तै लाग्न थाले । सबै कुरा भए पनि मान्छे पूर्ण हुँदैन । मलाई मर्नसँग डर छैन । म मृत्युसँग डराएर भाग्ने मान्छे पनि होइन । म पटक–पटक आत्महत्या गर्न खोजेको मान्छे हुँ । यदि मेरो प्रयास सफल भएको भए सायद आज मैले यो बाध्यात्मक जिन्दगी जिउनु पर्ने थिएन । म झस्किएँ । मृत्युसँग पहिले त्यस्तो बिघ्न डराउने मान्छे । उसका बारेमा चुइँक्क बोल्न नसक्ने मान्छे आज त आफै पो यसो भनिरहेको रहेछु ! पहिलो आवाज मेरो कानमा प¥यो । यो अपरिचित आवाज कतैबाट आएको आवाज थियो ।

साहित्य जस्तोसुकै आपतबिपत्को बेलामा पनि गतिशील हुन्छ भन्ने लागेको थियो । कोरोना महामारीको बेला साहित्यजगत् पनि अरू क्षेत्र जस्तै सुनसान बन्यो । २०७२ सालको भूकम्पले हल्लाएको मन । बल्ल अलि शान्त भएजस्तो भएको थियो फेरि ०७६ मा शुरु भएको कोरोना महामारी ०७७ मा पनि कोरोना महामारीकै निरन्तरता सँगसँगै बाढीपहिरोको कहर । सलह किराको प्रवेश र आक्रमणले कृषि क्षेत्रसमेत आक्रान्त बन्न पुग्यो । जति भाग्यो उति खेद्दै आउने ती राक्षसहरू पनि यतिबेला त दायाँबायाँ लागेजस्तो छ । मेरो कानमा परेको यो दोस्रो आवाज थियो ।  

मैले यतिबेला धेरै पहिलेको एउटा सानो घटना सम्झेँ । मलाई नुन जुकाको अचुक दबाइ  हो भन्ने कुरा पनि थाहा थिएन । थाहा भएको भए लेकाली जस्तो म पनि गोजीमा नुन बोकेर हिँड्दो हुँ । यही घटनाले सिकाएको पाठ हो । मान्छेको रगत खाने मान्छेको स्वरुप मात्र भएका ती जुकाहरूको अचुक दबाइ भने भेटिएन । म रवि बजार गएको थिएँ । रवि भन्नाले पाँचथरको रवि बजार । खै किन गएको थिएँ । मैले अहिले झट्टै सम्झिन सकिनँ । असार–साउनकै महिना थियो होला जस्तो लाग्छ । म एक्लै थिएँ । फर्कदाको कुरा हो । मलाई कसैले त्यो बाटो देखाइदियो । कसले देखाइदियो त्यो पनि ख्याल छैन । छोटो बाटो भनेर देखाइदिएको थियो । आउँदाआउँदै पानी पर्न थाल्यो । केको छोटो बाटो हुनु । पट्यार लाग्दो खरबारीको बाटो रहेछ । लेकको ठाउँ असार–साउनको दिन भए पनि म औलाली मान्छे । ठिटो केटो ।

कस्ता थिए लाएका लुगा जाडोले काम छुट्न पो थाल्यो । जति हिँडे पनि नसकिने भिरालो–भिरालो परेको पाखो थियो । पाखामा डम्माडम्मी खर फुल्न लर्केको थियो । कताबाट सिर्सिर् हावा पनि चल्न थाल्यो । त्यही खरबारीको बीचबाट गोरेटो बाटो थियो । बेला–बेला त्यही गोरेटो बाटो पनि आँखाबाट अलप हुन्थ्यो । हातले लर्केको खर पन्छाउँदै बाटोमा खुट्टा राखेर अगि बढ्नु पर्ने । झरीले बाटोमा लेउ लागेर डिलमा खुट्टा परे पुल्टुङ बाजी खाइने डर कम थिएन । बाटो माथिबाट तलतिर लर्केको खरले बाटो पूरै ढाकेको थियो । पानी पनि यस्तो परिरहेको थियो कि एकनासले आँखा नउघारी एकदम बाक्लो र मसिनो पानी । छाता नओढेको पनि काँ हो र ! छाता ओढेको छ भन्ने नाम मात्र । काखीदेखि उँधो म पूरै भिजेको थिएँ । उभिएर खर पन्छाउन लाग्दा बाटो नकटिने । खर नपन्छाई हिँड्दा फुल्न लागेको खरको थुँगामा झुलेको पानीले छातीदेखि उँधो भिजेर खुट्टाबाट सलल पानी बग्थ्यो । खरबारी छिचोलेर गाउँ निस्कन्छ बाटो एक–डेढ घण्टा हिँडेपछि भनेको थियो । खुट्टाको बाह्र बजिसक्यो । गाउँ आउँदैन । कति हिँडियो कति ! आकासबाट परेको पानीले भन्दा पनि खरबारीको पानीले रुझेको थिएँ म । बेला–बेला त्यही गोरेटो बाटो पनि हराएर हैरान पारेको थियो । हिँड्दाहिँड्दै घुँडादेखि उँधो अचानक गोडा चिलाएर अचाक्ली हुन लाग्यो । खुट्टा चिलाउँदा–चिलाउँदै यो के दशा हो । शरीरै चिलाएर उपर्तली हुन लाग्यो । पानी रोकिने छाँटकाँट छैन । खुट्टामा भर्खर निस्केका नयाँ सिएससी चप्पल थिए । २०४४ सालतिरको कुरा हो । म त्यतिबेला त्यस्तै १५–१६ वर्षको थिएँ । फर्कौं भन्दा पनि निक्कै हिँडिसकियो । पछाडि पनि खरबारी मात्र देखिन्छ । अगाडि पनि खरबारी बाहेक केही देखिन्न । एउटा चरा, मुसाको आवाज सुनिदैन !

खुट्टाले शरीर धान्न नसक्ने अवस्था भएपछि म उभिएँ । उभिन पनि नसक्ने अवस्थामा पुगिसकेको थिएँ । खुट्टा नराम्रोसँग काम्दै थिए । सहारा पनि केही थिएन । सायद भोक पनि लागेको थियो होला । कसोकसो मेरा आँखा ती कमजोर खुट्टालाई नियाल्न पुगेछन् । सिकसिको लागेर चिलाएको होला शरीर भन्ठानेको केको हुनु ! आम्मै मेरा खुट्टादेखि माथि शरीरैभरि कालाम्मे जुका टाँसिएका रहेछन् । कतै खाली ठाउँ थिएन । कति खाएर झरिसकेका । झरेका ठाउँबाट रगत बगिरहेको । कति खाएर अघाइरहेका । कति भर्खर टाँसिदै गरेका । टिपेर फाल्न पनि उभिनै नमिल्ने । उभियो कि कमिलाको ताँती जस्तो फड्किँदै स्याउँस्याउँती जुकाको लाइन खुट्टामा चढ्न थालिहाल्ने । कति चुसेचुसे मेरो शरीरको रगत ती जुकाहरूले ।
त्यसपछि त झन् पानी पनि रोकिएन । म आफू पनि हिँड्न सक्न छोडेँ । रात पनि पर्न लाग्यो । कसोकसो बल्लतल्ल निस्किएँ गाउँ । छोडेर खरबारी त्यो गोरेटो मिसियो बल्ल गाउँको बाटोमा । दशमी निस्किएँ जस्तो लाग्छ । अहिले जस्तो बजार थिएन । एक–दुई पसल थिए । यतिबेला सम्झन्छु । दशमी निस्कँदासम्म चारैतिर पानी परिरहेको थियो । भोक पनि लागेको रहेछ । खाजापानी खाएपछि खुट्टा लागे । जुकाले खाएको ठाउँबाट रगतले छिचोलेर मेरा लुगाभरि खुनका टाटैटाटा थिए । चिया पसलकी बज्यैले मेरो शरीर नियाल्दै भनिन्, ‘यी नानीलाई के बिघ्न जुकाले टोकेछ !’ मेरो शरीरमा अझै कतै जुका टाँसिइरहेका रहेछन् । उनले औँलाले च्यापेर भित्रबाट नुन ल्याइन् र जुका टाँसिएको ठाउँमा छर्किदिइन् । १०–१५ ओटा जुका फत्रक्फत्रक् भूइँमा झरे । अघाएर पनि चुस्न नछोडी बसेका । कस्ता जब्बर रहेछन् ती !

एक पटक टोड्के–कुसुण्डेको बाटो पहाड हिँडेको । मावा खोलो छोडेर पेरुङ्गतिर पस्नु पर्ने । मावा खोलैखोला उँभो लागिएछ बाटो बिराएर । साक्फारा, लफना हुँदै जाँदा ३ दिनमा मात्र घर पुगिएथ्यो । जीवनको यात्रामा पनि यस्तै नानाविधि उतार–चढाव आए । तिनले जीवनको यात्रालाई बेलाबेला घच्याक्घुचुक् मात्र पारेनन् । कुनै बेला त जीवनको यात्रा नै रोकिएला जस्तो पनि भयो । कति मोड परिवर्तन भए । यतिबेला सम्झन्छु । यस्तै झरी परिरहेथ्यो । झम्झम् निरन्तर । म दिनभरि रुझेको थिएँ । विडम्बना अहिले त कोरोना कहर थपिएको छ । त्यसमाथि बाढीपहिरो र डुबान । सलह किराको प्रवेश । यी सबै मानव जीवनका उल्झन् रहेछन् । कुनै बेला कोरोनाभन्दा लकडाउन टाउको दुखाइको विषय पनि भयो । घरबाट बाहिर निस्कन नमिल्ने । हिजो, अस्तिसम्म सुतेको सडक लकडाउन खुलेपछि मानिसहरूको चहल–पहलले रमझम छ । ११ चैत २०७६ देखि ७ साउन ०७७ सम्म लगभग ४ महिनाजति त निसास्सियो जीवनको गति । जीवनमा धेरैजसो नसोचेकै कुरा त हुँदा रहेछन् नि । जीवनलाई यी र यस्तै कुराहरूले त रहेछ नि खच्काउने भनेको पनि ।

आजको विश्वमा कोरोना जस्तो रोगको महामारीले ६–७ लाख मान्छे मर्नु भनेको यहाँ हो ! अझै कति मर्ने हुन् ! विविध दृष्टिले सङ्गठित आजको विश्व मानव समुदाय त चुक्यो कोरोना महामारीसँग । हरेक दृष्टिले सम्पन्न र विकसित भनिएका ठूला राष्ट्रले पनि अनाहकमा आफ्ना धेरै नागरिक गुमाउनु प¥यो । आर्थिक रूपले कति थलै परे । अविकसित, अल्पविकसित र गरिब देशका त कुरै छोडौँ । बढी सास्ती बेहोर्ने भनेको पनि यस्तै देश र यस्तै देशका नागरिकले रहेछ ।