मोरङको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रअन्तर्गत २७ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालयहरू क्रियाशील रहेको तथ्याङ्क पाइन्छ । तिनीहरूमा बढीमा विभिन्न कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुने गरेको भेटिन्छ । कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई शिक्षादीक्षा दिलाउने सन्दर्भमा अङ्ग्रेजीमोह जागेको अवस्था छ । यसका लागि संस्थागत विद्यालय नै अभिभावकहरूको रोजाइमा पर्ने गरेको थियो । तथापि, पछिल्लो समयमा सामुदायिक विद्यालय विकास, समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, शिक्षा–शिक्षण विधिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादीक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयहरूलाई उछिनेर गति लिएको देखिएको छ ।

पथरी शनिश्चरे नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरूले आफ्नो नियमित पठन–पाठनको भाषाको रूपमा अङ्ग्रेजी माध्यमलाई नै अनिवार्य अवलम्बन गर्दै आएका छन् । फलतः मानव महामारीका कारण जारी लकडाउनको समयमा पनि संस्थागतभन्दा पनि सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू बढी भर्ना भएको तथ्याङ्कले दर्शाएको छ । समाजमा अङ्ग्रेजीमोह पालेको अभिभावकहरूका लागि शैक्षिक गन्तव्यको रूपमा सामुदायिक विद्यालयहरू पर्ने गरेको देखिन्छ ।

मूलतः यो लकडाउनका समयमा पनि संस्थागत विद्यालयहरूले विद्यार्थीसँग लिइने गरेको शुल्कमा समेत छुट नदिएपछि यसबाट अभिभावकमा आर्थिक भार बढ्न गएको छ । यसबाट अभिभावकको जीवनमा थोपरिने समस्या र अभिभावकको अपेक्षित अङ्ग्रेजीमोह पनि सामुदायिक विद्यालयले नै उपलब्ध गराइदिएको कारण संस्थागतभन्दा सामुदायिक विद्यालय बालबालिकाको भर्नाका लागि रोजाइ र खोजाइमा पर्ने गरेको छ ।

यतिबेला समाजवादको आधारशीला निर्माण गर्न कसिएको राज्यले पनि गरिब, विपन्न र लक्षित समुदायका छोराछोरीलाई बजारमा प्रचलित शिक्षा उपलब्ध गराउने उद्देश्य लिएअनुरूप सामुदायिक विद्यालयहरूको स्तरोन्नति भएको छ । सामुदायिक विद्यालयहरूमा तालिमप्राप्त शिक्षक–शिक्षिकाहरूबाट पठन–पाठन हुने हुनाले पनि संस्थागतभन्दा बढी सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो ।

यही सन्दर्भमा पथरी शनिश्चरे नपा वडा नं. १ एकताचौक बस्ने सामाजिक व्यक्तित्व गृहिणी कमलादेवी ढकालले भनिन्, ‘पञ्चायत माविमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठन राम्रो भएका कारण आफ्ना छोरीलाई त्यहीँ पढाएको हो ।’

यतिबेला कोरोना सङ्क्रमणले जनजीवन अस्त–व्यस्त भइरहेको छ । ठीक यसैमा संस्थागत विद्यालयको चर्को शुल्क, पठन–पाठनको भद्दापन, सुगा रटान झैं रटाउने प्रवृत्ति, नैतिक मूल्य ह्रासको शिक्षा र जीवन र जगत्सम्बन्धी ज्ञानबोध गर्ने शिक्षाअभावका कारण अभिभावकहरूले सामुदायिक विद्यालयहरू नै रोज्ने गरेको गृहिणी ढकालको माथिल्लो अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ ।

पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि सम्पन्न नगरसभाबाट स्थानीय सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति पास गरेसँगै स्थानीय समुदायमा पनि सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनुपर्ने जाँगर बढेको देखिन्छ । अधिकांश विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुन्छ । अनिवार्य ढङ्गले पढाइ हुने विद्यालयहरूमा प्रतिनिधि विद्यालयका रूपमा क्रमशः पञ्चायत मावि, जनता मावि, सिंहबाहिनी मावि, बुद्ध मावि, बालकल्याण मावि, चन्द्रकिरातेश्वर मावि हुन् ।

पथरी शनिश्चरे नपा वडा नं. १ पथरीमा अवस्थित पञ्चायत मावि, नगरको स्रोतकेन्द्रको रूपमा रहेको छ । विज्ञान सङ्कायमा नेपालकै र समग्र शैक्षिक कार्यक्रम एवम् व्यवस्थापनमा प्रदेशकै सर्वोत्कृष्ट नमूना छनौटमा परेको यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ कक्षासम्म नियमित पढाइ हुने गरेको छ । बिहान र दिउँसो गरी झण्डै २ हजार ५ सय विद्यार्थी सङ्ख्या रहेको यस विद्यालयमा कक्षा १० सम्म अङ्ग्रेजी र नेपाली दुवै भाषागत माध्यमबाट पठन–पाठन हुने गरेको सोही विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताएका छन् ।

प्राचार्य बुढाथोकीका अनुसार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि बेग्लै भवन, तालिमप्राप्त दक्ष र अनुभवी शिक्षक–शिक्षिका, हेरचाह गर्ने कर्मचारी सहितको व्यवस्था हुँदै आएको छ । भरखरै मात्र बालअपाङ्गमैत्री कक्षाकोठा निर्माणको काम अघि बढेको छ । यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इञ्जिनियर, विज्ञान, कानून, शिक्षा, मानविकी शैक्षिक सङ्कायहरू दुवै भाषागत माध्यममा सञ्चालनमा आएका छन् ।

यसकारण स्थानीयका लागि मात्र होइन, प्रदेशबाहिरका अभिभावकका लागि पनि पञ्चायत मावि अध्ययनको विषय बनेकोले आफूलाई पनि गर्व हुने गरेको प्राचार्यले बताए । उनका अनुसार विज्ञान र प्राविधिक शिक्षाकेन्द्रको रूपमा विकसित पञ्चायत माविमा दिनहुँजसो विद्यार्थीको चाप बढेको छ ।

पथरी शनिश्चरे नपा वडा नं. ३ मा रहेको जनता मावि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षा दिनेमा गत्तिलो उदाहरण बनेर प्रस्तुत भएको छ । यो विद्यालयमा आईसीटी प्रविधिमा प्रवेश गरेको कारणले पनि स्थानीय स्तरमा लोकप्रिय बनेको छ । प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, छुट्टै पुस्तकालय, आधुनिक प्रविधिमैत्री कक्षा कोठाको व्यवस्थापन भइरहेको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य पदमप्रसाद सापकोटाले जनता माविले अपेक्षित सफलता हासिल गरेकोमा खुसी व्यक्त गरे ।

प्राचार्य सापकोटाका अनुसार यहाँ अङ्ग्रेजी माध्यमबाट कक्षा ६, ७ र ८ मा छुट्टै कक्षा सञ्चालन हुँदै आएको कारणले विद्यालयमा विद्यार्थी सङ्ख्या बढेसँगै स–साना बालबालिकाका लागि छुट्टाछुट्टै कक्षाहरू सञ्चालनमा ल्याइएको छ । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने जनता माविमा कक्षा ९ र १० मा इण्टर एक्टिङ फ्याट प्यानलमार्फत् शिक्षण विधि सञ्चालन हुँदै आएको छ । नर्सरीदेखि कक्षा ५ सम्म पूरै अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन हुँदै आएको र कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यमलाई जोड दिएको अवस्था छ ।

पथरी शनिश्चरे नपा वडा नं. ९ मा रहेको यस विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठन–पाठन आरम्भ गरिएको अवस्था छ । २०६६ सालबाट कक्षा १ देखि शुरू गरिएको अङ्ग्रेजी माध्यमको पढाइ कक्षा १० सम्म पु¥याइएको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य जगतमणि गौतमले २०७५ को एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ सर्वाधिक राम्रो नतिजामा ल्याएकोमा खुसी व्यक्त गरे । ग्रामीण परिवेश हुँदाहुँदै पनि यहाँ दुवै भाषागत माध्यमबाट पठन–पाठन हुने गरेको विद्यालयका नियमित शिक्षक अष्टमान राईले बताए ।

पथरी शनिश्चरे नपा वडा नं. ८ मा रहेको बुद्ध मावि वि. सं. २०२४ सालमा स्थापना भएको नगरकै सर्वाधिक पुरानो अर्थात् ज्येष्ठ विद्यालय हो । बुद्ध ज्ञानआर्जनका लागि यहाँ आउने मसिना बालबालिकाले कक्षा नर्सरीदेखि ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढ्ने गरेका छन् । स्थानीय समुदाय र अभिभावकको चाहनाअनुरूप बर्सेनि भाषा माध्यमलाई बढाउँदै लगिएको छ ।

नेपाल सरकारद्वारा निर्धारण गरिएका पुस्तक तथा पाठ्यसामग्रीहरू स्थानीय अभिभावकको चाहनाअनुरूप वितरण हुँदै आएको विद्यालयका प्राचार्य बोधराज सिग्देलले बताए । अङ्ग्रेजी माध्यम शुरूवातसँगै यस विद्यालयमा ५० जना विद्यार्थी सङ्ख्याको भर्ना बढेकोले दक्ष शिक्षक–शिक्षिकाद्वारा पठन–पाठनमा जोड दिएको प्राचार्य सिग्देलले बताए । कक्षा नर्सरीदेखि १२ सम्म नियमित पढाइ हुने यो विद्यालयले संस्थागत विद्यालयभन्दा पनि उत्कृष्ट परिणाम दिएको उनले बताए ।

पथरी शनिश्चरे नपा वडा नं. ७, कीर्तिपुरमा रहेको बालकल्याण माविमा यही शैक्षिकसत्रबाट कक्षा नर्सरीदेखि १० सम्म पठन–पाठन हुने गरेको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट प्रारम्भिक कक्षाहरूमा पढाइ हुने यो विद्यालय कीर्तिपुर क्षेत्रका लागि बालकल्याण मावि रोजाइ र खोजाइमा पर्ने गरेको जानकारी विद्यालयका प्रअ रोहिणी घिमिरेले दिए । समयसापेक्षा शिक्षा शिक्षण व्यवस्थापनका लागि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएसँगै प्रोजेक्टर र मल्टीमिडियामार्फत् पठन–पठान हुँदै आएको प्रअ घिमिरे जनाए ।

पथरी शनिश्चरे नपा वडा नं. ७ मा रहेको चन्द्रकिरातेश्वर मावि किरातीचौकमा रहेको एकमात्र स्थापित सामुदायिक विद्यालय हो । दक्ष शिक्षकको अभावले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न नसकिएको हो । यसमा पनि विद्यालयको पढाइ र व्यवस्थापन राम्रो भएका कारण संस्थागत विद्यालय छोडेर यहाँ आउने विद्यार्थीको सङ्ख्या पनि उल्लेख भएको विद्यालयका गणित शिक्षक महेन्द्र ढुङ्गानाले टेलिफोनमार्फत् जनाए । अरू विद्यालयजस्तै क्रमशः अङ्ग्रेजी माध्यममा पठन–पाठन योजना रहे पनि माविमा शिक्षकको दरबन्दी नभएकोले कक्षा सञ्चालनमा मुस्किल रहेको उनको कथन रहँदै आएको छ । एसईईमा सर्वाधिक आकर्षक नतिजा ल्याउन सफल यो विद्यालयले विकासको सम्भावना बोकेको विद्यालयको रूपमा चिनिन्छ ।