आदिवासीलाई केही मानिसले मूलवासी र भूमिपुत्र जस्ता शब्दहरू पनि प्रयोग गर्दछन् । विश्व बैङ्क सन् १९९१ अनुसार, आफ्नो पुख्र्यौली भूमि तथा प्राकृतिक स्रोतसाधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई भिन्न समुदायको भनी दावा गर्ने तथा अरूले पनि सो को समर्थन गर्ने, राष्ट्रिय समुदायको भन्दा भिन्न भाषा भएका, आफ्नो परम्परागत सामाजिक एवम् राजनैतिक संस्थाहरू भएका तथा गुजारामुखी उत्पादन प्रणाली भएका समुदायहरू आदिवासी हुन् । खासमा यो अङ्ग्रेजीको ‘इण्डोजिनेश’ भनिने शब्दको नेपाली अर्थ र परिभाषा हो ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार आदिवासी भन्नाले आफ्नो अलग्गै सामूहिक, सांस्कृतिक पहिचान भएको, आफ्नै भाषा, धर्म, परम्परागत रीतिरिवाज र संस्कृति भएको, आफ्नै लिखित वा अलिखित इतिहास भएको, परम्परागत सामाजिक संरचना समानतामा आधारित भएको, आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका भएको, आफ्नै परम्परागत भौगोलिक क्षेत्र भएको, चार वर्णको हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्ने जाति अथवा समुदायलाई बुझाउँछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वका ९० देशमा करिब ३७ करोड आदिवासी छन् । यिनीहरूले विश्वको करिब पाँच प्रतिशत मात्र जनसङ्ख्या ओगटेको भए तापनि गरिब देशको करिब पन्ध्र प्रतिशत जनसङ्ख्या ओगटेका छन् । पृथ्वीमा बोलिने कुल सात हजार भाषामध्ये धेरै भाषा आदिवासीले नै बोल्छन् । यिनीहरूले पाँच हजार विभिन्न संस्कृति प्रतिबिम्बित पनि गर्छन् । अष्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालयका प्रोफेसर स्टेफेन गार्नेटका अनुसार विश्वको २८ प्रतिशतभन्दा बढी जमिनको भू–भाग आदिवासीले ओगटेका, प्रयोग गरेका र संरक्षण गर्दै आएका छन् । यसैभित्र विश्वको ४० प्रतिशतभन्दा बढी स्थलीय संरक्षित क्षेत्र र ३७ प्रतिशत प्राकृतिक जमिन पर्छन् ।

आदिवासी जनता विशिष्ट संस्कृतिको अभ्यास गर्छन् र त्यसलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छन् । तिनको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका पनि खेल्छन् । अलग–अलग आदिवासीबीच उल्लेख्य सांस्कृतिक भिन्नता देखिन्छ । तर, त्यसको बाबजुद, विश्वभरिका आदिवासी जनताबीच अभ्यासमा रहेका संस्कृतिको पहिचान र संरक्षण गर्नु साझा समस्या रहँदै आएको छ । आज आदिवासी सम्भवतः विश्वका सबैभन्दा सुविधाहीन र जोखिमपूर्ण समुदाय हुन् ।

अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका छन् । खतरामा रहेका बहुसङ्ख्यक भाषा आदिवासी जनताले बोल्छन् । एक अनुमान अनुसार प्रत्येक दुई हप्तामा एउटा आदिवासी भाषा लोप हुन्छ । भाषा लोप हुँदा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली पनि जोखिममा पर्छ ।

संयुक्त राष्ट्रसङ्घको आदिवासी समुदायको अधिकार सम्बन्धी घोषणापत्रको दफा १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलन अनुरूप सुहाउँदो शैक्षिक प्रणाली र संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । नेपालमा ५९ वटा जातिलाई आदिवासी जनजाति भनी सूचीकृत गरिएको छ ।

‘अल्टरनेटिभ रिपोर्ट अफ द इण्डाइजिनियस पिपुल्स अफ नेपाल’ का अनुसार नेपालका आदिवासीहरू किसान, कुमाल, गन्गाई, गुरुङ, चेपाङ, छन्त्याल, जिरेल, झाँगड (उराव), ताजपुरिया, तामाङ, ताङ्बे, तोप्केगोला, थकाली, थामी, थारु, दनुवार, दराई, दुरा, धिमाल, नेवार, पहरी, बरामु, भोटे, भुजेल, बोटे, मगर, माझी, मुगल, मेचे, याक्खा, लिम्बू, राई, राजवंशी, राजी, लेप्चा, लोर्के, वालुङ, ल्होमी (सिङ्सा), शेर्पा, ब्यासी, सन्थाल, सियार, सुनुवार, हायु, ह्योल्मो, मार्फाली, तीनगाउँले थकाली, डोल्पो, थुडम, सुरेल, धानुक, कुचबढीया, बाह्रगाउँ, लोपा, राउटे, कुसुण्डा, बाह्र गाउँले थकाली, बनकरिया आदि हुन् ।

आदिवासीहरूले देश विकासमा निकै ठूलो भूमिका निभाएका हुन्छन् । यिनीहरूले भाषा, संस्कृति, चालचलन, पहिरन, रीतिरिवाज, धर्म, परम्परा, नाच, गीत आदि सबैको रक्षा गरिरहेका हुन्छन् । यिनीहरूसँग आफूलाई आवश्यक पर्ने सामानहरू आफैले बनाउन सक्ने दक्षता हुन्छ । यिनले आपूmलाई आवश्यक पर्ने वस्तुहरू आफैले बनाउँछन् । यिनीहरु कृषि, स्वास्थ्य, रोजगारी आदि जस्ता क्षेत्रमा आत्मनिर्भर हुन्छन् ।

हाम्रो देशलाई आवश्यक खाद्यान्नमध्ये धेरै खाद्यान्न यिनीहरूले नै परिपूर्ति गरिरहेका छन् । स्वास्थ्य रक्षाका लागि आवश्यक विभिन्न औषधिहरू पनि यिनैले नै बनाउन जानेका हुन्छन् । यिनीहरू आफै विभिन्न काममा संलग्न हुनुका साथै थुप्रै मानिसका लागि रोजगारीको अवसर पनि सिर्जना गरिरहेका हुन्छन् । यसका साथै बोटबिरुवाको मद्दतले घर तथा खेतबारी सुरक्षित गर्ने तरिका (बायोफेन्सिङ) पनि जानेका हुन्छन् । यस आधारमा भन्न सकिन्छ कि आदिवासीको खाद्य संरक्षण, जैविक विविधताको ज्ञान एवम् संरक्षण, कृषि प्रणालीको परम्परागत सीप अनि बायोइञ्जिनियरिङको चेत र प्रयोग पनि यिनले गरेका छन् ।

आदिवासीहरूसँग अद्भूत ज्ञान हुन्छ । जुन रोग तथा चोटपटकको उपचारका लागि हामी अस्पताल जान्छौं, महँगो औषधि खान्छौं, त्यस्तो रोग तथा चोटपटकको उपचार त उनीहरू अस्पताल नगइकन घरमै बसेर निको पार्न सक्ने क्षमता पनि राख्छन् । उनीहरूसँग आफ्नै उपचार विधि वा पद्धति, उपचारका ज्ञान र स्रोतहरू हुन्छन् । तिनै ज्ञानको उपयोग गरेर उनीहरूले आफ्नो, आफ्ना आफन्तको, नातेदारको र अन्य बिरामीहरूको उपचार गरिरहेका हुन्छन् ।

उनीहरूको उपचार विधि र ज्ञान वैज्ञानिक तवरले प्रमाणित नभएको भए तापनि प्रभावकारी हुन्छ । तर, विज्ञानको आँखा खुलाउने चाहिँ सोही ज्ञान र उपचार पद्धति र औषधिहरू नै हुन् । आदिवासीले आफ्नै वरिपरि भएका, सहजै प्राप्त गर्न सकिने बोटबिरुवा, जीवजन्तु र आफ्नो ज्ञान प्रयोग गरेर विभिन्न रोगहरू निर्मूल पार्ने औषधि बनाएका छन् । ती वस्तुको पहिचान गरिकन आज चिकित्सा विज्ञान तथा औषधि विज्ञानले उपयोग गरिरहेको पनि छ ।

भारतको आयुर्वेद र युनानी, चीनको अकुपञ्चर आदि आदिवासीको ज्ञानका केही उदाहरण हुन् । थुप्रै मानिसले प्रयोग गर्ने वस्तुहरू जस्तैः बोटबिरुवाबाट बनाइएको औषधि, स्वास्थ्य सम्बन्धी सामान र कस्मेटिक आदि आदिवासीको पारम्परिक ज्ञानबाट नै बनाइएको हो ।

तिनै ज्ञान र उपचार विधि देशले पनि अपनाउन सक्यो भने सस्तोमा बढी प्रभावकारी उपचारको लाभ उठाउन सक्छौं । उनीहरूको ज्ञानको सदुपयोग ग¥यौं भने विभिन्न औषधिहरू पनि बनाउन सक्छौं । उक्त औषधि र ज्ञान आन्तरिक तथा वाह्य पर्यटकहरूलाई बेचेर आर्थिक आर्जन गर्न सक्छौं । उक्त ज्ञानको सही सदुपयोग गरियो भने थुप्रै मानिसहरूलाई रोजगारीको अवसर पनि सिर्जना गर्न सकिन्छ । उनीहरूलाई कुन समयमा, कुन जमिनमा, कस्तो बोटबिरुवा लगाउनुपर्छ भन्ने कुराको राम्रो ज्ञान हुन्छ । ज्ञान किन हुन्छ भने आदिवासी त्यहाँको प्रकृतिसँग मितेरी लगाएर, पारस्परिक सम्बन्ध स्थापित गरेर बसेको छ । मानौं, प्रकृतिलाई उनीहरूले र उनीहरूलाई प्रकृतिले राम्ररी चिनेको मात्र होइन, मित नै लगाएको छ । उनीहरूको उक्त ज्ञानले कृषि, स्वास्थ्य आदि जस्ता विभिन्न क्षेत्रमा उन्नति गर्न निकै मद्दत पु¥याउँछ ।

त्यति मात्रै नभएर आदिवासीहरूको आफ्नै मौलिक भाषा, धर्म, परम्परा, रीतिरिवाज, संस्कृति, नाच, गीत, पहिरन र चालचलन पनि हुने भएकोले उक्त भाषा, संस्कृति र चालचलनको प्रचार–प्रसार गरेर थुप्रै विदेशी पर्यटकहरू भिœयाउन पनि सकिन्छ । उनीहरूको खानेकुराको परिकार पनि अरूको परिकारभन्दा भिन्न हुन्छ । उनीहरूसँग भएको ज्ञानले बढ्दै गएको भोकमरी र अनिकाल घटाउन सकिन्छ । उनीहरूले वर्षौंदेखि विभिन्न प्रकारका खाना र बोटबिरुवाहरू प्रयोग गर्दै आइरहेका छन् । यदि उक्त ज्ञान सिकेर हामीले व्यवहारमा उतार्न सक्यौं भने भोकमरी घट्न सक्छ । साथै उक्त वस्तुहरूबाट विभिन्न प्रकारका परिकारहरू बनाएर व्यापार पनि गर्न सकिन्छ । यसबाट रोजगारीका साथसाथै आर्थिक आम्दानी पनि हुन्छ ।

आदिवासीको ज्ञानले दिगो विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । उनीहरूको धार्मिक विश्वासका कारण पनि थुप्रै बोटबिरुवा तथा जनावरहरू सुरक्षित छन् । त्यसैले त हजारौं वर्षदेखि आदिवासीले प्रयोग गर्दै आइरहेका जीवजन्तु र बोटबिरुवा अहिले पनि पाइन्छन् । यिनीहरूले जैविक विविधता संरक्षण र प्रवद्र्धन गरी पारिस्थितिक प्रणाली स्वस्थ राख्न निकै महŒवपूर्ण भूमिका खेल्दै आइरहेका छन् । आदिवासीले वर्र्षौंदेखि वातावरण संरक्षण, प्रजाति संरक्षण, जैविक विविधता र पारिस्थितिक प्रणाली संरक्षण, वनजङ्गल प्रवद्र्धन, जल संरक्षण तथा प्रवद्र्धन, जमिनको उर्वराशक्ति प्रवद्र्धन र वन डढेलो नियन्त्रण आदि गर्दै आइरहेका छन् ।

आदिवासीहरूसँग विभिन्न कला पनि हुन्छ । यिनीहरू हस्तकला, चित्रकला, मूर्तिकला र काष्ठकला आदिमा निपुण हुन्छन् । उक्त कलाबाट थुप्रै उपयोगी वस्तु अथवा सामानहरू बनाउन सक्छन् । थुप्रै हातबाट बनाइएका सामानहरू जस्तै हाते पङ्खा, जुत्ता, गुन्द्री, चकटी, सिलौटा, ढिकी, जाँतो, डोको, ढकिया, नाङ्लो, पिर्का, हलो, भाँडाकुँडा, गोरुगाडा, खुकुरी, चक्कु, हँसिया, कोदालो, कुचो, काठका ढोका, झ्याल, टेबुल, कुर्सी, दराज, ठेकी, मदानी, डुङ्गा खाट, खटिया, आदि यिनीहरूले नै बनाउँछन् ।

यसका साथै माटाका सुन्दर मूर्ति, भाँडाहरू जस्तैः हाँडी, दियो, खुत्रुके आदि पनि बनाउँछन् । त्यस्तै ३०० रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म पर्ने थाङ्का पनि यिनैले नै बनाउँछन् । यी त केवल केही आदिवासीले बनाउने केही सामानहरू मात्र हुन् । यस्ता थुप्रै अन्य सामानहरू आदिवासीले नै बनाउँछन् । उक्त सामानहरू बाहिर विदेशमा निर्यात गर्न सकियो भने थुपै्र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । साथै बढ्दो वैदेशिक व्यापार घाटालाई घटाउन पनि सकिन्छ ।

हामीले आदिवासीको ज्ञान, सीप र कलाबाट नै देशलाई आत्मनिर्भर बनाउन सक्छौं । हाम्रो देशले आदिवासीको ज्ञान र कला सही मूल्याङ्कन गर्न सक्यो र उक्त ज्ञान र कलालाई विशेष प्रोत्साहन र प्रचार–प्रसार गर्यो भने देशले निकै ठूलो फड्को मार्नेमा कुनै दुईमत छैन । त्यसैले उनीहरूको हकहित, अधिकार र संरक्षणका लागि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका मानिस तथा निकायले चासो दिनुपर्छ ।
(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र, एमएस्सीका शोधार्थी हुन् ।)