• धनबहादुर पुरी

इटहरी / कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित निजी विद्यालय बन्द भएपछि सुनसरीका शिक्षकहरूले तलब पाएका छैनन् । शिक्षकले विगत तीन महिनादेखि तलब पाउन नसकेका हुन् ।

बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । अधिकांश शिक्षकहरू अहिले बेरोजगारजस्तै भए पनि सरकारले नहेरेको भन्दै शिक्षकहरूले गुनासो गर्न थालेका छन् ।

निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइनलगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन शुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् । इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले विद्यालयले शिक्षकहरूलाई तलब नदिँदा बिल्लीबाठ भएको छ । औंलामा गन्न सकिने स्कुल छोडेर अधिकांश स्कुलले शिक्षकहरूलाई तलब नदिएको उनको गुनासो थियो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत निजी स्कुलका शिक्षकको मर्म नबुझेको उनले दुःखेसो गरे । तलबको बहाना देखाउँदै निजी स्कुलका शिक्षकहरूलाई विद्यालयहरूले धमाधम निकाल्न थालेका छन् । ‘अहिले अधिकांश शिक्षकहरू तलब बिना नै भए पनि जागिर जोगाउने पक्षमा रहेका छन्’–उनले भने ।

प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले संस्थागत विद्यालयका शिक्षकले गत चैतदेखि जेठ महिनासम्मको तलब पाउन नसकेको बताए । ‘हामीले चैतसम्मको तलब सबैलाई दिनुपर्छ भन्ने माग राखेका छौं’ –उनले भने । वैशाखदेखि भने अधिकांश शिक्षकले तलब नपाएको अध्यक्ष कोइराला बताउँछन् । तीन महिनादेखि तलब नपाउँदा शिक्षकहरूको आर्थिक अवस्था नाजुक भएको छ ।

संस्थागत विद्यालयका शिक्षकको समस्या आएपछि यसमा पहल गर्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तथा सरकारी अधिकारीहरूसमेत शिक्षकहरू समस्यामा परेको बताउँछन् । एनप्याब्सनका सुनसरी अध्यक्ष नारायण सञ्जेल भन्छन्, ‘विद्यालयहरू आफै समस्यामा भएको कारण तलब दिन सकेका छैनन्, चैतसम्मको तलब दिने पहल गरेका छौं, त्यसयताको तलब शिक्षकहरूले पाएका छैनन् ।’
यता निजी स्कुलका शिक्षकहरूले भने आफूहरूलाई तलब नदिएको भन्दै दुःखेसो गरिरहेका छन् । इटहरीस्थित एक चर्चित निजी स्कुलका शिक्षकले नाम नखुलाउने शर्तमा भने, ‘विद्यालयले तलब नदिएको कुरा बाहिर नलैजान स्कुल प्रशासनले दबाव दिएको छ । मैले पौषदेखि तलब पाएको छैन, काम लगाएको भए पनि बेरोजगारजस्तै बस्नुपरेको छ ।’

विद्यालय सञ्चालकले भने शिक्षकको सुविधा, विद्यार्थीको शुल्कको विषय एक–अर्कामा अन्तरसम्बन्धित भएकाले सञ्चालक, शिक्षक र अभिभावकको आपसी सहमतिमा शिक्षकहरूलाई तलब दिनुपर्ने बताएका छन् । इटहरीका शिक्षक राम गौतमले सामाजिक सञ्जाल फेसबुकमा नै लेखेका छन्– ‘निजी शिक्षक नहोऊ बरु बेरोजगार बस ।’ उनी मात्र होइन, अहिले अधिकांश निजी स्कुलका शिक्षकहरू तलब नपाएर समस्यामा पर्दै आएका छन् ।