• भोजराज श्रेष्ठ

धरान / ललितपुरका शताब्दी पुरुष सत्यमोहन जोशीको देशविदेशमा चर्चा चलिरहँदा धरानका शताब्दी पुरुष गुमनाम छन् । धरान–१६ भगवती मार्गका शताब्दी पुरुष तीर्थबहादुर श्रेष्ठ सबैको नजरबाट ओझेलमा छन् ।

वैशाख २६ गते सोमबारका दिन सय वर्ष टेकेका उनी अहिले पनि ठमठम्ती हिँड्छन् । नियमित ४ बजे उठ्छन् । बिहानको नित्यकर्म सक्छन् । त्यसपछि हिँडडुलका लागि केही घण्टा निस्कन्छन् तर लकडाउन यता भने उनी घरभित्रै थन्किएका छन् । दैनिक उही समयमा उठे पनि उनी ओछ्यानमै बसिरहन्छन् । उज्यालो भएपछि आफ्नो बैठक कोठामा आउँछन् । अहिले पनि उनलाई दीर्घरोग छैन । रोगका नाममा प्रोष्टेट छ । त्यसको औषधि खाइरहेका छन् । उनी भन्छन्, ‘प्रोष्टेट छ, अरू केही छैन ।’

उनले प्रोष्टेटको बाहेक अर्को नियमित औषधि खाएका छैनन् । एक पटक काठमाडौंदेखि फर्कंदा गाडी छुटेका कारण अमलेखगञ्जमा बसाइ हुँदा लामखुट्टेले टोकेकाले मलेरियाको औषधि खाएको स्मरण गर्छन् । ‘२०१०–११ सालतिर काठमाडौंबाट फर्किंदा बस छुटिहाल्यो । रात त्यहीँ बसियो, मच्छडले टोकेछ कि क्या हो । यहाँ आएपछि ज्वरो भयो, त्यो बेला मलेरियाको औषधि खाएको थिएँ’–उनले भने । उनी वि.सं. १९७८ सालमा जन्मिएका हुन् ।

त्यो परिचय खुलाउने उनीसँग चिना सुरक्षित छ । नागरिकता भने २०३५ सालमा लिएका छन् । त्यो बेला नागरिकता लिँदा उनको उमेर ५७ लेखिएको छ । ‘पहिला यस्तै चलन थियो, आजभोलि जन्ममिति लेखिन्छ, उहिल्यै त्यस्तो चलन थिएन, कति वर्ष पुगिस् भनेर सोध्यो त्यहीअनुसार लेखिदियो’–उनी भन्छन् । शताब्दी पुरुष भए पनि उनको चर्चा खासै नभएकोप्रति उनमी बुहारी भन्छिन्, ‘किनकि अजा साहित्यकार पनि हुनुभएन, कवि पनि होइन, सत्यमोहन जोशी साहित्यकार पनि भएकाले अलिक धेरै सोधीखोजी भयो ।’

श्रेष्ठले पनि कुनै समय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका थिए तर अनुमान लगाउन सकेनन् । उनी भन्छन्, ‘सानोमा भेटेको जस्तो लाग्छ, मलाई पनि याद छैन ।’ उनको पुख्र्यौली थलो बनेपा भएकाले काठमाडौं आउजाउ गरिरहन्थे । त्यहीताका भेटेको हुनसक्ने उनी बताउँछन् । एक पटक धनकुटाबाट हिँडेर २२ दिनमा काठमाडौं पुगेको अनुभव उनीसँग छ । ‘एक पटक हिँडेर काठमाडौं गइयो, २२ दिन लागेकोथ्यो’–उनी भन्छन् । शताब्दी पुरुष श्रेष्ठ अहिले पनि आफूलाई मनपर्ने तरकारी पकाउँछन् । माछामासु खान पहिलाभन्दा कम गरेका छन् । ‘उहिले त धेरै नै खाइयो, माछामासु, दूध, दही घ्यू त कति खाइयो कति !’–उनले भने । कुनै समय धूमपानको लत पनि थियो । झण्डै १५–२० वर्षसम्म धूमपान गरेको अनुभव उनीसँग छ । मादक पदार्थ पनि केही समय सेवन गरे तर अहिले चटक्कै छाडेका छन् । ‘दशैंमा वाइन चाहिँ अलिकति खाइन्छ’–उनी भन्छन् ।

दीर्घजीवन हुनुको कारण उनलाई थाहा छैन तर पनि दीर्घजीवन बाँच्न पाएकोमा भने खुसी छन् । धनकुटा बजारबाट २०५० सालतिर धरान झरेका उनले खनातिसम्म देख्न पाएका छन् । ‘छोरीपट्टि त खनाति नै भइसक्यो’–उनी भन्छन् । धनकुटाको भाषा पाठशालामा साधारण शिक्षा लिएका उनले जागिरको नाममा तत्कालीन धनकुटाको क्षेत्रीय अदालतमा सिपाहीको जागिर खाएका थिए । त्यसपछि एक वर्ष नापीमा म्यादीको जागिर खाए । राणाकालीन समयमा मुन्सिपालिटीको सदस्य, गोकुण्डेश्वर हाईस्कुलको सदस्य, धनकुटा नगरपालिकाका सदस्यसम्म बनेको स्मरण गर्छन् ।

शताब्दी पुरुष भएर पनि सरकारले ध्यान नदिएकोमा खासै गुनासो छैन तर धनकुटालाई प्रदेश १ को राजधानी नबनाएकोमा चाहिँ अत्यधिक गुनासो रहेछ । उनले भने, ‘धनकुटालाई अन्याय ग¥यो, धनकुटाको उन्नति नै खत्तम भयो । शासकले विराटनगर राखेर ठूलो गल्ती गरे ।’ स्व. राजा वीरेन्द्र शाहले क्षेत्रीय कार्यालय बनाएको धनकुटालाई काङ्ग्रेस नेता गिरिजाप्रसाद कोइरालाले उता लगेकोमा गुनासो पोखे । विराटनगरलाई राजधानी बनाएकाले धनकुटा कङ्कालजस्तो मात्रै भएको उनको बुझाइ छ । राजनीतिक, धार्मिक, धनाढ्य व्यापारी, पठन–पाठन, अड्डा अदालत सबै विराटनगर केन्द्रित गरेकोमा दुःख व्यक्त गरे । ‘पहाडलाई अवहेलना गरे, अन्याय भयो’–उनले भने ।