भण्टाबारी/ लकडाउनको अवधिमा कोशी टप्पु वन्यजन्तु आरक्षको चित्तल मारेको आरोपमा पक्राउ परेका दुई जनालाई अनुसन्धान नगरी छाडिएको पाइएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनले अनुसन्धानकै क्रममा चित्तल मारेको आरोपमा पक्राउ परेका दुई जनालाई जनप्रतिनिधिको रोहवरमा छाडेको बताए पनि अनुसन्धानसमेत नगरी छाडिएको बारे प्रश्न उठेको छ ।

अनुसन्धान नै नगरी छाड्दा शङ्का उब्जिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । उनले कि राजनीतिक दबावमा छाडिएको या पैसाको चलखेल भएको आशङ्का व्यक्त गरे ।

अर्नाको राजधानी भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय संरक्षण अधिकारीबाटै वन फँडानीदेखि आरक्षमा वन्यजन्तुको शिकार गर्ने व्यक्तिले प्रश्रय पाउने गरेको स्थानीयको गुनासो छ । कोशी टप्पुमा रामदेव चौधरी प्रमुख संरक्षण अधिकृतका रूपमा आएपछि वन फँडानीदेखि वन्यजन्तुको चोरी शिकार बढेको स्थानीय बताउँछन् । लकडाउनको अवधिमा अहिलेसम्म ७ जना चित्तल शिकारी पक्राउ परेका छन् । तीमध्ये वराहक्षेत्र नगरपालिका–९ का डोमा कविरथ र सन्तोष कविरथलाई आरक्ष प्रशासनले अनुसन्धानकै क्रममा छाडेको जनाएको छ भने चित्तल मारेको आरोपमा सप्तरीको कञ्चनरूप नगरपालिका क्षेत्रबाट पक्राउ परेका पाँच जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

गत चैत २९ गते चित्तलको शिकार गरेको आरोपमा नेपाली सेना र कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी नेतृत्वको संयुक्त टोलीले रङ्गेहात पक्राउ गरेका दुई जना शिकारीलाई पैसा लिएर छाडेको आरोप लगाइएको छ । वराहक्षेत्र–९ श्रीलङ्का टापुको नारायणपुरबाट शिकार गर्दै गरेको खबर प्राप्त भएपछि कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ श्री शत्रुभञ्जन गुल्म अन्तर्गत सुरक्षा पोष्ट, श्रीलङ्का टप्पुबाट आरक्ष कर्मचारीसहितको संयुक्त टोलीले सोही स्थानका ३० वर्षीय सन्तोष र ४० वर्षीय डोमालाई पक्राउ गरेको थियो ।

नेपाली सेनाले अन्दाजी ४ वर्षको चित्तलको शिकार गरी घरमा लुकाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिई कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा आवश्यक कानूनी कारबाहीको लागि बुझाएको थियो । तर, कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीको निर्देशनमा आरक्षका रेञ्जर जयराम न्यौपानेसहितले अनुसन्धान नै नगरी पक्राउ परेकाहरूका एकहप्ताभित्रै छाडेपछि आरक्षका वार्डेन चौधरीलगायत उपर विभिन्न आरोप लगाइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम वन्यजन्तुको चोरी शिकार गर्ने व्यक्तिलाई उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरू हेरी तहकिकात सन्तोषजनकरूपमा भए वा नभएको विचार गरी सन्तोषजनक रूपमा तहकिकात भइरहेको देखिएमा एकैपटक वा पटक–पटक गरी बढीमा पैँतालीस दिनसम्म थुनामा राख्ने अनुमति दिनसक्ने व्यवस्था छ । चित्तलको शिकार गर्ने व्यक्तिलाई ६ महिनादेखि १ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिबानाको प्रावधान रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगत बताउँछन् ।

चित्तल शिकार गर्ने व्यक्ति छाडिएको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको भन्दै सूचना अधिकारी भगतले अनभिज्ञता प्रकट गरे । यस बारे जिज्ञासा राख्दा कोशी टप्पु वन्यजन्तु आरक्षका रेञ्जर तथा अनुसन्धान अधिकारी जयराम न्यौपानेले छानबिनकै क्रममा उनीहरूलाई वडाअध्यक्ष र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षलाई रोहवरमा राखेर छाडेको प्रतिक्रिया दिए । उनले भने, ‘छानबिन अझै जारी छ, हामीले चित्तल शिकार गर्ने फरार रहेका थप केही व्यक्ति पक्रन सन्तोष र अर्का डोमालाई छाडेका हौं ।’

गत चैत्र २९ गते कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिम कुशाहाले पत्र सङ्ख्या २०७६÷०७७ चलानी नम्बर ७८६ मा डोमा कविरथ र सन्तोष कविरथलाई प्रतिवादी बनाएर अवैधरूपमा वन्यजन्तु चित्तल मारेको कसूरमा अनुसन्धानको लागि हिरासतमा राख्नुपर्ने भएको भन्दै थुनुवा पुर्जी दिएको थियो ।

आरक्षको वन्यजन्तु तथा दुर्लभ जनावर संरक्षण गर्न खटेका संरक्षण अधिकारीकै प्रश्रयमा चोरी शिकार बढेको र रङ्गेहात पक्राउ परेका व्यक्तिलाई समेत कानूनी कारबाही नगरी छाडेको भन्दै स्थानीयले वन फँडानी तथा जनावरको शिकार गर्ने व्यक्तिलाई छाडेको सम्बन्धमा यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आरक्षका वार्डेन चौधरीले तीन वर्षमाथि कैद हुनेलाई मात्र अनुसन्धानमा राख्न सकिने बताउँदै अनुसन्धान थुनेर गर्ने कि कसरी गर्ने अधिकार अनुसन्धान अधिकारीमा निहित रहेको बताए । रकम लिएर आरोपित छाडिएको आरोप उनले अस्वीकार गरे । काम गर्ने क्रममा त्रुटि हुने बताउँदै चौधरीले चोरी शिकार रोकथाम गर्न विभिन्न समितिका साथै युवाहरूसमेत परिचालन गर्दै आएको दाबी गरे ।