यासोक/पाँचथरको कुम्मायक गाउँपालिका ५ स्थित निगाले कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका अगुवा कृषक हुन् महेन्द्र खड्का ।

उनले यान्त्रीकरण विधिबाट ७ रोपनी क्षेत्रफलमा मकै बाली लगाए । बिरुवा लहलह भएपछि फौजी किराको प्रकोप देखा प¥यो । मकै बाली नै नष्ट हुने भएपछि उनले कृषि ज्ञान केन्द्र पाँचथर र यासोक कृषि शाखालाई गुहारे । २ दिनमै ज्ञान केन्द्र र कृषि शाखाले चासो दियो । सहकारी संस्थामा आवद्ध भएका उनीसहित एक सय बढी किसानको मकै बालीमा किराको प्रकोप देखियो । ज्ञान केन्द्रको अनुगमनपछि किसानलाई स्प्रेसहित बिषादी वितरण ग¥यो । विरतण गरेको बिषादी किसानले मकै बारीमा प्रयोग गरे । अहिले पूर्णरूपमा फौजी किरा नियन्त्रणमा आएको छ । 

फौजी किराको प्रकोपले मकै बाली नै नष्ट हुने अवस्थामा पुगेको थियो । तर अहिले बिषादी प्रयोग गरेपछि किरा मरेको कृषक खड्काले बताए । ‘सुरुमा किरा मर्छ कि मर्दैन भन्ने थियो तर अहिले पूर्ण नियन्त्रणमा आएको छ’ हर्सित मुद्रामा उनले सुनाए । ज्ञान केन्द्रले वितरण गरेको इमामेक्टिन बेन्जोएट ०.५ ग्राम र क्लोरोनट्रानिलीप्रोल बिषादीले राम्रो काम गरेको स्थानीयले बताए ।  बिषादी प्रति आश्वास्त नभएका किसान अहिले बिषादीले काम गरेपछि हर्षित बनेका छन् । तर गाउँपालिकाको अन्य वडामा फौजी किरा फैलिदै गएको छ । समयमै नियन्त्रणमा नलिए मकै उत्पादन घट्ने यासोक कृषि शाखा प्रमुख प्रज्ञा सुन्दासले बताइन् । गाउँपालिकाले बिषादी खरिद गरी किसानलाई वितरण गर्दै आएको छ । तर यो किराको प्रकोप तीव्र रूपमा बढेकाले उच्च सावधानी अपनाउनु पर्ने शाखाले जनाएको छ ।

जिल्लाको फाल्गुनन्द र तुम्बेवा गाउँपालिमा पनि फौजी किरा फैलिदै गएको छ । किसानको प्रमुख बाली जोगाउन गाउँपालिकाले अनुदानमार्फत किसानलाई बिषादी वितरण गर्दै पनि आएका छन् । किसानको आशा र भरोसा गाउँपालिकाले वितरण गरेको बिषादीमा छ । यो बिषादीले मकैवालीमा लाग्ने फौजी किरा पूर्णरूपमा नियन्त्रणमा आउने उनीहरूको विस्वास छ । यसमा स्थानीय तहले थप सक्रियता बढाउनु पर्ने आवश्यक देखिन्छ ।