नेपालमा लकडाउन २०७६ साल चैत्र ११ गतेदेखि कायम छ । यही वैशाख २५ गते लकडाउनको अवधि समाप्त हुँदैछ । फेरि लकडाउन थपिने हुन् कि भन्ने त्रासमा जनता छन् । कोही भने अझै लक डाउन थपोस् भन्ने चाहना राख्ने पनि होलान् । यस अवधिमा धेरै क्षेत्रमा तहसनहस भइसकेको छ । हुनत रोग लागेर औषधि खानुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । कमाइ खाने, ज्याला मजदुरी गर्नेदेखि लिएर अन्य व्यक्तिहरू समेत आक्रान्त छन् । सरकारी कर्मचारीहरूलाई मात्र ढुक्कको अवस्था छ किनकि यस अवधिमा भएको लामो बिदाको पनि उनीहरूले तलब पाइहाल्छन् ।

विश्वमा फैलिएको कोरोना भाइरसले विश्वलाई आतंकित पारेको छ । यसले थुप्रै नकारात्मक अवस्थाको सृजना गरेको छ । यसबाट थिलथिलो भएको विश्वको आर्थिक अवस्थालाई उकास्न अझै झण्डै पा“च वर्ष लाग्ने अनुमान एकथरिले लगाएका छन् भने अर्कातिर यसको औषधि पत्ता लाग्न नसक्नु अर्को उदेकलाग्दो विषय भएको छ । विश्वमा यस रोगले २ लाख ४८ हजार २८५ मानिसको ज्यान लिइसकेको छ भने यसबाट ३५ लाख ६६ हजार २३० जना संक्रमित भएका छन् । त्यसमध्ये ११ लाख ५४ हजार २५ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् । हाम्रो छिमेकी मुलुक भारतमा यसले १ हजार ३०६ जना मानिसको ज्यान लिइसकेको छ । भारतमा हाल ४० हजार २६३ जना संक्रमित भएका छन् । हालसम्म नेपालमा यो लेख तयार पारुञ्जेल ७५ जना संक्रमित भएका छन् भने १६ जना उपचारपछि निको भएर आफ्नो घर फर्किसकेका छन् । यो हाम्रो सौभाग्य भनौं, नेपालमा यस रोगले कसैको पनि मृत्यु भएको छ्रैन र भविष्यमा त्यस्तो दुःखदायी अन्त नहोस् पनि ।

कोरोनाले गर्दा सम्पूर्ण आवागमन बन्द छ । बन्दाबन्दीले गर्दा पर्यावरण राम्रो भएको छ । प्राकृतिक सुन्दरता कायम भएको छ । प्रदूषण निकै नै कम भएको छ । फोहोरमैलाको निष्काशन झनै कम भएको छ । विश्वमा कार्वन उत्सर्जन पनि निकै तल झरेको छ । फोहोेर नफालिएर नदीनाला स्वच्छ भएका छन् । परिवारजनमा समय दिन नपाएकाहरू यस बेलामा यथेष्ट समय दिएर पारिवारिक मूल्यमान्यता बुझ्न, माया, प्रेम बढाउन सफल भएका छन् । आयात घटेको छ । पेट्रोल, डिजेलको उपभोग निकै तल झरेको छ । महँगा तथा विलासिताका साधनहरूको आयात ठप्प हुँदा नेपाली मुद्रा निकै बचेको छ ।

अर्कातिर नेपाली अर्थतन्त्र चलायमान हुन नपाउँदा समस्या बढेको छ । दैनिक ज्यालादारी गर्ने, यातायात व्यवसायी तथा मजदुर, पसल गर्नेहरू मारमा परेका छन् । शैक्षिक अवस्था तहसनहस भएको छ । बेलैमा परीक्षा दिन नपाएका एसइइका विद्यार्थीहरू परीक्षा दिन नपाएर तनावमा छन् भने आफ्नै बलबुतामा स्थापना भएका निजी विद्यालय तथा त्यससँग सम्बन्धित सबै व्यक्तिहरूको अवस्था नाजुक हुन थालेको छ । बिरामीहरूले आवश्यक सेवा पाउन सकेका छैनन् । लामो तथा दीर्घ प्रकृतिका रोगीहरूले औषधि तथा आवश्यक परीक्षण गर्न पाइरहेका छैनन् । बजारमा अति आवश्यकीय वस्तुहरूको अभाव छ । कोरोनाले मात्र ज्वरो आउँदैन अरू रोगबाट पनि ज्वरो आउने हुन्छ भन्ने साधारण बुझाइसमेत नभएका वा बुझ्न नचाहेका कतिपय अस्पतालले कोरोनाकै डर वा बहाना बनाएर रोगीको समयमै उपचार नगरेका कारण अनाहकमा रोगी मृत्युको मुखमा पुगे । कोरोना संक्रमित ठाउँबाट आएकै कारणले गर्भवती महिला तथा अन्यलाई उपचारै नगरी फर्काइदिने गरेको पाइन्छ । किसानका तरकारी, फलफूल बारीमै कुहिएका छन् ।

किसानले पालेका सयौं कुखुराहरू बजारमा बेच्न नपाएर जिउँदै गाड्न बाध्य छन् । किसानहरू लाखौंको घाटा व्योहोर्न बाध्य छन् । पर्यटन व्यवसाय चौपट भएका छन् । होटेल, रेष्टुरेन्टहरू पनि बन्द छन् । उद्योग कलकारखाना बन्द छन् । पशुपालन गर्नेहरू पनि प्रत्यक्ष मारमा परेका छन् । लुगा सिउने टेलरहरू पनि प्रत्यक्ष मारमा परेका छन् । यो बन्दाबन्दी अझै लामो गएमा काम नहुनेहरू अपराधमा लाग्ने सम्भावना देखिन्छ । त्यस्तै भविष्यमा एकापसमा लुटपाट तथा खोसाखोस गर्ने परिस्थिति नआउला भन्न सकिन्न । हाल बजारमा भएका वस्तुहरू समाप्त भए के गर्ने भन्ने समस्या आउन सक्छ । उत्पादन नहुने हुँदा उपभोगीय वस्तुको अभाव हुने देखिन्छ । त्यस्तै विदेशमा बसेका नेपालीहरू फर्के के गर्ने भन्ने कुराको पनि हेक्का राखिनु पर्दछ ।

कोरोनाबाट बच्दै नेपालको अर्थतन्त्रलाई चलायमान गर्नु आजको आवश्यकता भएको छ । यसो गर्नाले भावी अभाव तथा कमजोर हुन सक्ने अर्थतन्त्रलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि यी उपायहरू अपनाउन सकिन्छ:

स्वास्थ्य सर्तकताका साथ अब वैशाख २६ गतेदेखि आन्तरिक रूपमा बन्दाबन्दीलाई खुकुलो पार्न सकिन्छ । सबैले अनिवार्य रूपले मास्क अनि आवश्यक भए पञ्जासमेत लगाएर अप्रभावित स्थानमा खुकुलो गर्न सकिन्छ । सामाजिक दूरी कायम गर्दै शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना खोली कृषि, निर्माण कार्य गराउन सकिन्छ । बजार व्यवस्थापन गर्न सकिन्छ । विद्यालय खोलेर सुरुको एक हप्ता परीक्षाफल प्रकाशन गर्ने तथा दोश्रो र तेश्रो हप्ता नाम लेखाउने कार्य गराउन सकिन्छ । यसो गर्दा विद्यार्थाहरूको एकै चोटी भीड पनि हुँदैन । एसईई र ११ कक्षाको मिले आन्तरिक मुल्याङ्कनबाट नमिले जेठको तेश्रो साताभित्र सक्ने गरी परीक्षा लिएर असार मसान्तसम्ममा परीक्षाफल निकाल्न सकिन्छ । कोरोना संक्रमित क्षेत्रलाई बन्दाबन्दी गर्दै पूर्णरूपले टेस्ट गर्दै आवश्यक उपचार गरिनु पर्दछ ।

अन्तर्राष्ट्रिय स्तरमा कोरोना नियन्त्रण नभएसम्म, सीमा नाका, हवाइ शिल गर्नु पर्दछ । अति आवश्यकीय वस्तुको आयातका लागि पर्याप्त मात्रामा कडारुपमा चेकजाँच गरिनु पर्दछ । विदेशमा भएका नेपालीहरू नेपालमै फर्कन चाहेका छन् । तिनीहरूलाई नेपालमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अहिलेदेखि नै उचित योजना बनाउनु पर्दछ । विदेशमा कोरोनाकै कारणले नेपाली दाजुभाइले मृत्युवरण गरेका छन् । त्यहाँ रहेका नेपालीहरू नेपालमा आउन चाहे आउन दिनु पर्दछ । संक्रमित भए नेपालकै क्वारेण्टाइनमा अनिवार्य रूपले राखी उपचार गर्नु पर्दछ ।

चैत्र ११ गतेदेखि वैशााख २५ गतेसम्मको बन्दाबन्दीको घोषणाले नेपालमा अत्याधिक मात्रामा संक्रमण फैलन पाएन । यो सरकारको स्वागतयोग्य कदमको रूपमा लिन सकिन्छ तर यो लम्बिँदै जाने हो विकास आयोजनाका साथै अन्य क्षेत्रमा पनि अति नै नकारात्मक असर पर्न थाल्छ । कोरोनाबाट बच्न बन्दाबन्दी एक विकल्प हुन सक्छ तर बन्दाबन्दी नै रोग उन्मूलन गर्ने सम्पूर्ण उपाय हुन सक्दैन किनकि पहिलो बन्दाबन्दीमा कोरोनाबाट संक्रमितको संख्या ५ जनासम्म थियो भने यो अहिले सम्मको बन्दाबन्दीमा ७५ जना पुगिसकेको छ ।

बन्दाबन्दीले जनजीवन निकै कष्टकर भइसकेको छ, अर्थतन्त्र चलायमान हुन पाएन । त्यसैले अब सशर्तसहित अत्यन्त संक्रमित क्षेत्र बाहेक अन्य सबै क्षेत्रमा आन्तरिक रूपमा बन्दाबन्दीलाई खुकुलो बनाऊ, जन जीवनलाई सहज बनाऊ । अन्तमा यसअवधिमा पहिलो पंक्तिमा आफ्नो ज्यानको बाजी थापेर जनताको सेवामा लगातार खटिनु हुने डाक्टर, नर्स, प्रहरी प्रशासन, सञ्चारकर्मी सबैमा हार्दिक नमन गर्न चाहन्छु ।