नेपाली भाषा बृहत् शब्दकोशले धर्मलाई व्यक्ति वा वस्तुमा रहिरहने गुण, ‘स्वर्ग वा ईश्वर प्राप्तिका लागि गरिने पुण्य कार्य’, ‘असल आचरण’ र ‘कुनै महापुरुषको मत, सम्प्रदाय’ भनेको छ । धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्म एउटा जीवनपद्धति हो । तर, धर्मलाई अफिम ठान्ने कम्युनिष्टहरू यतिखेर मन्दिरमा पूजा गरेको र उद्घाटन गरेको देख्दा लज्जास्पद भइरहेको छ । यो देश एउटा यस्तो डबली बनेको छ, जहाँ कति बेला कुन कलाकारले कस्तो नौंटङ्की प्रस्तुत गर्छ, त्यसको भेउ पाउन हामी जनदर्शकलाई हम्मे परिरहेको छ ।

यस्तो कलाकारिताको होडबाजीमा केही समय यता बामपन्थी नेताहरू खरा देखिएका छन् । धर्म निरपेक्ष गणतान्त्रिक मुलुकको कम्युनिष्ट राष्ट्रपतिले कहिले पशुपतिनाथको मन्दिरमा पूजा गर्न जानु त कहिले सङ्खुवासभाको प्रसिद्ध मन्दिरजस्ता धार्मिक अनुष्ठानमा सहभागी हुनुलाई नेपालीहरूको आस्थाको रङ्गमञ्चमा मञ्चन गरिएको नाटकबाहेक केही भन्न सकिँदैन । बामपन्थी राजनीति गरेर राष्ट्र प्रमुख, सरकार प्रमुख तथा शीर्ष नेताको रूपमा रहेका यी व्यक्तित्वहरूले प्रदर्शन गरिरहेको यस्तो आस्था स्वस्फुर्त नभएर जनआस्था माथिको उपहास मात्र हो ।

धर्मलाई अफिम भन्ने आफ्ना नेता कार्लमाक्र्सको अभिव्यक्तिको व्याख्या गर्दै वामपन्थी कार्यकर्ताहरूले गरेको गाउँगाउँमा स्थापित धार्मिक सांस्कृतिक आस्थामाथि अतिक्रमण गर्दै आएका पनि छन् । वामपन्थी दलको सदस्यता लिएका गाउँले बुज्रुकहरूले पञ्चायन देवता मिल्काएर पूजा स्थानलाई डाइनिङ टेबल बनाएको, आफ्नो आस्था ल्याउन नसक्नेहरूले अनेकौं आलोचना र मानसिक यातना पाएको, सम्झँदा अझै पनि आङ जिरिङ्ङ हुन्छ । जनयुद्धका बेला उनले प्रचण्ड नेतृत्वको समूहले मठ मन्दिर धार्मिक अनुष्ठानदेखि काजकिरिया स्थलसम्ममा गरेको ज्यादती विचरा गाउँलेहरू शङ्खघण्टी नबजाई लुकेर पूजा गर्थे ।

धर्मको अफिमी नशा नशामा लिएका आम नेपालीलाई ब्युँझाएर जनवादी गोरेटोमा हिँडाउन खोज्ने माओवादी नेता आज यसरी मन मन्दिरमा धाउँदै हिँडेको देख्दा माक्र्सको भनाइ सही लाग्दैछ । किनभने, प्रचण्ड, ओली, भण्डारी जस्ता बामनेताहरू स्वयम् धर्मअफिमको नसामा लडिरहेछन् । त्यसैले उनीहरूलाई आफ्नो गन्तव्य बोध छैन । राजनीतिलाई व्यक्तिगत सम्पन्नता र शक्ति प्राप्तिको माध्यमका रूपमा प्रयोग गर्दै सम्भ्रान्त वर्गमा स्थापित हुने अनि जनतालाई दास र आफूलाई मालिक ठान्ने प्रवृत्ति अहिले बामवृत्तमा देखिएको छ । कम्युनिष्टको धर्म भनेको धार्मिक रङ्गको लेपन गरेर सरल मानिसहरूको दिमाग भुट्ने र सके जति लुट्ने उपक्रम हो भन्ने छर्लङ्ग छ । यो एक प्रकारको व्यापार पनि हो । खुला विचार उन्मुक्त विवेकलाई धार्मिक जडताले जितेको समाज कहीँ पनि उन्नत र प्रजातान्त्रिक बन्न सकेको छैन ।

धर्म निरपेक्ष देशका राष्ट्रपति, प्रधानमन्त्री, कम्युनिष्ट पार्टीका अध्यक्ष धार्मिक कार्यमा मुख्य अतिथि बन्ने गरेका विरोधाभाषपूर्ण घटना थुप्रै छन् । कम्युनिष्ट नेताहरू महायज्ञको उद्घाटन गर्ने गरेको घटना पनि समाचारमा आएकै छन् । कम्युनिष्ट पार्टीबाट निर्वाचित स्थानीय सरकारका प्रमुखहरूले साना ठूला सबै खाले यज्ञको मुख्य अतिथि बनी लाज सरम पचाएर आसन जमाएको सबै देखिनु पनि नयाँ कुरा रहेन ।

कुनै समुदाय वा पन्थ, व्यक्ति वा समूहमा सीमित रहेर मानुञ्जेल धार्मिक कृत्यमाथि सार्वजनिक आलोचना गरिहाल्नु जरुरी नहुँदो हो । यद्यपि पङ्क्तिकारको मान्यता छ–धर्म निजी विश्वास मात्रै होइन । यसको व्यापक सामाजिक आयाम रहँदै आएको छ र धर्मको आवरणमा मानिस हजारौं वर्षदेखि टाठाबाठाबाट ठगिँदै आएका छन् । पुराणका ललित कथाहरू सुनाएर तर्कविहीन मूढ भक्तिवाद, रहस्य र भाग्य भरोसाको चिन्तन विस्तार गर्ने भएकैले महायज्ञ जस्ता आयोजनाको आलोचना गर्नु परेको हो । त्यसमाथि विश्वासको सङ्कथन जोडेर राज्य नै गेरु वस्त्रमा प्रकट हुनु सानो तिनो लज्जाको विषय होइन ।

बुर्जुवाहरूले नाफामुखी कार्यलाई मात्र महŒव दिन्छन् र राज्यलाई आफ्नो स्वार्थसिद्धिकै लागि प्रयोग गर्छन् भन्ने माक्र्सवादी सिद्धान्तको मर्यादा उल्लङ्घन नगर्ने हो भने दुई तिहाई बहुमतको बामपन्थी सरकारले राज्यलाई कल्याणकारी राज्यमा रूपान्तरण गर्ने प्रयास गर्नुपर्ने । तर, खै त ? राज्यका स्रोत साधनको सामूहिक उपयोगका कार्यक्रम ? सामुदायिक लगानी अनि कृषिमा आधुनिकीकरण ? विकसित राष्ट्रमा गरिएको आधुनिक खेतीका नमूना फेसबुकमै हेरेर मक्ख परिरहेका छौं हामी । एकातिर वर्षौदेखि सिस्नो उम्रेका बारी अनि ताला ठोकिएका झुप्राहरू जस्ताको तस्तै छन् । अर्कोतिर दैनिक असङ्ख्य युवा विदेशिएका छन् । खै त उनीहरूलाई स्वदेशमै राख्न सक्ने कार्यक्रम ? समाचार पत्रका दिनहुँजसो खाडी र मलेसियामा कारुणिक अवस्थामा श्रम बेचिरहेका नेपालीका कथा व्यथा छापिएका हुन्छन् ।

कल्याणकारी राज्यको परिकल्पना बोकेको सरकार मुकदर्शक मात्र होइन, रेमिटेन्समा मक्ख परिरहेको छ । मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा केन्द्रमा देखिएको विशिष्टहरूको सुविधाको होडबाजी प्रादेशिक सरकारले पनि अनुशरण नगर्लान् भन्न सकिँदैन । जनताको पसिनाको कमाइ केवल विशिष्टहरूकै सुविधा र सुरक्षाको लागि मात्र खर्चिनु सङ्घीय गणतान्त्रिक मुलुकको विशेषता हो ? यही प्रश्नको ओझेलमा परिरहेछ, समृद्धि र अग्रगमन । पूर्ण बहुमतको बामपन्थी सरकारले ल्याएका जनमुखी विकासका कार्यक्रम औंलामा गन्न सकिने पनि नहोलान् । उपलब्धि शुन्य छ । वैचारिक र सांस्कृतिक स्खलनका सीमा अतिक्रमण गर्दै आउँदा अब सरम पचिसकेको अवस्था हो । यस्तो अवस्थालाई पुष्टि गर्न कमरेडहरूको जिब्रोमा विकास निर्माण, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणको शाब्दिक अस्त्र झुण्डिएको छ ।

आज व्यावहारिक राजनीतिका नाममा आदर्शवादी धार्मिकताको लज्जाजनक व्यवहार गरिरहेका सत्ताधारी कम्युनिष्टहरूले यदि आफ्नो कमयुनिष्ट ‘ट्रेडमार्क’ वाला राजनीतिको सम्बन्ध जनभौतिकवादी दार्शनिकतासँग नरहेको, त्यो आवश्यक पनि नभएको आधिकारिक घोषणा गर्थे भने उनीहरू कम्तिमा नैतिकवान् ठहर्थे । यसो गर्दा आम नागरिकले कम्युनिष्ट पनि धार्मिक वा धर्मसापेक्ष हुन्छन् र भनी टाउको दुखाउन पर्दैनथ्यो । आफूलाई भौतिकवादी ठान्ने वामपन्थी नेताहरूले नेपाली जनतासँग विगतमा गरेका वाचा पूरा गर्न चाहेकै हो भने सर्वप्रथम व्यक्तिगत रूपमा उनीहरूले प्रस्तुत गरिरहेको द्वैधचरित्रको अन्त्य गरिनु पर्छ ।

म जनताको मालिक हुन होइन, सेवक हुन सत्तामा आएको हुँ भन्ने आदर्श मनन गरेर जनहितका कार्यक्रमहरू ल्याइनुपर्छ । पूर्ण बहुमतको यो सरकार जनताको भाग्य बदल्न जस्तो सुकै निर्णय गर्न सक्षम छ ।शरीर राजनीतिप्रति विरोध गरेर नथाक्ने नारीवादी बामनेतृहरू दिन दिनै महिला(बालिकाप्रति यौनहिंसा हुँदा त्यसको विरोध गर्ने दायित्व केवल अधिकारकर्मीको हो भनेझैं गरी मौन बस्ने र बामपन्थी नेताहरू विलासितामा रमाउँदै जनआस्था भजाउन मठमन्दिर धाउने हो भने सचेत नेपालीले वामपन्थी राजनीतिको यस्तो ताण्डवनृत्य सदाका लागि समाप्त नगरिदेलान् भन्न सकिँदैन ।